बैंकर अशोक खड्काले माछापुच्छ्रे बैंक छाडे, नेको इन्स्योरेन्समा व्यवस्थापन परामर्शदाता

बिजमाण्डू
२०७१ पुष २९ गते ००:०० | Jan 13, 2015
बैंकर अशोक खड्काले माछापुच्छ्रे बैंक छाडे, नेको इन्स्योरेन्समा व्यवस्थापन परामर्शदाता
काठमाडौं। बैंकर अशोक खड्काले माछापुच्छ्रे बैंक छाडेर नेको इन्स्योरेन्समा आवद्ध भएका छन्। १९९४ बाट बैंकिङ करियर सुरु गरेका खड्का माछापुच्छ्रे बैंक छाडेर नेको इन्स्योरेन्सको व्यवस्थापन परामर्शदातामा नियुक्त भएका हुन्।
 
खड्काले सन् १९९४ को जुन महिनामा तत्कालिन इन्डोसेज बैंक (अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक) बाट करियर सुरु गरेका हुन्। उनी त्यसपछि विभिन्न संस्थामा शाखा प्रबन्धक हुँदै प्राइम कमर्सियल बैंकमा सहायक व्यवस्थापक भएका थिए। 

Tata
GBIME
Nepal Life

प्राइम छाडेर तत्कालिन स्टेन्डर्ड फाइनान्स (मर्ज भएर माछापुच्छ्रे बैंकमा विलिन भएको) मा नायव महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।

 
मर्जसँगै उनी माछापुच्छ्रे बैंकको मूख्य व्यवस्थापकमा नियुक्त भएका थिए। स्टेन्डर्ड फाइनान्स र माछापुच्छ्रे बैंक मर्ज गराउन खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए। गैरआवसीय नेपाली उपेन्द्र महतो समूहको मूख्य लगानी रहेको माछापुच्छ्रे बैंकबाट उनी महतो समहूकै लगानी रहेको नेको इन्स्योरेन्स छिरेका हुन्। 
 
नेकोमा समूहको करिव ३८ प्रतिशत सेयर लगानी छ। त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका खड्का जोखिम व्यवस्थापनको क्षेत्रमा अब्बल मानिन्छन्। खड्काले माघ १ गतेबाट नेको इन्स्योरेन्समा काम सुरु गर्ने जानकारी दिए।
 
नेकोले भर्खरै मात्र चुक्ता पुँजी बृद्धिका लागि हकप्रद सेयर दिने निर्णय गरेको छ। हकप्रदपछि २५ करोड पुँजी पुग्ने छ। 'संस्थाको पुँजी थप बलियो बनाएर वित्तीय अवस्था सुदृढ बनाउन भूमिका खेल्ने छु,' खड्काले बिजमाण्डूसँग भने। संस्थाले एक बर्षभित्रै पुँजी ५० करोड पुर्‍याउने लक्ष्य लिएको छ।