आयल निगमका कार्यकारी निर्देशक हटाउन मन्त्रीदेखि व्यवसायीसम्म एक जुट, भोली प्रस्ताव लैजाँदै

बिजमाण्डू
२०७१ माघ १ गते ००:०० | Jan 15, 2015
विज्ञान अधिकारी/सविन मिश्र/बिजमाण्डू
काठमाडौं । पार्टीका लागि रकम उठाउन नसकेको भन्दै वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टलाई हटाउने तयारी गरेका छन् । वाणिज्य मन्त्रालय उच्च स्रोतका अनुसार शुक्रबार दिउसो बस्ने मन्त्रीपरिषद्को बैठकमा मन्त्री थापाले भट्टलाई हटाउने ठाडो प्रस्ताव लैजाँदै छन् ।

Tata
GBIME
Nepal Life

राप्रपा महामन्त्री दीपक बोहोरा र राज्यमन्त्री गिरीबहादुर केसीको दबाबमा भट्टलाई हटाउन लागिएको हो ।

आपुर्तिमन्त्री थापाले बुधवार कार्यकारी निर्देशक भट्टलाई आफ्नो कार्यकक्षमा बोलाएर दलको दबाब थेग्न नसकेको भन्दै राजीनामा दिन आग्रह गरेका थिए ।

 

नतिजा आएपछि मात्रै यस बारेमा कुरा गरौला, म जुन काम गर्छु, देश र मन्त्रालयको हितको लागि मात्रै गर्छु । अहिले यो विषयमा कुरौ नगरौ ।

निगम सुर्धान ल्याएपनि दलको दबाबका कारण हटाउनुपरेको भट्टसँगको भेटमा मन्त्री थापाले बताएका थिए ।

‘तपाईलाई निगम सुधारको लागि मैलेनै ल्याएको हुँ । तर पार्टीमा धेरै दबाब आयो,’ उनले भट्टलाई भनेका थिए, ‘मलाई सहज बनाउन राजीनामा दिनुपर्यो ।’

मन्त्री थापाले राजीनामाको लागि दिएको दबाबलाई भने भट्टले अस्विकार गरेका छन् । स्रोतका अनुसार भट्टले प्रक्रिया अनुसार मन्त्रिपरिषद्बाट हटाउन मन्त्रीलाई चुनौती दिएका छन् ।

मन्त्री थापाले भट्ट हटाउने बारेमा अहिले केही प्रतिक्रिया नदिने बताए । ‘नतिजा आएपछि मात्रै यस बारेमा कुरा गरौला,’ मन्त्री थापाले बिजमान्डूसँग भने, ‘म जुन काम गर्छु, देश र मन्त्रालयको हितको लागि मात्रै गर्छु । अहिले यो विषयमा कुरौ नगरौ ।’

थापा मन्त्री हुनेवित्तिकै खानी तथा भुगर्व विभागका उपसचिव भट्टलाई निगमका कार्यकारी निर्देशकमा ल्याएका थिए ।

 

मैले आयल निगममा को कार्यकारी निर्देशक छ भन्ने पनि थाहा छैन, नामै थाहा छैन भनेपछि मेरो कसरी संलग्नता हुनसक्छ ?

कार्यकारी निर्देशक भट्टले थालेको सुधारमा मन्त्री थापाले पनि साथ दिएका थिए । कार्यकारी निर्देशक भट्टले पछिल्लो समयमा पेट्रोलियम व्यवसायीको वेथिती विरुद्व अभियान थालेका थिए ।

स्वचालित मुल्य, पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार ट्यांकरको ढुवानी भाडा समायोजन, ग्यासको कोटा वृद्वि नगर्ने अडान जस्ता सुधार कार्यक्रम थालेपछि पेट्रोलियम व्यवसायी कार्यकारी निर्देशकसँग रुष्ट भएका थिए ।

नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले तीन महिना अघि कार्यकारी निर्देशक भट्टलाई सोल्टी होटलमा बोलाएर कोटा बढाउन भन्दै अतिरिक्त पैसाको प्रस्ताव गरेका थिए । तर कार्यकारी निर्देशक भट्टले अहिले आइरहेको ग्यासनै प्रर्याप्त हुने भन्दै कोटा बढाउन अस्वीकार गरेका थिए ।

संघको अगुवाईमा कोटा बढाउन भन्दै सबै ग्यास कम्पनीबाट रकम समेत उठाइएको थियो । आफ्ना माग संबोधन हुने नदेखेपछि पेट्रोलियम व्यवसायीको संगठन एकजुट भएर कार्यकारी निर्देशक भट्टलाई हटाउन लागेका थिए ।

तेल चोरीको आरोप लागेका ट्यांकरको निलम्बन फुकुवा गर्ने निर्णयमा असहयोग गरेपछि व्यवसायीसँगै वाणिज्य मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, सहसचिव दीपक सुवेदी र बोर्डका सबै सदस्य भट्ट हटाउने अभियानमा सामेल भएका थिए ।

भैरहवामा तेल तोरी गरेका ८८ ट्यांकरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न दिएको आदेशलाई एक महिना नपुग्दै निगमको सचालक समिति बैठकले उल्ट्याएको थियो । भट्टले तेल चोरीमा संलग्न रहेको ट्यांकरको निलम्बन फुकुवा गर्न नहुने अडान राखेका थिए ।

ट्यांकरको निलम्बन फुकुवा गरिएको बारे अख्तियारले अनुसन्धान थालेपछि सचिव मलेगो र बोर्डको सबै सदस्य भट्टसँग रुष्ट बने । अख्तियारले निर्णयमा साक्षी बनेका सबै सदस्यलाई वयानका लागि बोलाएको थियो ।

बुधवार अख्तियारमा बयान दिएर आएपछि मलेगोले मन्त्री थापालाई भेटेर भट्ट नहटाए बोर्ड बैठकमै नबस्ने चेतावनी दिएका थिए । सचिवको चेतावनी लगत्तै मन्त्रीले भट्टलाई बोलाएर राजीनामा गर्न भनेका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले हटाउन घेरावन्दी गरिरहेको बेला वाणिज्य सचिव मलेगो लगायतका सबै संचालकको दबाब मन्त्री थापाले खेप्न नसकेको स्रोतले बतायो ।

स्रोतका अनुसार व्यवसायीले भट्टलाई असफल बनाउन निरन्तर  जस्तै आपूर्ति असहजको प्रयास गरेका थिए । आपूर्ति असहज बनाएर भट्टलाई हटाउन सकिने सुझाव राज्यमन्त्री केसीलाई व्यवसायीले दिएका थिए ।

‘आफ्नो अनुकुल नहुने देखेपछि पेट्रोलियम व्यवसायीले आपूर्ति असहज बनाएर हटाउने योजना बुनेका थिए,’ निगमका एक कर्मचारीले भने, ‘ग्यास र पेट्रोलियम पदार्थ अभाव हुनुमा त्यही प्रमुख कारण छ ।’ कृत्रिम अभाव गराएपछि सरकारले अनुगमनलाई तीब्र पारेको थियो ।

अनुगमनको क्रममा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले कृत्रिम अभाव गराएको भेटिएपछि कारवाहीका लागि भट्टले जिल्ला प्रशासन कार्यालय काठमाडौमा पत्र पठाएका थिए । कालोबजारी अनुसार कारवाही गर्न पत्र पठाएपछि व्यवसायी झनै क्रुद्ध बनेका थिए ।

भट्टलाई हटाउन नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर वोहोरा र नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष घिमिरेले रापप्राका महामन्त्री दीपक बोहोरालाई भेटेका थिए । महामन्त्री बोहोराले राप्रपा अध्यक्ष पशुपति शम्शेर जबरालाई भेटेर भट्ट हटाउन दबाब दिएका थिए । महामन्त्री बोहोरा भने भट्ट हटाउन खेलमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

‘मैले आयल निगममा को कार्यकारी निर्देशक छ भन्ने पनि थाहा छैन,’ उनले बिजमाण्डूसँग भने, ‘नामै थाहा छैन भनेपछि मेरो कसरी संलग्नता हुनसक्छ ?’

कार्टेलिङ व्यवसायीकै जीत
एकाधिकारबाट नाफा कमाएका पेट्रोलियम व्यवसायीले आयल निगममा आफ्नो अनुकुलको कार्यकारी निर्देशक ल्याउन दबाब दिन्छन् ।

आफनो अनुकुल नभए हटाउनसक्ने ल्याकतसमेत राख्छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको वर्तमान नेतृत्वले पहिला भट्टलाई अनुकुल बनाउने प्रयास गरे । अनुकुल नभएपछि हटाउन राजनीतिक दबाब दिए ।

राजनीतिक दबाबमा भट्टलाई हटाइयो भने कार्टेलिङ गरेर नाफा कमाएका व्यवसायीकै जीत हुनेछ । यसले आयल निगमको सुधार प्रक्रियालाई अवरुद्व पार्नेछ । पैसाको बलमा गैर व्यवसायिक काम गर्न पल्केका व्यवसायीको चंगुलमा अहिले तीनवटै संगठन फसेको छ ।

डिलर्स एसोसिएसनका अध्यक्षमा लीलेन्द्र प्रधान, ग्यास उद्योग संघमा शिव घिमिरे र ढुवानी व्यवसायी महासंघमा खगेश्वर वोहोरा छन् । प्रधानको नयाँ वानेश्वरमा रहेको थ्री बद्र्रश पेट्रोल पम्प धेरैजसो नापतौल ठगीको आरोपमा पर्छ । घिमिरे झन्डै चार वर्षअघि १५ हजार ग्यास सिलिन्डरको फुटरिङ र नेकरिङ गरेको आरोपमा कारवाही भोगेका व्यक्ति हुन् ।