मलेसियाको वायोमेट्रिक विवाद, मन्त्री पनि मुछिए, दुई महिना कामदार नपठाउन व्यवसायीको प्रस्ताव

बिजमाण्डू
२०७१ माघ ५ गते ००:०० | Jan 19, 2015
मलेसियाको वायोमेट्रिक विवाद, मन्त्री पनि मुछिए, दुई महिना कामदार नपठाउन व्यवसायीको प्रस्ताव

काठमाडौं । नेपालीको पहिलो श्रम गन्तब्य मलेसियामा दुई महिना कामदार पठाउन रोक्न व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । कामदार पठाउन मलेसियाले विभिन्न प्रावधान राख्न थालेपछि व्यवसायीले औपचारिक रुपमा सरकारलाई यो आग्रह गरेका हुन् ।

Tata
GBIME
Nepal Life

खुला बजार र हावापानीका कारण मलेसिया नेपालीको पहिलो रोजाईमा मलेसिया परेको थियो । मलेसियामा अहिले झन्डै आठ लाख नेपाली छन् । पुराना व्यवसायीका अनुसार मलेसियामा पछिल्लो समयमा भइरहेको क्रियाकलापले रोजगारी नै बन्द हुने अवस्था आउनेछ ।

मलेसियाले सन् २००८मा बंगलादेशी कामदारलाई प्रतिवन्ध लगाएपछि नेपाली कामदार पहिलो रोजाईमा परेको थियो । कामप्रति इमान्दार र परिश्रमी भएको भन्दै मलेसियाका रोजगारदाताले नेपालीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपालबाट दैनिक तीन सयको हाराहारीमा नेपाली मलेसिया मात्रै जान्छन् । औषतमा दैनिक १५ सय नेपाली विदेशिने गरेका छन् ।

पछिल्लो समयमा नेपालका केही व्यवसायीको मिलेमतोमा कामदारलाई अतिरिक्त रकम लाग्ने गरी प्रावधान लगाउन थालेपछि मलेसियाको रोजगारी संकटमा परेको हो । भिएलएन, वायोमेट्रिक र सुरक्षा गार्डको लागि तालिम लिनुपर्ने प्रावधान मलेसियाले लगाउन थालेको छ ।

के हो विवाद
भिएलएन नेपालले मलेसिया जाने कामदार संकलन गरी भिसा प्रक्रिया अगाडी बढाउन प्रति कामदार ३ हजार २ सय रुपैयाँ लिदै आएको छ । मलेसियाले भिसा वापतको सात सय रुपैयाँ उल्लेख गरे पनि भिएलएनको नाममा ३९ सय रुपैयाँ कामदारले बुझाउनुपर्छ ।

‘मलेसियाले विभिन्न प्रावधान लगाएर कामदारनै पठाउन नसकिने अवस्था आयो,’नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले बिजमान्डूसँग भने, ‘हामीले यो प्रावधानले कामदारलाई अतिरिक्त भार परेको भनेर दुई महिना कामदार नपठाउन सरकारलाई आग्रह गरेका हौ । हामीले मात्रै कामदार पठाउन रोक्ने हो भने मलेसियाले  पनि विचौलियालाई रोक्न पहल गर्नेछ ।’

अहिले व्यवसायीले मलेसिया रोक्न दबाब दिनुमा वायोमेट्रिक प्रणालीको कार्यान्वयनमा ल्याउन खोज्नु हो । कामदारको स्वास्थ्य परीक्षणदेखि सबै तथ्यांकलाई एकीकृत गर्न खोजेपछि मलेसिया कामदार पठाउने व्यवसायीले सोमबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेटेर कुटनीतिक पहल गर्दै गर्न आग्रह गरेको हो ।

‘हामीले नेपालीको सबै लगत कुनै एउटा कम्पनीलाई दिएर सम्प्रभुतामा धावा बोल्न दिनु उचित हुँदैन,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले भने, ‘योभन्दा मलेसियामा नेपाली पठाउन रोक्नु नै उचित हुनेछ ।’ उनका अनुसार मलेसियाको निजी कम्पनीलाई नेपाली कामदारको पासपोर्ट, फिंगर प्रिन्ट लगायतको तथ्यांक राख्न दिने वायोमेट्रिक प्रणाली खारेज हुनुपर्छ ।

‘वायोमेट्रिकलाई स्वास्थ्य परीक्षण मात्रै गर्ने भनेर व्याख्या गरिएको छ । तर मलेसियाको निजी कम्पनीले नेपालीको सबै तथ्यांक राख्नसक्ने अधिकार दिन खोजिएको छ,’ खनालले भने, ‘यो भनेको हामीले देश बुझाए सरह हो ।’

मलेसियाले बेस्टिनेट डिएचटी आइएनएटी भन्ने कम्पनीलाई वायोमेट्रिकको अधिकार दिएको छ । वायोमेट्रिक मार्फत दशवटै औलाको छाप, आँखाको रेटिना लगायतको पहिचान राख्छ ।

स्रोतका अनुसार सुरुवातमा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ वायोमेट्रिकको विपक्षमा थिए । उनले कुनै हालतमा वायोमेट्रिक प्रणाली कार्यान्वयन गर्न नदिने अडानमा थिए । तर पछिल्लो समयमा आएर एकाएक राज्यमन्त्री गुरुङ नै वायोमेट्रिकको पक्षमा वकालत गरेको व्यवसायीको आरोप छ ।

व्यवसायीवीच विवाद
वायोमेट्रिक कार्यान्यन बारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ समेत विभाजित भएको छ । संघका अध्यक्ष हंशराज वाग्लले वायोमेट्रिकले कामदारको हितमा भएको भन्दै कार्यान्वयन हुनुपर्ने पक्षमा छन् भने अरु व्यवसायी वायोमेट्रिककको विपक्षमा छन् ।

‘केही व्यवसायीलाई वायोमेट्रिकको ठेक्का पाएको बेस्टिनेटका संचालक मोहम्मद अमिनले फ्लेक्स सोनिक कम्पनीको डिमान्ड दिएकोले वायोमेट्रिकको पक्षमा छन्,’ संघका उपाध्यक्ष खनाल भन्छन्, ‘फ्रि भिसा र फ्रि कोटा दिएर हाम्रै अध्यक्ष समेत बिकेका छन् ।’ अध्यक्ष वाग्लेको पाथिभरा ओभरसिजले फ्लेक्स सोनिकको कोटा पाएको उनको दावी छ । तर वाग्ले भने फ्लेक्स सोनिकको कोटा पाउनुमा वायोमेट्रिकसँग कुनै सम्वन्ध नरहेको दावी गर्छन् ।

‘म अध्यक्ष मात्रै होइन व्यवसायी समेत हो । मैले कुनै कम्पनीको कोटा ल्याएर काम गर्न नपाउने ?’ उनले प्रश्न गर्दै भने, ‘मलाई बदनाम गराउन खोजिएको हो ।’ उनले कामदारलाई मेडिकल लगायतका नाममा धेरै समय झुलाउने व्यवसायीहरु वायोमेट्रिकको विरोधमा उत्रिएको आरोप लगाए ।

‘व्यवसायीहरुलेनै पैसा उठाएर विभिन्न वहानामा कामदारलाई ठग्ने गरेका छन् । ती व्यवसायीहरुले अहिले विरोध गर्दै आएका छन्,’ वाग्लेले भने, ‘वायोमेट्रिक लागू भएपछि कामदार स्वंय उपस्थित हुनुपर्छ । कामदार नल्याई स्वास्थ्य परीक्षणको नाममा पैसा असुल्ने काम समेत बन्द हुन्छ ।’

वायोमेट्रिकका संचालक विवादमा
बेस्टिनेट डिएचटी आइएनएटीका संचालक मोहम्मद अमिन मलेसियामा विवादास्पद व्यक्ति भएको व्यवसायीको दावी छ । उनी बंगलादेशी हुन् । अमिनले मलेसियाली महिलासँग विवाह गरेर आफ्नो व्यवसायलाई फैलाएका थिए । अहिले मलेसियाको उच्च तहसम्म उनको पहुँच छ ।

‘बंगलादेशबाट कामदार ल्याएर धेरैलाई समस्यामा पारिसकेका व्यक्ति हुन् । उनले हस्तलिखित राहदानीमा अर्काको फोटो टासेर कामदार पठाउने गरेको समेत आरोप छ,’ उपाध्यक्ष खनालले भने, ‘त्यस्तो व्यक्तिको हातमा हाम्रो सबै तथ्यांक पुग्दा के हालत हुन्छ ?’ तर वाग्ले कुनै एक व्यक्तिले नेपालमा बसेर विवादित भन्दैमा अमिनलाई केही फरक नपर्ने बताउँछन् ।

‘खनालले अनावश्यक रुपमा अमिनका विरुद्वमा भ्रम फैल्याएका छन्,’ उनले भने, ‘उनले गैरकानुनी काम गरेको भए वायोमेट्रिक जस्तो महत्वपूर्ण काम कसरी पाउँथे ?’

कहाँ छ कुटनीति ?
नेपाल र मलेसियावीच लामो कुटनीतिक सम्वन्ध छ । तर मलेसियाको रोजगारी संकटमा आइपुग्ने अवस्था पुग्दा समेत नेपालको कुटनीतिक मौनता कायम छ । सरकारले कुटनीतिक पहल नगर्ने हो भने मलेसियाको गन्तब्य सदाको लागि गुम्नसक्ने मलेसियासँग व्यापारिक सम्वन्ध राखेका व्यवसायीहरु बताउँछन् ।

‘आफ्नो सिमित स्वार्थको लागि मलेसियाको श्रम गन्तब्य गुम्ने अवस्थामा पुगेको छ । यस्तो जटील अवस्थामा समेत सरकारले कुनै कुटनीतिक पहल गरेको छैन,’ ती व्यवसायीले भने, ‘नेपालले तत्कालै कुटनीतिक माध्यमबाट मलेसिया सरकारसँग वार्ता गर्नुपर्छ ।’ परराष्ट्र मन्त्रालयले तत्कालै मलेसियासँग वार्ता गरेर समस्या समाधान नगरे इजरायल जस्तै रोजगार गन्तब्य गुम्ने उनले बताए ।