काठमाडौं । राजनीति अन्यौंल बढेसँगै संस्थागत लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो घटाउन थालेका छन् । सामूहिक लगानी कोष कम्पनी तथा अन्य ठूला लगानीकर्ताले राजनीतिक अन्यौंलताका कारण सेयर घटेका कारण पनि बजारमा बिक्रीको चाप वढेको हो ।
‘पक्का पनि हामीले सेयरहरु बिक्री गरिरहेका छौं, तर यो दीर्घकालिन होइन, हामी बजारमा फेरि छिरिहाल्छौं,’ सामूहिक लगानी कोष कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बिजमाण्डूसँग भने ।
कम्पनीहरुको असोज र मंसिर मसान्तको विवरण तुलना गर्दा सेयर बिक्री गरेको पाइएको हो । कम्पनीहरुले तत्काललाई विक्री गरिए पनि सेयर फेरि किन्न बताएका छन् ।
कम्पनीहरुको लगानी विवरणलाई तुलना गर्दा उनीहरुले उठाएको सेयर संख्या र आम्दानी दुबै घटेको छ । यि कम्पनीहरुले सर्वसाधारणलाई आकर्षक लागेका सेयरहरु पनि बिक्री गरेका छन् ।
नबिल इन्भेष्टमेन्टले बुटवल पावर कम्पनी, सेञ्चुरी कमर्सियल बैंक, छिमेक लघुवित्त विकास बैंक, चिलिमे हाइड्रो पावर कम्पनी, एभरेष्ट बैंक, लक्ष्मी लघुवित्त विकास बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एसबिआइ बैंक, नेपाल लाइफ, टेलिकम, नेरुडे लघुवित्त विकास बैंकलगायतका कम्पनीहरुको सेयर घटाइरहेको छ ।
कम्पनीले सेयर लगानी घटाएको र कतिपय कम्पनीको मूल्य घटेका कारण कुल लगानी पनि घटेको छ । कम्पनीको लगानी ९१ करोडबाट घटेर ६९ करोडमा आएको छ । सिद्धार्थले लगानी गरेको कम्पनीको संख्या पनि घटाएको छ ।
‘ठूला लगानीकर्ताहरुले राजनीतिक कारणबाट हुन सक्ने क्षति कम गर्नका लागि एउटा उचाइमा छँदै सेयर बिक्री गरेका कारण बिचमा बजार घटेको हो,’ सेयर बिश्लेषक वलराम रिमालले बिजमाण्डूसँग भने, ‘उनीहरु बजारबाट सँधैका लागि वाहिरिन सक्दैनन् । उनीहरुले फेरि लगानी गर्ने छन् ।’
सेयर ब्रोकरहरुका अनुसार, पछिल्लो समय फेरि सामूहिक लगानी कोष कम्पनीहरुले विस्तारै सेयर लगानी गर्न थालेका छन् । ‘माघ ८ गते संविधान जारी नभएमा बजार घट्छ भन्ने अनुमानका आधारमा उनीहरुले सेयर बिक्री गरेका थिए,’ एक सेयर ब्रोकरले भने, ‘संविधान बनेन तर राजनीतिक सहमति मात्र बन्यो भने पनि बजार बढ्ने विश्लेषण उनीहरुको छ ।’
दक्षिणकाली सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेश सापकोटाले राजनीतिक सहमति बन्दा बजार बढेको र विग्रँदा घट्ने गरेको बताए । ‘अहिले हाम्रो बजार पुरै राजनीतिमा डिपेन्ड हुन थालेको छ,’ उनले भने, ‘सहमति बनेमा बजार बढ्ने धेरैको अनुमान देखिन्छ ।’











