उपभोक्ताले पाए ग्यास, २० वटा कम्पनीले साल्ट ट्रेडिङबाट बेच्न थाले, ग्यास लिन उपभोक्ताको लाइन

बिजमाण्डू
२०७१ माघ ११ गते ००:०० | Jan 25, 2015
उपभोक्ताले पाए ग्यास, २० वटा कम्पनीले साल्ट ट्रेडिङबाट बेच्न थाले, ग्यास लिन उपभोक्ताको लाइन

काठमाडौं । ग्यासको चरम अभावले उपभोक्ताले सास्ती भोगेपछि नेसनल ट्रेडिङमार्फत आइतबारदेखि ग्यास बिक्री सुरु गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा उपत्यकाका उपभोक्तालाई लक्षित गर्दै ग्यास बिक्री सुरु गरिएको हो ।

Tata
GBIME
Nepal Life


नेसनल ट्रेडिङ, ग्यास उद्योगी र  बिक्रेता  समन्वयमा टेकुमा ग्यास बिक्री सुरु हुनेवितिकै उपभोक्ताको लामो लाईन लागिसकेको थियो । वाणिज्यमन्त्री सुनिलबहादुर थापाले उद्घाटन गर्नुअघिनै उपभोक्ताको लाइन टेकु पुलसम्म पुगेको थियो । भारतबाट कम ग्यास आएको र व्यवसायीले यही मौका छोपेर चलखेल गरेपछि उपभोक्ताले अभाव खेपेका थिए ।

‘सर्वसाधरणले सहज रुपमा ग्यास पाउन सकुन भनेर अल्पकालका लागि यो व्यवस्था गरिएको हो,’ मन्त्री थापाले भने, ‘यसले केही भएपनि राहत हुनेछ ।’ उपत्यकामा बिक्री हुने बीस वटा उद्योगका ग्यास बिक्रीको लागि राखिएको छ । उपभोक्ताले १ हजार ४ सय ७० रुपैयाँ तिरेर ग्यास पाउनेछन् ।

‘विशेष परिस्थितीका लागि यो व्यवस्था गरिएको हो । यो व्यवस्थाले उपभोक्ताले सहज ग्यास पाउने वातावरण बनेको छ,’ आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बिजमान्डूसँग भने, ‘माथिल्ला तहका व्यक्ति र होटल लगायतका क्षेत्रमा सहजै ग्यास पाउने तर उपभोक्ताले नपाउने अवस्था अन्त्यका लागि यो व्यवस्था सहयोगी हुनेछ ।’

ग्यास पाएपछि उपभोक्ता खुशी देखिन्थे ।  ग्यास बिक्रेता महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले आपतकालीन समयका लागि यो व्यवस्थाले उपभोक्तालाई केही भएपनि राहत दिने बताउँछन् ।

‘आपतकालीन समयका लागि यो व्यवस्था गर्नु अत्यन्तै सकारात्मक छ,’ उनले भने, ‘ग्यासलाई व्यवस्थित गर्न कार्डमार्फत बिक्री गर्ने योजनालाई कार्यान्वयनमा ल्याउनुपर्छ ।’

डिसेम्बर महिनामा बरौनी रिफाइनरी मर्मतको लागि बन्द हुँदा १८ हजार टन मात्रै ग्यास बजारमा आयो । जाडो महिनामा ग्यासको माग बढी हुने भएकोले केही परिमाण ग्यास कम आउँदा अभाव सिर्जना भएको थियो ।

ग्यास कम भएको मौका छोप्दै एलपी ग्यास उद्योग संघले कोटा बढाउन निगमलाई असहयोग गर्दा अभाव चर्किएको हो ।