असारपछि ५४ हजार भन्दा माथि गयो सुनको भाउ, बुधबार आठसयले बढ्यो, तोलाको ५४ हजार चारसय

बिजमाण्डू
२०७१ माघ ७ गते ००:०० | Jan 21, 2015
असारपछि ५४ हजार भन्दा माथि गयो सुनको भाउ, बुधबार आठसयले बढ्यो, तोलाको ५४ हजार चारसय

काठमाडौं। बुधबार सुनको भाउमा उच्च वृद्धि भएको छ। बुधबार एकै दिन सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार तोलाको ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ५४ हजार चार सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ गएको असार ३१ गतेपछि पहिलो पटक ५४ हजार पुगेको व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंश २१ डलरले बढेकाले नेपालमा पनि सुनको भाउमा ठुलो वृद्धि देखिएको उनले बताए। सुनको भाउमा ठुलो उतारचढाव भइरहँदा व्यापारमा पनि मन्दी देखा परेको शाक्यले जानकारी दिए।

'माघ लागेपछि पोहोर परार दिनको ४० किलोसम्म कारोबार हुने गरेको थियो,' शाक्यले भन्, 'अहिले त १० किलो पुग्न पनि मुस्किल छ।' सुनको भाउ बढिरहँदा मानिसले अत्यावश्यक नभइ सुन खरीद नगर्ने भएकाले माग नबढेको उनको भनाइ छ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार चाँदी तोलाको सातसय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदीको भाउ तोलाको सातसय ३५ रुपैयाँ थियो।