एप्पलको ब्यापार ७० प्रतिशतले बढ्यो, पहिलो तीन महिनामै १८ अर्ब डलर नाफा कमायो

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
एप्पलको ब्यापार ७० प्रतिशतले बढ्यो, पहिलो तीन महिनामै १८ अर्ब डलर नाफा कमायो


एजेन्सी । अमेरिकी स्मार्टफोन निर्माता एप्पलले आफ्नो व्यवसायिक इतिहासकै धेरै नाफा गरेको छ । होलिडे सपिङमा भएको उच्च वृद्धि तथा चीनमा कम्पनीको व्यापारमा ७० प्रतिशतले वृद्धि हुँदा नाफा अहिलेसम्मकै उच्च भएको हो। कम्पनीले वालस्ट्रिटमा भएका अनुमानलाई समेत तोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कम्पनीले आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्त्यसम्ममा सात करोड ४५ लाख आइफोन बिक्रि गरेको थियो। बढिमा सात करोड थान आइफोन बिक्रि हुने विश्लेषक गरिएकोमा त्यो आँकडा उच्च भएको हो । कम्पनीले यो अवधिमा आफ्नो आम्दानी गत वर्षको ५७ अर्ब ६० करोड डलरबाट बढाएर ७४ अर्ब ६० करोड डलर पुर्‍याएको छ र १८ अर्ब डलर खुद मुनाफा गरेको जनाएको छ। नाफा बढेसँगै एप्पलसँग अब एक खर्ब ७८ अर्ब डलर नगद मौज्दात भएको छ। एप्पलको यो नगद आइबिएम खरीद गर्न अथवा प्रत्येक अमेरिकी नागरिकलाई पाँचसय ५६ डलरका दरले बाँड्न पुग्ने रकम हो।

Tata
GBIME
Nepal Life

नाफा उल्लेख्य बढेको समाचार सार्वजनिक भएकै दिन एप्पलका सिइओ टिम कुकले आउँदो अप्रिलमा कम्पनीले एप्पल वाच बजारमा ल्याउने घोषणा गरेका छन्। नाफा सार्वजिनक भएको दिन कारोबार सकिँदा पुँजीबजारमा कम्पनीको सेयर पनि पाँच प्रतिशतले बढेर एकसय १४ दशमलव ९० डलर पुगेको छ।

एप्पलको सेयर होल्डर सिनोभस ट्रस्ट कम्पनी एटलान्टाका पोर्टफोलियो म्यानेजर डेनियल मोर्गनले अरु प्रविधि उत्पादक कम्पनीहरु आइबिएम र माइक्रोसफ्ट खराब समयबाट गुज्रिरहेको बेला कम्पनीको नाफा ठुलो अंकमा बढ्नु सकारात्मक भएको बताएका छन्। रोएटर्ससँगको अन्तर्वार्तामा एप्पलका चिफ फाइनान्सिएल अफिसर लुका मेस्ट्रीले अझै पनि अमेरिकाको तुलनामा चीनमा आइफोन बेच्न नसकेको बताएका छन्।

आइफोन सिक्स र सिक्स प्लसले कम्पनीको नाफा उल्लेख्य बढाएको छ। प्रतिस्पर्धात्मक चिनियाँ बजारमा चाइना मोवाइल लिमिटेडसँगको सहकार्यले पनि कम्पनीलाई फाइदा पुर्‍याएको अनुमान गरिएको छ।

कम्पनीका चिफ फाइनान्सिएल अफिसर मेस्ट्रीले भने चीनको बढ्दो आर्थिक वृद्धिसँगै कम्पनीले चिन्ता लिनु नपर्ने र ब्यापारका लागि धेरै संघर्ष गर्नुपर्ने अवस्था नआउने बताएका छन्। उनले अगाडि भनेका छन्, 'हामीले बजार घट्ने कुनै संकेत देखेका छैनौं।' कम्पनीले सिंगापुर र ब्राजिलमा पनि ब्यापार दोब्बरले बढ्ने दावी गरेको छ ।

एप्पपले २०१६ को मध्यसम्ममा चीनमा ४० वटा स्टोर बनाउने लक्ष्य राखेको छ।

कान्टर वर्ल्डप्यानेल कमटेकका विश्लेषक क्यारोलिन मिलानेसीले पनि कम्पनीको म्याकिन्तोष कम्प्युटर तथा पुराना मोडलका फोनको ब्यापार १४ प्रतिशतले बढेको बताएकी छन्। चीनियाँ नयाँ वर्ष बिदाको समयमा एप्पलको ब्यापार नयाँ च्यानलबाट अझै बढ्ने उनको अनुमान छ।

मेस्ट्रीले कम्पनीको अबको बाटो स्पष्ट भए पनि भविष्यमा चुनौतीहरु पनि रहेको बताएका छन्। उनले डलरको मजबुतीसँगै कम्पनीको भविष्य पनि उज्वल रहेको बताएका हुन्। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५२ अर्बदेखि ५५ अर्ब डलरसम्म आम्दानी गर्ने अनुमान गरेको छ। वालस्ट्रिटले भने खुद आम्दानी ५३ अर्ब ७९ करोड डलर हुने अनुमान गरेको छ।

सिइओ कुकले कम्पनीले एप्पल पे नामक नयाँ 'बाइ प्रोडक्ट' ल्याएको र एप्पलका ग्राहकले आइफोनसँगै ती सुविधा पाउने बताएका छन्। यो सुविधालाई अहिले फस्ट इनिङको संज्ञा दिँदै उनले अमेरिका बाहिर पनि विस्तार गर्ने बताएका छन्।