कुमारी, सानिमा, ग्लोबल आइएमइले नाफा बढाए, कुमारीको तीन गुणाले बढ्यो, सानिमाको सवा ८ करोड

बिजमाण्डू
२०७१ माघ १२ गते ००:०० | Jan 26, 2015
काठमाडौं । कुमारी, ग्लोबल आइएमइ र सानिमा बैंकले नाफा बढाएका छन् । चालु आर्थिक बर्षको पुुस मसान्तसम्मको वित्तीय विवरण सोमबार सार्वजनिक गरेका यि बैंकहरुले नाफा बढेको जनाएका छन् ।
 
सानिमा बैंकले १९ करोड ४३ लाख रुपैयाँको नाफालाई पुस मसान्तसम्म २७ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी, कमिसन तथा शुल्क आम्दानी र विदेशी मुद्रा विनिमयबाट बैंकले नाफा बढाएको हो ।
 
बैंकले खुद ब्याज आम्दानी १७ करोड रुपैयाँले बढाएर ५३ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ । बैंकले विदेशी मुद्रा कारोबारबाट एक करोड  ७३ लाख रुपैयाँ बढी कमाएको छ । बैंकले यसबाट कुल नौं करोड ३३ लाख रुपैयाँ कमाएको जनाएको छ ।
 
बैंकसँग सर्वसाधारणको ३० अर्ब १४ करोड निक्षेप छ भने कर्जा लगानी २५ अर्ब ८९ करोड रुपैयाँ गरेको छ । बैंकको लगानी बढेका कारण पुँजी कोष अनुपात केही साँघुरिएर ११.०३ प्रतिशतमा झरेको छ भने खराव कर्जा अनुपात ०.०४ प्रतिशत मात्र छ । 
 
बैंकको प्रति सेयर आम्दानी २१.८८ रुपैयाँ छ । बैंकको स्प्रेड दर ४.६१ प्रतिशत र ब्याजको आधार दर ७.१९ प्रतिशत छ ।
 
यसैगरी कुमारी बैंकले नाफा करिव तीन गुणाले बढाएर १८ करोड  १६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो पुसमा  ६ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले यसपाली बढाएर १८ करोड १६ लाख रुपैयाँ पुर्याएको हो ।
 
बैंकले नोक्शानी व्यवस्थापन गरेको केही ऋण उठाएको छ । यसबाट बैंकले पाँच करोड ६५ लाख रुपैयाँ उठाएको छ । यसपाली नोक्शानी व्यवस्थापनको रकम पनि घटेको छ । २१ करोड रुपैयाँ नोक्शानी व्यवस्थापन गरेको बैंकले यसपाली असल ऋण प्रवाह गरेका कारण जम्मा नौं करोड ६३ लाख रुपैयाँ मात्र गरेको छ ।
 
बैंकले खुद ब्याज आम्दानी ३५ करोड १७ लाख रुपैयाँबाट बढाएर ४३ करोड ४१ लाख रुपैयाँ गरेको छ । बैंकले कमिसन, शुल्क, विदेशी विनिमय र अन्य आम्दानीको स्रोत भने केही घटेको छ । 
 
बैंकसँग सर्वसाधारणको २९ अर्ब ८८ करोड निक्षेप छ भने कर्जा लगानी २५ अर्ब २८ करोड रुपैयाँ गरेको छ । बैंकको खराव कर्जा अनुपात ४.२६ प्रतिशतबाट ३.८४ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आमदानी २०.७५ रुपैयाँ छ । बैंकको ब्याजको स्प्रेड दर ३.२१ प्रतिशत छ । 
 
यसैगरी ग्लोबल आइएमइ बैंकले पनि नाफा केही बढाएको छ । बैंकले ५४ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो पुसमा बैंकको नाफा ५३ करोड २८ लाख रुपैयाँ थियो ।
 
पाँच अर्ब एक करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले खुद ब्याज आम्दानी ७८ करोड ९७ लाख रुपैयाँलाई बढाएर एक अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । करिव २९ करोड रुपैयाँ नोक्शानी व्यवस्थापन गर्नु परेका कारण बैंकको नाफा खासै वढ्न नसकेको हो । 
 
बैंकले शुल्क तथा कमिसन, विदेशी मुद्रा र अन्य आम्दानी पनि बृद्धि गरेको छ । बैंकले डुबेकोमध्ये १७ करोड ८४ लाख रुपैयाँ ऋण उठाएको छ । बैंकसँग सर्वसाधारणको ५५ अर्ब २० करोड निक्षेप छ भने ४७ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
बैंकको प्रति सेयर आम्दानी २१.५७ रुपैयाँ छ । बैंकको ब्याजको आधार दर ७.६ प्रतिशत र स्प्रेड दर ४.६४ प्रतिशत छ । बैंकको खराव कर्जा अनुपात ३.२२ प्रतिशतबाट २.५७ प्रतिशतमा झरेको छ । बैंकको पुँजी कोष अनुपात १३ प्रतिशत नाघेको छ । 

Tata
GBIME
Nepal Life