गहना बजार एप्स सार्बजनिक, गहनाका तस्बिरसहित सम्पूर्ण जानकारी घरमै बसिबसि लिन र छान्न पाइने

बिजमाण्डू
२०७१ पुष १४ गते ००:०० | Dec 29, 2014
काठमाडौं । ग्राहकलाई गहना छान्न पसलमै पुग्नुपर्ने बाध्यतालाई सहज बनाउन आइटी कम्पनी विधि प्रालिले नेपालमा पहिलो पटक गहनाबारे जानकारी दिने ‘गहना बजार’ एप्स सार्वजनिक गरेको छ । सो एप्समा गहनाका तस्बिरसहित सम्पूर्ण जानकारी पाउन सकिन्छ ।

Tata
GBIME
Nepal Life

घरमै बसिसि काठमाडौंका नाम चलेका गहना पसलका सुन तथा हिराका गहना छान्न पाउने सुविधा यस एपले मोबाइलमै उपलब्ध गराउने छ ।

एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध ‘गहना बजार’ मा उपभोक्ताले गहनाका विभिन्न डिजाइनका तस्बिर हेर्दै छान्न सक्नेछन्  । यो एप्स आइओएस प्लेटफर्ममा यसै साता उपलब्ध हुने छ ।

गहना बजार एप प्ले स्टोरमा उपलब्ध भएको एक सातामै नौ हजारपटक डाउनलोड भइसकेको प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटाले बताएका छन् । यस एपमा आफ्नो क्षमता अनुसारका मूल्यका औंठी, नेकलेस, इयररिङ, पेन्डेन्ट, जन्तर, तिलहरी, टप, बेंगल, मंगलसूत्र, सिक्रीलगायतका गहना खोज्न सकिने छ ।

खोजेपछि त्यसलाई आफ्नो लोकप्रिय बनाएर सुरक्षित गरेर राख्न सकिन्छ । फूर्सदमा बजार गएर त्यही डिजाइनको गहना किन्न सकिने व्यवस्था गहना बजार एपले गरेको छ ।

सामान्य ग्राहकलाई पसलेले कति तौलको गहना दिएको छ भन्ने जानकारी हुँदैन । पसलेले जति तौल भन्यो, त्यतिमै विश्वास गर्नुपर्ने अवस्था छ । गहना बजार एपले ग्राहकले किन्ने गहनाको वास्तविक तौल, जर्ती र बनाउने ज्याला छुट्याएर हिसाव गर्ने तरिकासमेत सिकाउँछ । त्यसले गर्दा उपभोक्ता ठगिनबाट जोगिन्छन् ।

एप्समा दैनिक सुनको मूल्य आफैँ अपडेट हुन्छ । ग्राहकले सुनको मूल्य बुझ्न पसलेको भर पर्नु पर्दैन । त्यस्तै पसलको विश्वसनियताबारे एप्सबाटै बुझ्न सकिन्छ । एप्सबाटै दुई पसलका गहनाबीच तुलना गरेर गहना छान्न सकिन्छ । यस्तो सुविधा मोबाइलमा मात्र हैन, गहना बजारको वेबसाइटमा समेत उपलब्ध गरिएको सिइओ सापकोटाले जानकारी दिएका छन् ।

‘ब्यस्त ब्यक्तिहरुलाई घरमै बसेर गहना छान्न सजिलो होस् भनेर यस्तो एप्प विकास गरेका हौं,’ सापकोटा भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना छ । यस एपले किनमेलको शैली परिवर्तन गर्ने छ । ग्राहक पसलमा गएर गहनाका डिजाइन छानेर बस्न सक्दैन । त्यस्तो बेला उसले मोबाइलमै सबै प्रकारका डिजाइन हेरेर पाइने पसलमा किन्न सक्छ ।

पसलमा गहना छान्न जानेहरुले गहना बजार एप्स आफ्नो मोबावाइलमा डाउनलोड गरेको देखाए गहना बनाउने ज्यालामा १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउने ब्यवस्था मिलाइएको प्रालिले बताएका छन् ।

यो एप्समा शालिमार ज्वेलर्स, बराह ज्वेलर्स, गहना स्टोर्स र एलएम सुनचाँदी पसलका गहनाका डिजाइन समावेश गरिएको छ । ‘अन्य ज्वेलर्सहरु समावेश हुने क्रममा छन्,’  सापकोटाले भने ।