नयाँ वर्षमा नयाँ कार! यी हुन यसवर्ष नेपालको सडकमा कुद्ने नयाँ कार

बिजमाण्डू
२०७१ पुष २७ गते ००:०० | Jan 11, 2015
नयाँ वर्षमा नयाँ कार! यी हुन यसवर्ष नेपालको सडकमा कुद्ने नयाँ कार

सविन मिश्र/बिजमाण्डू
काठमाडौं। अंग्रेजी नयाँ वर्ष सन् २०१५ लाई लक्षित गरी नेपाली गाडी विक्रेताले विभिन्न ब्रान्डका नयाँ गाडी नेपाल भित्र्याउने तयारी गरेका छन्। विभिन्न कम्पनीका नेपालस्थित आधिकारिक विक्रेताले नयाँ वर्षमा नयाँ गाडी ल्याउने तयारी गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपालमा साना र विलासी गाडीमा ठुलो बजार हिस्सा राख्ने कम्पनीहरु हुण्डाई, टाटा, होण्डा, फोर्ड, मारुतीलगायतका गाडीका नेपालस्थित आधिकारिक विक्रेताले नयाँ गाडी ल्याउने तयारी गरेका हुन्। अब आउने नयाँ गाडीमा सुविधाहरु थपिने छन् भने पुरानै मोडलमा पनि केही फिचर थपेर परिस्कृत रुपमा ल्याइँदै छन् ।

नेपाल अटोमोवाइल डिलर्स एसोसियसनका महासचिव गोपी न्यौपाने उपभोक्ताको चाहनासँगै बजारमा नयाँ र विलासी गाडी भित्रिने क्रम बढेको बताउँछन्। सार्वजनिक सवारी साधनको व्यवस्थापन नहुँदा पनि निजी गाडी चढ्नेको संख्या बढेको र गाडी पनि नयाँ नयाँ आइरहेको उनी बताउँछन्।
‘अहिले उपभोक्ताको चाहना अनुसारका नयाँ नयाँ गाडी बजारमा भित्रिएका छन्,’ न्यौपाने भन्छन्, ‘गाडीको व्यापार पनि बढेको छ, सार्वजनिक सवारीको व्यवस्थापन राम्रो नहुँदा निजी गाडी चढ्नेहरु पनि बढ्दै गए।‘

नयाँ वर्ष लागेसँगै ठुला कम्पनीहरुले नयाँ नयाँ मोडलका गाडी सार्वजनिक गरिसकेका छन्। ती मध्येका केही गाडीहरु नेपाल भित्रिसकेका छन् भने कति भित्रिने तयारीमा छन्।

सिप्रदी ट्रेडिङले टाटाका चारवटा नयाँ माेडल ल्याउने
नयाँ वर्षको अवसरमा टाटाका चार नयाँ मोडलका गाडी नेपाल भित्रिँदैछन्। ठुला गाडीमा नेपाली बजारको ठूलो हिस्सा कब्जा गरेको टाटाले बिलासी मानिने सेडान, ह्याचब्याक र एसयुभी मोडलका गाडी नेपाल भित्र्याउन लागेको हो।

टाटाका उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आउँदो फेब्रुअरी महिनाको सुरुमा नै कम्प्याक्ट सेडान कार ‘टाटा जेष्ट’ भित्र्याउन लागेको जनाएको छ। यो कारको मूल्य २७ लाख रुपैयाँको हाराहारीमा हुनेछ।

यस्तै टाटाकै अर्को उत्पादन ह्याचब्याक बोल्ट कार मे महिनामा ल्याउने तयारी भएको छ। विभिन्न मोडल र रङमा आउने यो कारको सुरुवाती मूल्य २४ लाख रुपैयाँ हुनेछ।

यस्तै सिप्रदीले एसयुभी गाडी स्ट्रोम एलइटी गाडी पनि यही वर्षभित्र ल्याउने तयारी गरिरहेको छ। अहिले नेपाली बजारमा उपलब्ध स्ट्रोम गाडीमा नै केही फिचर थपिएर यो गाडी नेपाल भित्रिनेछ। यो गाडीको मूल्य ४० लाख ६५ हजार रुपैयाँ पर्ने कम्पनीको भनाइ छ।

यस्तै टाटाले यो वर्षभित्रमा नै बजारमा गुडिरहेका एम्बुलेन्सका नयाँ भर्सन ल्याउने तयारी पनि गरिरहेको छ। टाटाका साना उत्पादनमध्ये अहिले नेपाली बजारमा १८ लाख रुपैयाँदेखि ५५ लाख ४० हजार रुपैयाँसम्मका गाडी गुडिरहेका छन्।

हुण्डाइको बहुप्रतिक्षित आइएक्स २५ भित्र्याउने
हुण्डाइले बजारमा ल्याउन लागेको आइएक्स २५ कम्प्याक्ट एसयुभी गाडी नेपालमा मात्रै नभइ भारतमा पनि प्रतिक्षा गरिएको गाडी हो। यो गाडीको भारतमा छिट्टै नै विक्री सुरु हुनेछ। नेपालमा भने सन् २०१५को मध्यसम्ममा यो गाडी भित्र्याउने तयारी हुण्डाइ गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल छ।

लक्ष्मी हुण्डाइका सहायक महाप्रबन्धक रुपेश भट्टका अनुसार यो गाडीको मूल्य अझै पनि तय भइसकेको छैन। ‘हामीले यो वर्षको मध्यसम्ममा नयाँ गाडी ल्याउँछौं,’ भट्टले भने, ‘नयाँ मोडलको गाडी आउने भएकाले अहिलेसम्म यसको मूल्य भने तय भएको छैन।' यो गाडी हुन्डाइको टुसान भन्दा परिस्कृत हुनेछ।

नेपाली बजारमा विभिन्न ११ मोडलका गाडी भित्र्याएको यो समूहले हुण्डाइका १६ लाख रुपैयाँदेखि एक करोड १८ लाख रुपैयाँसम्मका गाडी बेच्दै आएको छ। सेडान, ह्याचब्याक तथा एसयुभी गाडीमा राज गरिरहेको हुण्डाइको इन्ट्री लेभलको ह्याचब्याक इयोन १६ लाखमा र फ्यान्टा फे गाडी एक करोड १८ लाखमा बेच्दै आएको छ।

होण्डाको ९५ लाख पर्ने कार आउने
यस्तै नयाँ वर्षमा होण्डाले पनि आफ्नो नयाँ गाडी सिआरभी २०१५ मोडलको कार नेपाल भित्र्याउँदै छ। नेपालका लागि होण्डाको अधिकृत बिक्रेता स्याकार कम्पनीले यो कार आउँदो मार्चमा नेपाल ल्याउने छ। थाइल्याण्डमा बनेको यो कारमा टच स्क्रिन, ब्लुतुथलगायतका सुविधा हुने ज्योति ग्रुपका प्रबन्ध निर्देशक सौरभ ज्योतिले बताए । यो कारको मूल्य करिब ९५ लाख रुपैयाँ पर्नेछ।

यस्तै होण्डाकै सेडान सिभिक कार पनि आउँदैछ। यो कार सिभिक २०१४ मोडलको हो। यो कार सुपर ह्याच ज्याज फ्यामिली मोडलको भएको कम्पनीको भनाइ छ। यसको मूल्य भने अहिलेसम्म तय भइसकेको छैन।
 
परिष्कृत भर्सनमा मारुतीका गाडी
साना गाडीमा राम्रो बजार हिस्सा ओगट्ने अर्को भारतीय कम्पनी हो मारुती सुजुकी। मारुतीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटरकर्पले नयाँ वर्षको सुरुवातसँगै मारुती सियाज कार लन्च गरिसकेको छ। कम्पनीले शनिबार नयाँ कार लन्च गरेको हो।

यस्तै मारुतीको स्वीफ्ट कारको अपग्रेडेड भर्सन पनि नेपाली बजारमा आउँदै छ। यो कार फेब्रुअरीको पहिलो साता नेपाल आउने कम्पनीले जनाएको छ। यस्तै मारुतीले अपग्रेडेड अल्टो कार पनि नेपाल ल्याउने तयारी गरिरहेको छ। यो कार फेब्रअरीको अन्त्यमा नेपाल भित्रिने कम्पनीले जनाएको छ। मारुतीका सेडान डिजाएर, ह्याचब्याक स्वीफ्ट तथा केटेन लगायतका कार नेपाली बजारमा छन्।

फियाट र स्कोडाको पनि नयाँ आउँदै
तुलनात्मक रुपमा महँगो गाडी मानिने फियाट र स्कोडाले पनि नयाँ वर्षमा नयाँ नयाँ गाडी ल्याउँदैछन्। नयाँ वर्षमा फियाटले एभेन्सिडा गाडी ल्याउने तयारी गरेको छ। यो गाडी आउँदो चैतमा नेपाल आउनेछ। यसको मूल्य ३० देखि ४० लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ। नेपालमा स्कोडा गाडी एमए डब्लु र फियाट कार लाइफ अटो मोवाइलले बेच्दै आएका छन्।

यस्तै फियाटकै ह्याचब्याक गाडी पुन्टो इभो पनि माघमा आउने छ। यो गाडीको मूल्य २९ देखि ३१ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ। यस्तै नयाँ वर्षमा नै न्यू लिमिया कार पनि भित्रिँदै छ। यो कार माघको अन्तिममा वा फागुनको पहिलो हप्ता काठमाडौं आउने छ। यसको मूल्य २८ लाख ९५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

यस्तै स्कोडाको पनि विभिन्न तीन मोडलका गाडी नेपाल आउँदैछन्। स्कोडाले ६० देखि ७० लाख मूल्य पर्ने अक्टा भिया प्रिमियम सेडान कार नेपाल ल्याउने तयारी गरेको छ। यस्तै स्कोडाकै र्‍यापिड फेश लिफ्ट सेडान कार पनि नेपाल भित्रिने भएको छ। यो कारको मूल्य ३३ लाख ९५ हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पर्नेछ।

यस्तै स्कोडाको ९० लाख रुपैयाँ पर्ने यती कार पनि नेपाल भित्रिँदैछ। यो कार नेपाल भित्रिने मिति तय नभइसकेको कम्पनीले जनाएको छ। यो कार प्रिमियम एसयुभी कार हो।

नयाँ वर्षकै अवसरमा टोयोटा, फोर्डलगायतका कम्पनीले पनि नयाँ नयाँ गाडी ल्याउने तयारी गरिरहेका छन्। नयाँ गाडी आएसँगै उपभोक्ताले भने आफ्नो रोजाइ अनुसारका गाडी पक्कै पनि चढ्न पाउनेछन्।