अरुण कावेलीको वित्तीय श्रोत जुट्यो, ३ बर्षभित्र आयोजना सञ्चालन, १०% सेयर प्रभावितलाई

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
अरुण कावेलीको वित्तीय श्रोत जुट्यो, ३ बर्षभित्र आयोजना सञ्चालन, १०% सेयर प्रभावितलाई
मनोज सत्याल/बिजमाण्डू
काठमाडौं । कावेल-बी १ को वित्तीय स्रोतको टुङ्गो लागेको छ । २५ मेगावाट क्षमताको आयोजनाका लागि ६ वटा बैंक र एक सरकारी कम्पनीले ऋण लगानी गर्ने टुङ्गो बुधबार लागेको हो ।


 
पाँचथर र ताप्लेजुङमा निर्माणस्थल रहेको आयोजना जलविद्युत् विकासकर्ता गुरुप्रसाद न्यौपानेको हो । बैंकहरुसँगको ऋण सम्झौतापत्रमा आयोजनाका तर्फबाट न्यौपाने र बच्छराज तातेड र बैंकका प्रमुख कार्यकारीहरुले हस्ताक्षर गरेका छन् ।
 
कुल चार अर्ब रुपैयाँको आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा नबिल, एभरेष्ट, ग्लोबल आइएमइ बैंक, लक्ष्मी, प्रभु र बैकले लगानी गरेका छन् । बैंकहरुले कुल दुई अर्ब ८० करोड रुपैयाँ लगानी गर्न लागेका हुन् । सेयरधनीका तर्फबाट आयोजनामा एक अर्ब २० करोड रुपैयाँ लगानी गरिने छ ।
 
आयोजनामा इन्भेष्टमेन्ट बैंकले ६० करोड, नबिलले ५५ करोड, एभरेष्ट र ग्लोबल आइएमइले ५०/५० करोड, लक्ष्मीले २५ करोड, प्रभु बैंक र जलविद्युत् लगानी विकास कम्पनी लिमिटेडले २०/२० करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । जलविद्युत् लगानी विकास सरकारी स्वामित्वको कम्पनी हो ।
 
कम्पनीले सेयर लगानी वापतको एक अर्ब २० करोड रकमबाट १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका वासिन्दा र २५ प्रतिशत सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्ने छ । कम्पनीले नेपाल धितोपत्र वोर्डबाट स्वीकृति दिएपछि यि सेयरहरु बिक्री गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर विक्री गरिने छ ।


 
आयोजनाको निर्माण क्षेत्र पाँचथरको नागी र थर्पु गाविस तथा ताप्लेजुङको सब्लाखु, थुम्वेदिन र चाक्सीवोटे गाविसमा पर्छ । तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । 
 
गुरुप्रसाद न्योपाने समूहले प्रत्येक पाँच बर्ष एउटा/एउटा आयोजना देशलाई दिने जनाएको छ । कम्पनीले पहिले साढे आठ मेगावाटको एपी पावर अन्तर्गतको नौगाड, दोस्रोमा २५ मेगावाटको कावेली, तेस्रोमा ९.९ मेगावाटको  इवा खोला, चौथोमा ९.७ मेगावाटको अपर इवा र आठ मेगावाटको अपर नौगाड आयोजना राज्यलाई दिने जनाएको छ । कम्पनीले त्रीशुली गल्छी आयोजना निर्माण गर्ने पनि योजना बनाएको छ । 
 
कावेली अरुण भ्यालीको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।  कावेलीका लागि कर्मचारी आवास गृहको निर्माण भइरहेको छ । आवश्यक  जग्गा खरीद गर्ने कार्य सम्पन्न भइसकेको कम्पनी सचिव जयराम भट्टराईले जानकारी दिए ।

Tata
GBIME
Nepal Life