क्यान इन्फोटेक मेला सुरु, प्रवेश शुल्क १५० रुपैयाँ, इसेवाबाट पनि टिकट किन्न सकिने

बिजमाण्डू
२०७१ माघ १४ गते ००:०० | Jan 28, 2015
क्यान इन्फोटेक मेला सुरु, प्रवेश शुल्क १५० रुपैयाँ, इसेवाबाट पनि टिकट किन्न सकिने
काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)ले आयोजा गरेको क्यान इन्फोटेक मेला सुरु भएको छ ।

Tata
GBIME
Nepal Life

राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि आगामी सोमबारसम्म इन्फोटेक मेला लाग्नेछ । क्यानले २१ वर्षदेखि गर्दै आएको सूचना प्रविधि मेलाको एक्काइसौं संस्करणको मेला उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका छन् ।

यो संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु तथा एसोसिएट प्रायोजक डेल इन्टेल बाइ नियोटेरिक नेपाल रहेकाले अफिसिएल नाम नै सुबिसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल इन्टेल बाइ नियोटेरिक नेपाल रहेको छ।

कार्यक्रमको प्लाटिनम स्पोन्सर भायानेट, डाइमन्ड स्पोन्सर सामसुङ, गोल्ड स्पोन्सरहरु वेभ सरफर तथा वर्ल्ड लिंक, सिल्भर स्पोन्सरहरु कलर्स, हुवावे, नेटिस र एस पावर रहेका छन्। यस्तै कार्यक्रमको प्रिन्ट स्पोन्सर भने पानासोनिक स्मार्ट रहेको क्यानले जनाएको छ।

यस पटकको क्यान इन्फोटेकमा हलभित्र ४९ वटा र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका क्यानले जनाएको छ। महासंघका अध्यक्ष  विनोद ढकालले भने, 'ट्रसमा एकसय ४४, ओपन स्पेसहरु १४ र फुड स्टल नौवटा गरी कूल दुईसय १९ स्टल रहको छ ।'

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर, इन्टरनेट सेवाप्रदायक,  टेलीकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्यूट,सफ्टवेयर सोलुसन तथा पेमेन्ट सोलुसनलगायत रहेको क्यानले जनाएको छ।

गएको वर्ष चारलाख ३१ हजार तीनसय ५० जनाले अवलोकन गरेको क्यान इन्फोटेकमा यो वर्ष चारलाख ५० हजारले अवलोकन गर्ने क्यानको अनुमान छ। यस वर्ष सर्वसाधारणका लागि प्रवेश शुल्क एकसय ५० रुपैयाँ तोकिएको छ। यस्तै विद्यार्थी सहुलियत भने ७५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ।

माघ १८ गते भने बिजनेश डे तोकिएकाले सबैका लागि एकसय ५० रुपैयाँ तोकिएको क्यानको भनाइ छ। क्यानले अनलाइन टिकट खरिदको व्यवस्था गरेको छ । यसैगरी क्यानले इसेवाबाट  समेत क्यान मेला हेर्नको लागि टिकट किन्न सकिने छ ।

अनलाइन टिकट खरिद गर्नेलाई २० प्रतिशत छुट दिने तयारीसमेत भइरहेको क्यान अध्यक्ष ढकालले बताए ।

यसैबीच आइसिटी कन्फेरेन्स माघ १८ र १९ गते हुने भएको छ। यो कार्यक्रम काठमाडौंको एभरेष्ट होटलमा हुनेछ।