मल्ल र महतोको लगानीमा औषधी उद्योग, ६० करोड लगानी हुने, १५ महिनापछि उत्पादन गर्ने योजना

बिजमाण्डू
२०७१ माघ ११ गते ००:०० | Jan 25, 2015
मल्ल र महतोको लगानीमा औषधी उद्योग, ६० करोड लगानी हुने, १५ महिनापछि उत्पादन गर्ने योजना

काठमाडौं । विदेशमा औषधी निकासीको लक्ष्यसहित ६० करोडको लगानीमा अर्कड फर्मासिटिकल्स उद्योग संचालनमा आउने भएको छ । सात प्रतिष्ठित उद्योगी व्यवसायीको लगानीमा संचालनमा आउन लागेको उद्योग भवनको आइतबार शिलन्यास भएको छ । ललितपुरको ठैवमा दश रोपनी जग्गामा निर्माण हुने उद्योगले १५ महिनापछि उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

Tata
GBIME
Nepal Life

उद्योगमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, डा. विरेन्द्र महत्तो, वसन्तचन्द्र मरहट्टा, विशाल पण्डित, भीमलाल पौडेल, कृष्ण कँडेल र  श्रीधर खनालको लगानी रहेको छ ।  पण्डित औषधीका थोक बिक्रेता हुन् । महत्तो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोका भाई हुन् ।

सोपान मल्टिपल कम्पनीको नाममा बहुसंख्यक लगानी छ । सोपानले उद्योगमा ५५ प्रतिशत लगानी छ । संचालक रहेकै मध्येबाट इन्भेस्टमेन्ट कम्पनी खडा गरेर उद्योगमा लगानी गरिएको हो ।

‘उद्योग भवनको शिलन्यास आज(आइतबार) भएको छ । हामीले १५ महिनाभित्रै व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिएका छौ,’ चेम्बरका उपाध्यक्ष एवं संचालक मल्लले भने, ‘मेशिनरीहरु सेट भइसकेका छन् ।’ उद्योगले ७० थरी विभिन्न औषधी उत्पादन गर्नेछ ।

औषधी उद्योगमा मेसिनरी सेट गरेपनि उद्योग भवन बनाउने प्रचलन रहेको छ । उनले नेपालको औषधी उद्योगमा ठूलो लगानी गरेर आउनेमा आफ्नो उद्योग पर्ने दावी गरे ।

‘गुणस्तरीय औषधी उत्पादनको लक्ष्यसहित हामीले यति ठूलो लगानी गरेका हौ,’ मल्लले भने, ‘हामी नम्बर एक बन्ने लक्ष्यसहित आएका छौ । हाम्रो बजार भनेको स्वदेश मात्रै होइन विदेशपनि हो ।’

उनका अनुसार स्वदेशसँगै पहिलो चरणमा रुसमा निकासीको लक्ष्य राखिएको छ । अहिले केही उद्योगका औषधी मात्रै विदेशमा निकासी भएको छ । विदेशमा नगन्य मात्रै औषधी निकासी भएको अवस्थालाई हेरेर लगानी गरिएको उनले बताए । उद्योगले निकट भबिष्यमै सर्वसाधरणमा सेयर जारी गर्ने लक्ष्य समेत लिएको छ ।

‘हामीले १० प्रतिशत शेयर सर्वसाधरणमा जारी गर्नेछौ,’ उनले भने, ‘सर्वसाधरणमा समेत गएर उद्योगको दायरा फराकिलो बनाउन खोजेका हौ ।’

अहिले ४६ औषधी उद्योग संचालनमा रहेका छन् । स्वदेशी बजारको हिस्सा बढिरहेकोले उद्योग थपिने क्रम बढेको हो । उद्योगीका अनुसार स्वदेशी औषधीको कारोबार झन्डै १८ अर्ब पुगेको छ । स्वदेशी औषधीको बजार हिस्सा चालिस प्रतिशतको हाराहारीमा छ ।

स्वदेशी उद्योगको उत्पादन गुणस्तरीय भएकोले आत्मनिर्भरतर्फ अघि बढेको हो । विदेशबाट अझैपनि १५ अर्बको हाराहारीमा औषधी नेपाल भित्रिन्छन् । विदेशबाट आउने औषधीमध्ये भारतको मात्रै ९० प्रतिशत भन्दा बढी छ ।