माथिल्लो तामाकोशीले पायो सेयर जारी गर्न स्वीकृति, तीन करोड ६० लाख कित्ता निस्कासन

बिजमाण्डू
२०७१ पुष २० गते ००:०० | Jan 4, 2015
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण सेयर जारि गर्न स्वीकृति पाएको छ ।
 
नेपाल धितोपत्र वोर्डले तामाकोशीलाई एक सय रुपैयाँ अंकित दरका तीन करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो । यो सेयर बढीमा दुई महिनाभित्र  निस्कासन गरिसक्नु पर्छ ।


 
‘हामीले स्थानीय, बचतकर्ता र ऋण लगानी गरेका संस्थाका कर्मचारीलाई सेयर जारी गर्न स्वीकृति दिएका छौं,’ वोर्डका प्रवक्ता तथा निर्देशक निरज गिरिले आइतबार बिजमाण्डूसँग भने, ‘अब संस्थाले सबै प्रबन्ध मिलाएर केही सातामै सेयर निश्कासन गर्न सक्छ ।’
 
वोर्डले तामाकोशी निर्माणस्थल दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको छ । ऋण सम्झौता हुँदा (चार बर्षअघि) कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर पाउने छन् । 
 
आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । 
 
कम्पनीले निश्कासन गर्ने कुल सेयरमध्ये ३४ प्रतिशत सेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीले दोलखावासीका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको हो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत र ऋण दिने संस्थाका कर्मचारीलाई २.६६ प्रतिशत र तामाकोशी तथा विद्युत प्राधिकरणका कर्मचारीका लागि ३.८४ प्रतिशत सेयर जारी गर्न लागेको हो ।
 
प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई जारी गरिने सेयर दोस्रो बजारमा तीन बर्षपछि मात्र कारोबार गर्न पाइने छ । सर्वसाधारणका लागि भने १५ प्रतिशत सेयर छुट्याइएको छ ।   
 
२०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट हो । यो आयोजनाले सेयर जारी गर्नकै लागि चौथो बार्षिक साधारणसभाबाट सेयर पुँजी बृद्धि गरेको थियो । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोशीको नयाँ पुँजी संरचना अनुसार चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । 
 
तामाकोशीको संस्थापकका रुपमा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषसँग २/२ प्रतिशत सेयर छ । 
 
आयोजनामा चार संस्थाले २२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । यसमध्ये सञ्चय कोष एक्लैले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । नागरिक लगानी कोषले दुई अर्ब, बिमा संस्थानले दुई अर्ब र नेपाल टेलिकमले ६ अर्ब ऋण लगानी गरेका छन् ।
 
दोलखाका एक जनालाई ५७ कित्ताभन्दा कम
तामाकोशी आयोजनाको निर्माण स्थल दोलखामा पर्छ, यसै कारण कम्पनीले दोलखाका स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर दिएको हो । 
 
२०६८ सालको जनगणना अनुसार दोलखामा एक लाख ८८ हजार जनसंख्या छ, यो आधारमा औषत निकाल्दा एक जना दोलखाीको हातमा ५७ कित्ता सेयर पर्ने छ । आयोजनाले दोलखामा अहिले जनसंख्याको नयाँ लगत निकाल्न सुरु गरिसकेको छ । यो अवधिमा जनसंख्या बृद्धि भएको हुनाले स्थानीयले पाउने सेयर संख्या केही कम हुन सक्छ ।
 
सञ्चय कोषका प्रत्येक कर्मचारीलाई ३४९० कित्ता
तामाकोशीका ऋणदाता संस्थाका कर्मचारीले २.८८ प्रतिशत सेयर पाउने छन् । आयोजनामा दिएको कर्जा अनुपातका आधारमा छुट्याइएको सेयर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, टेलिकम र बिमा संस्थानका कर्मचारीमा बिभाजन गरिने छ । 
 
तामाकोशीले चार संस्थाबाट २२ अर्ब ऋण लिएको छ । त्यसमध्ये सञ्चय कोषले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । यो आधारमा ऋण लगानी गर्ने चार संस्थाका लागि छुट्याएको ३० लाख ४९ हजार ९२० कित्ताको ५५ प्रतिशत अर्थात (१६ लाख ७७ हजार ४५६ कित्ता) सञ्चय कोषका कर्मचारीले पाउने छन् ।
 
तामाकोशीसँग सञ्चय कोषले २०६७ साउन १४ गते ऋण सम्झौता गरेको थियो । त्यसबेला सञ्चय कोषमा ४८२ जना कर्मचारी थिए । यो आधारमा औषत निकाल्दा त्यहाँका कर्मचारी प्रत्येकको भागमा तीन हजार ४८० कित्ता सेयर भाग लाग्छ । 
 
लगानी कोषका प्रत्येकले २५४२ कित्ता पाउने
नागरिक लगानी कोषले तामाकोशीमा दुई अर्ब ऋण लगानी गरेको छ । यो आधारमा कोषका कर्मचारीले दुई लाख ७४ हजार ४९२ कित्ता सेयर पाउँछन् । 

Tata
GBIME
Nepal Life

लगानी कोषसँग तामाकोशीले २०६७ मंसिर २१ गते ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा कोषमा १०८ जना कर्मचारी थिए । यो आधारमा कोषका प्रत्येक कर्मचारीले दुई हजार ५४२ कित्ता सेयर पाउने छन् ।

 

बिमा संस्थानकाले ११०६ कित्ता
बिमा संस्थानले पनि तामाकोशीलाई दुई अर्ब नै ऋण दिएकाले त्यहाँका कर्मचारीले पनि दुई लाख ७४ हजार ४९२ कित्ता सेयर पाउने छन् । 
 
संस्थानले २०६७ मंसिर २१ गते ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा संस्थानमा २४८ कर्मचारी थिए । संस्थानका प्रत्येक कर्मचारीका हातमा अब एक हजार १०६ कित्ता सेयर पर्ने छ ।
 
निर्माण गर्नेको हातमा ४४२ कित्ता मात्रै
तामाकोशी विद्युत् प्राधिकरणले बनाउन लागेको आयोजना हो । तामाकोशी र प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत अर्थात ४० लाख ६६ हजार ५६० कित्ता सेयर छुट्याइएको छ । 
 
प्राधिकरणमा अहिले नौं हजार १४६ जना कर्मचारी छन् । तामाकोशीमा प्राधिकरणबाट काजमा गएका ६७ जना र स्थानीय ४७ जना कर्मचारी छन् । यसको अर्थ ४० लाख ६६ हजार ५६० कित्ता सेयर नौं हजार दुई सय कर्मचारीलाई भाग लगाउनु पर्छ । सोझो हिसावबमा प्राधिकरण र आयोजनाका कर्मचारीले प्रत्येकले जम्मा ४४२ कित्ताका दरले सेयर पाउने छन् ।
 
टेलिकमका प्रत्येकले १४७ कित्ता पाउने
टेलिकमले आयोजनामा ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ, यो आधारमा टेलिकमका कर्मचारीले कुल ८ लाख २३ हजार ४७८ कित्ता सेयर पाउने छन् । 
 
ऋण सम्झौता हुँदा टेलिकममा पाँ हजार ६११ कर्मचारी थिए, उनीहरुलाई यो सेयर वाँड्दा औषतमा १४७ कित्ता हात लाग्ने छ ।
 
सञ्चयकर्तालाई जम्मा ४२ कित्ता
आयोजनाको सबैभन्दा थोरै सेयर सञ्चय कोषका सञ्चयकर्ताले पाउने छन् । कोषमा अहिले ८९ हजार निजामति, ९५ हजार नेपाली सेना, ८१ हजार शसस्त्र र नेपाल प्रहरी, ९७ हजार संस्थान तथा सांगठनिक क्षेत्रका कर्मचारी र ८८ हजार सामुदायिक तथा संस्थागत शिक्षक सञ्चयकर्ता छन् । 
 
कोषका सञ्चयकर्ताका लागि तामाकोशीले एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता सेयर छुट्याएको छ । यो सेयर विद्युत् प्राधिकरणका कर्मचारीले भने पाउने छैनन् । बाँकी सञ्चकर्तालाई बाँड्दा प्रत्येकको भागमा ४२ कित्ता सेयर पर्नेछ ।