ग्यास नदिएर उपभाेक्तालाई फेरि झुक्यायो सरकारले, विहीबार बिक्रेताकैमा पुगेन ग्यास सिलिण्डर

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015

काठमाडौं । व्यापारीले ग्यास नदिएर सास्ती पाएका उपभोक्तालाई सरकारले समेत झुक्याएको छ । नेसनल ट्रेडिङमा ग्यास बाँड्ने योजना दुई दिनमै असफल भएपछि सरकारले मंगलबार अर्को निर्णय ग¥र्यो लोडसेडिङ जस्तै उपत्यकामा समूह बनाएर ग्यास बाँड्ने ।

Tata
GBIME
Nepal Life

उपत्यकाको विभिन्न स्थानमा ग्यास बाँड्ने योजना अनुसार उपभोक्ता लाईनमा बसे तर बिक्रेताले ग्यास नआएको भन्दै फिर्ता पठाइदिए । विहानै ग्यास बिक्री हुने पसलसम्म पुगे तर रित्तो हात फर्किए ।

‘ग्यास उद्योगले पसललाई अहिलेसम्म ग्यासनै पुर्‍याएका छैनन । ग्यास नआएपछि बिक्रेताले कसरी बिक्री गर्ने ?’ ग्यास बिक्रेता महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले बिजमान्डूसँग भने । कुनै गृहकार्य विना ग्यास बिक्री गर्ने योजना गर्दा सरकार असफल भएको उनले बताए ।

बिक्रेतासम्म ग्यास नपुर्‍याएको भन्दै महासंघले वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई जानकारी गराइसकेका छन् । सरकारले विहिवार नयाँ वानेश्वर, कोटेश्वर, वतिसपुतली, शंखमूल, माइतीघर, वुद्वनगर, ववरमहलबाट ग्यास बिक्री गर्ने जनाएको थियो ।

यो क्षेत्रमा रहेका केही बिक्रेताले मात्रै ग्यास बिक्री गरेको भेटिएको थियो । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ग्यास बिक्री गर्ने भनिएको स्थानहरुमा संयुक्त अनुगमन थाल्न लागिएको बताए ।

‘हामीले ग्यास बिक्री भएको स्थानमा अनुगमनमा जाँदैछौ । केही स्थानमा बिक्री भइरहेको पाइएको छ,’ उनले भने, ‘उपभोक्ताले सजिलै ग्यास पाउने वातावरण बनाउनेछौ ।’  ग्यास बिक्रेतासम्म नपुगेको बारेमा नेपाल एलपी ग्यास उद्योग संघले भने अस्विकार गरेको छ ।

‘चार वटा कम्पनीको मात्रै ग्यास नभएको हो । यो वाहेक अरु कम्पनीको ग्यास तोकिएको स्थानमा बिक्री भइरहेको छ,’ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘उपभोक्तालाई सहज ग्यास दिलाउन भएको संयन्त्रलाई सहयोग गरिरहेका छौ ।’