क्रिस्टलले सेन्चुरीलाई समस्या, अन्तर बैंक कारोवारमा लगेको पैसा फिर्ता आएन

बिजमाण्डू
२०६९ असोज ७ गते ००:०० | Sep 23, 2012

काठमाडौं । अन्तर बैंक सापटीका रुपमा लगेको रकम फिर्ता नगरेपछि सेन्चुरी कमर्सियल बैंकले समस्याग्रस्त क्रिस्टल फाइनान्सको सम्पति लिलाम विक्री गर्ने भएको छ । सेन्चरीले क्रिस्टल फाइनान्सको थापाथलीस्थित तीन वटा जग्गा र घर लिलाम गर्ने तयारी गरेको हो । लिलामी बैंकको पुतलीसडक कार्यालयमा आगामी २६ गते हुँदैछ । बैंकले सापटी रकम फिर्ता गर्न ३५ दिने र ७ दिने गरेर ४२ दिनको समय दिएको थियो । पटक पटक लिखित  र मौखिक आग्रह गर्दा पनि पैसा फिर्ता नगरेपछि सेन्चुरीले क्रिस्टलको सम्पत्ति लिलाम गर्न लागेको हो ।
सेन्चुरीले नेपाल सेयर मार्केट्स एन्ड फाइनन्स लिमिटेडलाई दिएको अन्तर बैंक सापटी रकम पनि डुवेको थियो । १ अर्ब ४० करोड पुँजी भएको सेन्चुरी खुलेका बेला लगानी लगभग बन्द थियो । तरलता अभावका कारण वित्तीय संस्थाहरुले अन्तर बैंक सापटीमा १८ प्रतिशतसम्म व्याज तिरेर पैसा लगेका थिए । वाणिज्य बैंकले १४ प्रतिशतसम्म व्याज दिइरहेका बेला उच्च प्रतिफलको आसमा सेन्चुरीले फाइनान्स कम्पनीहरुलाई सापटी दिएको थियो ।
बैंकले क्रिस्टलको तीन आना १ पैसा २ दाम, ४ आना २ पैसा २ दाम र ४ आना २ पैसा १ दाम गरी तीन वटा थापाथलीको जग्गा लिलाम गर्न लागेको हो । क्रिस्टललाई राष्ट्र बैंकले गत बिहीबार समस्याग्रस्त घोषणा गरेको थियो । खराव कर्जा वढेको र निक्षेपभन्दा वढी ऋण लगानी गरेका कारण वित्तीय स्वास्थ्य विग्रिएपछि समस्याग्रस्त घोषणा गरिएको थियो ।
फाइनान्सले अब नयाँ निक्षेप लिन र ऋण लगानी गर्न पाउँदैन । आगामी ६ महिनाभित्र कम्पनीमा सुधार नआए फाइनान्सलाई लिक्विडेसन (खारेजी) मा पठाउन राष्ट्र बैंक स्वतन्त्र हुन्छ । पर्याप्त तरलता नभएका कारण फाइनान्सले निक्षेपकर्ताको पैसा फिर्ता गर्नसमेत छाडेको थियो । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार, कम्पनीसँग ४९ करोड ९१ लाख रुपैयाँ निक्षेप छ । ऋण भने ८६ करोड ६८ लाख रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ९ करोड ४४ लाख रुपैयाँ छ । थापाथलीमा कर्पोरेट कार्यालय रहेको कम्पनीको कुल ऋणमध्ये १५.८८ प्रतिशत उठ्न नसक्ने अवस्थामा छ । कम्पनी गत वर्ष १५ लाख रुपैयाँ नाफामा थियो ।
कम्पनीले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव खातामा सार्वजनिक गरेको विवरणभन्दा निकै वढी ऋण समस्यामा रहेको राष्ट्र बैंकले फेला पारेको छ । कम्पनीले देखाएको विवरणमा पुँजी पर्याप्तता अनुपात १६.६८ प्रतिशत छ । जबकी राष्ट्र बैंकले यो अुपात २ प्रतिशतभन्दा कममा झरेको भेटाएको थियो । राष्ट्र बैंकको व्यवस्था अनुसार फाइनान्स कम्पनीले यस्तो अनुपात ११ प्रतिशत कायम गर्नु पर्छ । खराव कर्जा अनुपात ६० प्रतिशतभन्दा वढी छ । खराव कर्जा पनि ५ प्रतिशतभन्दा कम हुनु पर्छ ।
क्रिस्टल राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाउने ५०औं फाइनान्स कम्पनी हो । कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा छ । दुई महिनाअघि राष्ट्र बैंकले फाइनान्समा विशेष निरिक्षण गरेको थियो । निरिक्षणमा क्षमताभन्दा वढी ऋण प्रवाह गरेको भेटाएको थियो । निरिक्षण टोलीले दिएको वित्तीय प्रतिवेदनपछि बिहीबार साँझ राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो । फाइनान्सको सेयर १ वर्षदेखि नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको छैन । पछिल्लो कारोबार १ सय १७ रुपैयाँमा भएको थियो । नेप्सेमा फाइनान्सको ७ लाख कित्ता सेयर सुचीकृत छ ।
कसरी डुब्यो क्रिस्टल
राष्ट्र बैंकका तत्कालिन कार्यकारी निर्देशक राजनसिंह भन्डारीले नियमन विभागमा हुँदा क्रिस्टल फाइनान्सलाई सञ्चालन अनुमति दिलाएका थिए । पछि डेपुटी गभर्नरमा वढुवा नभएपछि रिसले राष्ट्र बैंक छाडेर उनले आफू प्रमुख कार्यकारी बनेर सिटिजन्स् बैंक इन्टरनेसनल खोले ।
१५ महिनाअघिसम्म एक बैंक तथा वित्तीय संस्थाले अर्को संस्थामा पैसा राख्न पाउने व्यवस्था थियो । यही व्यवस्थाको फाइदा उठाउँदै उनले सिटिजन्सको निस्चित पैसा क्रिस्टलमा राख्ने गरेका थिए । आफ्नो बैंकबाट आफ्ना प्रवद्र्धकहरुलाई ऋण दिन पाइँदैन थियो । त्यही भएर उनले क्रिस्टलमार्फत ऋण उपलब्ध गराउँथे ।
डेढ वर्षअघि एक संस्थाको निक्षेप अर्कोमा राख्न नपाउने राष्ट्र बैंकको व्यवस्थापछि सिटिजन्सको पैसा क्रिस्टलबाट फिर्ता लग्नु पर्ने भयो । तर क्रिस्टलसँग पैसा फिर्ता गर्ने क्षमता नभएपछि फाइनान्सको थापाथलीको घर सिटिजन्स् बैंकले किनेको छ । अझै पनि सिटिजन्सको निक्षेप फिर्ता भइसकेको छैन । त्यही भएर फाइनान्सले अर्को घर पनि वेच्ने तयारी गरिरहेको छ ।
फाइनान्सबाट गएको सम्पूर्ण ऋणहरु राजनसिंहका मानिसहरुले पाएको स्रोतले जानकारी दियो । राजनसिंहले त्यहबाट घरजग्गा र सेयरमा लगानी गर्न ऋण उपलब्ध गराउने गरेका थिए । साथै ओभरड्राफ्ट र टर्म लोनहरु पनि दिलाउने गरेका थिए । फाइनान्सले ओभरड्राफ्ट ऋण मात्रै १८ करोड ३४ लाख लगानी गरेको छ । अन्य शिर्षकमा  फाइनान्सले २२ करोड ४४ लाख रुपैयाँ र होम÷हाउजिङ ऋण ३६ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । सेयर धितो ऋण २ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ ।

Tata
GBIME
Nepal Life