सस्तो सिआओमीको यसरी बढ्दै छ दवदवा, आइफोन सिक्स प्लसलाई चुनौती

बिजमाण्डू
२०७१ माघ ११ गते ००:०० | Jan 25, 2015
सस्तो सिआओमीको यसरी बढ्दै छ दवदवा, आइफोन सिक्स प्लसलाई चुनौती

प्रभात भट्टराई/बिजमाण्डू
सांघाइ । एप्पलको आइफोन सिक्स तथा सिक्स प्लस सार्वजिनक भएको चार महिना पछि आएको चिनियाँ स्मार्टफोन निर्माता सिआओमीको नयाँ मि नोटले प्रविधिमा रुची राख्ने सबैको ध्यान तानेको छ । विषेशगरि पुर्वी र दक्षिणपुर्वी एसियामा यसको चर्चा चुलिएको छ । त्यस बाहेक युरोपका संचारमाध्यमहरुले समेत आइफोन सिक्स प्लसलाई चुनौति दिएको भन्दै मि प्लसको चर्चा गरेका छन् ।

Tata
GBIME
Nepal Life

अगष्ट सन् २०११ मा पहिलो स्मार्ट फोन बजारमा ल्याए यता सिआओमीले पछाडि फर्केर हेर्नु परेको छैन । बजारमा आएको साढे तीन बर्षमै विश्वको तेस्रो ठुलो स्मार्ट फोन निर्माताको रुपमा कम्पनी स्थापित भइ सकेको छ । पहिलो स्थानमा रहेको सामसुङ र दोस्रो एप्पललाई सिआओमीले पछ्याइरहेको छ । स्मार्टफोन निर्माणमा आफू भन्दा धेरै जेठा र अनुभवी कम्पनीहरु लेनोभो, एलजी लगायतलाई सिआओमीले उछिनी सकेको छ ।

मी नोट सार्वजनिक कार्यक्रममा सेल्फि खिच्दै सिआओमी सिइओ लेइ जुन
अहिलेसम्म युरोपेली ब्रान्ड कन्सल्टेन्सी इन्टरब्रान्डको विश्वका उत्कृष्ट १०० ब्रान्ड सूची भित्र पर्न सिआओमी सफल भएको त छैन । तर, उत्कृष्ट ब्रान्डको सूचीमा रहेका धेरै जाइन्टहरुको टाउको दुखाइ भने बनि सकेको छ । अहिलेसम्म चिनियाँ कम्पनीमा हुवावेले मात्र त्यहाँ डेब्यु गरेको छ । विशेषगरि घना आवादी भएका चीन, इन्डोनेसिया, भारत लगायतका मुलुकमा सिआओमीको लोकप्रियता र बढ्दो बजारले नामी भनिएका कम्पनीहरुमाथि चुनौति थपिएको हो ।  

सिआओमीको पृथक पहिचान भनेकै सस्तो मुल्यमा उत्कृष्ट स्मार्टफोन उपभोक्ताको पहुँचमा पुर्‍याउनु हो । आफ्नो फोन एप्पल, सामसुङ लगायत अन्य कम्पनीको तुलनामा धेरै सस्तो भए पनि प्रविधिमा उत्कृष्ट रहेको दाबी कम्पनीले गर्दै आएको छ र यो दावि प्रति उपभोक्ताहरु पुर्णत: सहमत छन् ।

त्यसैले सिआओमीले नयाँ फोन सार्वजिनक गर्दा सुरुमै किन्न ग्राहकको लाइन लाग्ने गरेको छ, आइफोनको नयाँ मोडल आउँदा उपभोक्ताको भिड लागे जस्तै । गत बिहिबार मी नोट सार्वजिनक गर्ने कार्यक्रम राखिएको बेइजिङ स्थित ग्रेट हलमा बिहानै देखि ग्राहकको लाइन लागेको थियो ।
 
टक्कर आइफोनसँगै
सिआओमीले गत बिहिबार बेइजिङमा सार्वजिनक गरेको मि नोट आकार तथा क्यामेरामा आइफोन सिक्स प्लस भन्दा अब्बल रहेको दाबि गरिएको छ । आइफोन सिक्स प्लसमा ८ मेगापिक्सेल (एमपी) रेयर तथा १ दशमलव २ एमपी फ्रन्ट क्यामेरा छन् । जबकी मि नोटमा १३ एमपी रेयर र ४ एमपीको फ्रन्ट क्यामेरा राखिएको छ ।

पहिलो फ्याब्लेटको रुपमा एपलले ५ दशमवल ५ इन्चको आइफोन सिक्स प्लस सार्वजिनक गरेकमा मि नोटको आकार ५ दशमवल ७ इन्च रहेको छ । प्रोसेसर, र्याम लगायत सफ्टवेयरमा समेत कुनै कमि नरहेको कम्पनीको दाबी छ । एपलको आफ्नै आइओएस अपरेटिङ सिष्टम छ भने सिआओमीले एन्ड्रोइड नै प्रयोग गर्दै आएको छ । तर उसले एन्ड्रोइडलाई आफ्नै ढंगले मोडिफाइट गरेर एमआइयुआइ भर्सनमा ढालेको छ । त्यसैले सिआओमीको फोन चलाउँदाको अनुभव आइफोन भन्दा कम सन्तोषजनक नरहेको उपभोक्ताको भनाइ छ ।

फोनको आकार र सफ्टवेयरमा समानता रहे पनि मुल्यमा आइफोन सिक्स प्लस र सिआओमी नोटमा ठुलो अन्तर छ । चिनियाँ बजारमा आइफोन सिक्स प्लसलाई ६ हजार युआन भन्दा महङ्गो पर्छ भने मि नोटको मुल्य दुइ हजार तीन सय रुपैयाँ तोकिएको छ । अर्थात एपलको फोन किन्न एक लाख रुपैयाँ भन्दा बढि तिर्नु पर्छ भने मी नोट ४० हजार भन्दा कममा आउँछ ।

वेलायती पत्रिका डेली मेलले मि नोटलाई ‘आइफोन सिक्स प्लस किलर’को संज्ञा दिएको छ । उही विषेशताबीच सिक्स प्लसलाई ६१९ बेलायती पाउन्ड तिर्नु पर्नेमा मि नोट २४४ पाउन्डमै आउने डेलीमेलको रिपोर्टमा उल्लेख छ । अहिलेलाई चिनमा मात्र सार्वजिनक गरिएको मि प्लसको अन्तर्राष्ट्रिय बजारमा बिक्री खुला हुने मिति पर्खेर उपभोक्ता बसेका डेलीमेलले उल्खेख गरेको छ । यसरि सिआओमीको फोन एसिया मात्र होइन क्रमश युरोपेली बजारमा समेत लोकप्रिय हुन थालेको छ ।

डेलीमेलले मि नोट, आइफोन सिक्स प्लस र सामसुङको पछिल्लो स्मार्टफोन ग्यालेक्सी एस फाइभका बिभिन्न विषेशताहरु तुलनानै गरिदिएको छ । रिपोर्ट अनुसार तीन वटै फोनको रिजोलुसन समान १०८० गुणा १९२० पिक्सेल रहेको छ । स्क्रिन मि प्लसको सबै भन्दा बढि छ भने थिकनेस ६ दशमलव ९५ मिलीमिटर सहित सबै भन्दा कम मि प्लसकै छ । प्रोसेसर आइफोनमा एपल ए ८ छ भने सामसुङ र सिआओमी दुबैको फोनमा क्वालकम स्नाप्ड्रागन ८०१ रहेको छ । मुल्यमा भने मि नोट आइफोन सिक्स प्लस भन्दा तीन गुणा तथा ग्यालेक्सी एस फाइभ भन्दा आधा नै सस्तो रहेको रिपोर्टमा उल्लेख छ ।

मि नोट सार्वजिनक भए पछि फोर्ब्सले सिआओमी आक्रामक बजार बिस्तार गर्न सफल भएको उल्लेख गरेको छ । सिआओमीले गत महिना मात्र एक अर्ब १० करोड अमेरकी डलर बराबरका स्टक उत्पादन बिक्री गरेको तथा कम्पनीको मुल्याङ्कन समेत ४५ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ । सेयर सुचिकरण बिनानै यति धेरै मुल्याङ्कन हुने विश्वका थोरै कम्पनीमा सिआओमी परेको छ । अहिले सम्म अमेरिकी बजारमा सिआओमीले आफ्ना स्मार्टफोन बिक्रीको कुनै कार्यक्रम राखेको छैन । सिआओमीको बढ्दो दबदबाबिच एपलका लागि यो यहि एउटा शुभ खबर रहेको समेत फोर्ब्सले उल्लेख गरेको छ ।

सियाओमीले सन् २०१४ मा ८० अर्ब युआन (करिब १३ अर्ब अमेरिकी डलर) को व्यापार गरेको थियो । यहि उच्च बिक्रीबाट कम्पनी विश्को तेस्रो ठुलो स्मार्ट फोन निर्माता बन्न सफल भएको हो । सन् २०१३ को ३३ अर्ब तथा २०१२ को १२ दशमलव ६ अर्बको बिक्रीबाट गत बर्ष कम्पनीले एकै पटक उच्च छलाङ मारेको हो । २०१४ मा ६१ दशमलव १२ थान स्मार्टफोन बिक्री गर्न कम्पनी सफल भएको छ । जुन २०१३ भन्दा २२७ प्रतिशतले बढि हो ।
 
कति सस्तो ?
सिआओमीले कम मुल्यका फाइटर स्मार्ट फोन उत्पादन गर्दैन । चिनीयाँ बजारमा उसको सबै भन्दा सस्तो मोवाइल होङ्मीको मुल्य ६ सय युआन अर्थात करिब १० हजार रुपैयाँ पर्छ । चिनमा धेरै लोकप्रिय फोनमा भने होङ्मी नोट, मी थ्री तथा मी फोर पर्छन् ।मी फोरको तुलना आइफोन फाइभ एस सँग गरिन्छ । जबकी यसको मुल्य भने आइफोन फाइभ एस भन्दा आधा दुई हजार युआन अर्थात करिब ३३ हजार रुपैयाँ मात्र पर्छ । यो फोन चलाउने उपभोक्ताको सन्तुष्टिको स्तर भने उच्च छ ।

त्यस्तै मी थ्रीको मुल्य एक हजार पाँच सय युआन अर्थात करिब २५ हजार रुपैयाँ पर्छ । यसको तुलना आइफोन फाइभ तथा फोर एससँग गरिन्छ । होङ्मी नोटलाई नौ सय युआन अर्थात करिब १५ हजार रुपैयाँ पर्छ । ५ दशमलव ५ इन्च स्क्रिन भएको होङ्मी नोट बराबरको सुविधा भएको अरु ब्रान्डको फोनलाई कम्तिमा डेढ गुणा महङ्गो तिर्नु पर्ने चिनीयाँ उपभोक्ताहरुको अनुभव छ । त्यसैले छोटो समयमानै विश्वको सबै भन्दा ठुलो मोबाइल बजार चिनमा अग्रणी बजार हिस्सा लिन सिआओमी सफल भएको छ ।

चिनमा मात्र होइन भारत, इन्डोनेसिया, मलेसिया तथा सिङ्गापुरमा पनि सिआओमीले बजारमा अलग पहिचान बनाइ सकेको छ । सन् २०१४ को मध्यतिर मी फोर सार्वजिनक हुँदा बुकिङ गर्न भारतीय उपभोक्ताहरुको तँछाड मछाड चलेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको थियो । अहिले पनि मी नोट कहिले आउला भनेर उपभोक्ताहरु ब्यग्र प्रतिक्षामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । कम्पनीले नयाँ उत्पादन आउँदो महिना देखि अन्तराष्ट्रिय बजारमा पठाउने उल्लेख गरेको छ ।

सिआओमीले बजार बिस्तार गरेका सबै देशमा उस्तै सस्तो मुल्यमा स्मार्ट फोन बिक्री गरेको हुनाले बिदेशमा यसको लोकप्रियता बढेको हो । भारतमा समेत सर्वाधिक बजार हिस्साको ताज सामसुङबाट सिआओमीले खोस्न सक्ने विश्लेषण त्यहाँका संचारमाध्यमले गरेका छन् ।

सिआओमीले अनलाइन बिक्रीमा जोड दिने गरेको छ । त्यसो हुँदा ठाउँ ठाउँमा सो रुम खोल्न लाग्ने खर्च बच्ने कम्पनीको बुझाइ छ । यसरि बिक्री लागत घटाउने र न्युनतम नाफा राखेर बेच्ने गरेको हुँदा सस्तो दिन सफल भएको कम्पनीको भनाइ छ । चिनमा मात्र होइन अरु मुलुकमा पनि यहि मोडालिटी अपनाएको छ । अरु देशमा आधिकारीक डिलर नियुक्ती गरि बिक्री गर्न दिने नभइ कम्पनी आफैँ उपस्थित भएको छ । त्यसैले चिनकै मुल्यमा भारत लगायत सिआओमीको उपस्थिती भएका देशका ग्राहकले सस्तो स्मार्ट फोन चलाउन पाएका छन् ।

सिआओमीले मोवाइल बाहेक मीप्याड मीटिभी मीसेट अप बक्स लगायत अरु विद्युतीय उपकरण पनि उत्पादन गर्ने गरेको छ । तर तिनीहरुमा भने कम्पनीले स्मार्ट फोन जस्तो सस्तो दिँदैन । प्रविधीको युगमा मध्यम आय भएका सर्वसाधारणले पनि उच्च कोटीको स्मार्ट फोन चलाउन पाउन् भन्नेमा कम्पनीको कम्पनीको ध्येय देखिन्छ ।

चिन लगायत मलेसिया सिङ्गापुर भारत तथा इन्डोनेसियामा गरि पाँच हजार भन्दा बढि सिआओमीमा काम गर्छन् । सिआओमीले अहिले सम्म नेपाली बजारमा आफ्नो उत्पादन बिक्रीको योजना सार्वजिनक गरेको छैन । भारतको सफलताको आधारमा नेपाल गएको खण्डमा पनि कम्पनीले राम्रै बजार लिने आधार देखिन्छ । सिआओमीले सोरुमबाट नभइ अनलाइन बिक्रि गर्ने तर नेपाल अनलाइन कारोबार नफष्टाएको हुँदा यसका उत्पादन तत्काल आउने सम्भावना भने देखिँदैन ।
 
लेइ जुनको आँट
सिआओमीका ४५ बर्षिय संस्थापक तथा सिइओ लेइ जुन हुवाइ युनिभर्सीटीबाट इन्जिनियरिङमा ग्राजुएट हुन् । सन् १९९२ मा प्रविधी सम्बन्धि कम्पनी किङ्गसफ्टमा इन्जिनियरको जागिर खान पुगेका उनी सन् १९९८ मा कम्पनीको प्रेसिडेन्ट बने । सन् २००० मा जोयो डट कम नामको अनलाइन बुक स्टोर खोलेका उनले सन् २००४ मा ७५ मिलीयन अमेरिकी डलरमा अमेजन डट कमलाई आफ्नो स्टोर बिक्री गरे । सन् २००७ मा स्वास्थ्यका कारण किङ्गसफ्टको प्रेसिडेन्ट तथा सिइओबाट राजिनामा दिएका उनले ६ अप्रिल २०१० मा सिआओमी इन्क स्थापना गरेका हुन् ।

फोर्ब्सका अनुसार सन् २०१४ मा उनी चिनका आठौँ धनाड्य बन्न सफल भएका छन् । उनीसँग ९ दशमलव १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । सिआओमीको उच्च सफलतालाई कदर गर्दै फोर्ब्स एसियाले गत नोभेम्बरमा लेइलाई सन् २०१४ को बिजनेश मेन अफ द इयर घोषणा गरेको थियो । यस्तै लेइलाई फर्च्युन चाइनाले पनि सन् २०१४ मा चिनको विजनेश मेन अफ द इयर उपाधिले सम्मान गरेको छ । फर्च्युनले चिनमा यसरि सम्मान गर्न थालेको १४ बर्ष भयो । प्रविधि सम्बद्ध कम्पनी मध्ये २००५ मा अलिबावाका सिइओ ज्याक मा तथा २०१२ मा जेडि डट कमका लिउ सिआङ्गदोङले यो उपाधि जितेका थिए ।

मि नोट सार्वजिनक गरे पछि अब लेइको ध्यान आउँदो मार्चमा ल्याउन लागेको मि नोट प्रो तर्फ केन्द्रत भएको छ । यो फोन अझ परिष्कृत हुने उनले घोषणा गरि सकेका छन् ।