एभरेष्ट, एनबी, इन्भेष्टमेन्ट र एनएमबीको नाफामा बृद्धि, एनबी र एनएमबी बैंकको पुँजीकोष खुम्चियो

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
काठमाडौं । एभरेष्ट, नेपाल बंगलादेश (एनबी), नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैंकले चालु आर्थिक बर्षको पहिलो छ महिनामा नाफा बढाएका छन् । बिहीबार आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै चार बैंकले नाफा बढेको जनाएका छन् ।
 
एभरेष्ट बैंकले खुद नाफा नौं करोड २१ लाख रुपैयाँले बढाएर ७७ करोड १२ लाख रुपैयाँ पुर्याएको हो । बैंकले आठ करोड रुपैयाँ खुद ब्याज आम्दानी बृद्धि गरेको छ भने साढे दुई करोड रुपैयाँ डुबेको ऋण उठाएको छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ३८ करोड रुपैयाँ गरेको छ ।
 
बैंकसँग सर्वसाधारणको निक्षेप  ७० अर्ब रुपैयाँ नाघेको छ भने कर्जा लगानी ५४ अर्ब ७० करोड रुपैयाँ गरेको छ । बैंकले चार करोड ३० लाख रुपैयाँ सम्भावित नोक्शानी व्यवस्था गरेको छ । 
 
बैंकको पुँजी कोष अनुपात ११.५४ प्रतिशत र खराव कर्जा अनुपात ०.६५ प्रतिशत छ । बैंकको आधार ब्याज दर ६.०१ प्रतिशत र स्प्रेड दर ४.५७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी  साढे ७६ रुपैयाँ पुगेको छ ।
 
यसैगरी एनबी बैंकको नाफा ६ करोड रुपैयाँले बढेर ३३ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद ब्याज आम्दानी ३८ करोडबाट बढाएर ४६ करोड २२ लाख रुपैयाँ पुर्याएका कारण नाफामा बृद्धि देखिएको हो । साथै साढे सात करोड रुपैयाँ डुबेको ऋण उठाकाले पनि नाफामा बढोत्तरी भएको हो ।
 
बैंकले यो अवधिमा चार करोड रुपैयाँ सम्भावित नोक्शानी व्यवस्थामा छुट्याएको छ । बैंकको शुल्क तथा कमिसन र अन्य आम्दानीहरु पनि बढेका छन् । बैंकसँग सर्वसाधारणको  २७ अर्ब २० करोड निक्षेप छ भने कर्जा लगानी २३ अर्ब ६८ करोड रुपैयाँ गरेको छ । 
 
बैंकको पुँजी कोष अनुपात ११.६१ प्रतिशतबाट खुम्चिएर १०.७२ प्रतिशतमा झरेको छ । बैंकको खराव कर्जा पनि १.५ प्रतिशतबाट घटेर १.२६ प्रतिशतमा आएको छ । बैंकको आधार दर ७.९ प्रतिशत र स्प्रेड दर ४.२१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २७.२४ रुपैयाँ छ ।
 
यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक र समूहको नाफा जम्मा साढे दुई करोड रुपैयाँले बढेको छ । बैंकले चालु बर्षको पहिलो ६ महिनामा ९६ करोड ५४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी खासै बृद्धि नभएको र ठूलो रकम संभावित नोक्शानी व्यवस्थामा छुट्याउनु परेका कारण नाफामा ठूलो सुधार नदेखिएको हो ।
 
बैंकको खुद ब्याज आम्दानी दुई करो १८ लाख रुपैयाँले मात्र बढेको छ । सम्भावित नोक्शानी व्यवस्था वापत ३६ करोड ३७ लाख रुपैयाँ छुट्याउनु परेको छ । यद्यपी बैंकले डुबेको ऋणमध्ये ३६ करोड ८२ लाख रुपैयाँ ऋण भने उठाएको छ । 
 
बैंकसँग सर्वसाधारणको करिव ८० अर्ब निक्षेप र ६४ अर्ब कर्जा लगानी छ । बैंकको पुँजी कोष अनुपात ११.९२ प्रतिशत र खराव कर्जा अनुपात १.१३ प्रतिशत छ । बैंकको आधार दर ६.०७ प्रतिशत र स्प्रेड दर ४.५४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी साढे ४० रुपैयाँ छ । 
 
यसैगरी एनएमबी बैंक र समूहको खुद नाफा सात करोड ७० लाख रुपैयाँले बढेर २८ करोड नौं लाख रुपैयाँ पुगेको छ । बैंकले खुद ब्याज आम्दानी १५ करोड २५ लाख रुपैयाँले बढाएका कारण नाफामा बृद्धि देखिएको हो । बैंकले खुद ब्याज आम्दानी ५२ करोड २३ लाख रुपैयाँ गरेको छ । 
 
बैंकले डुबेको मध्ये एक करोड ६६ लाख रुपैयाँ ऋण उठाएको छ । यद्यपी चार करोड २९ लाख रुपैयाँ सम्भावित नोक्शानीका लागि पनि छुट्याएको छ । बैंकको कसिमन तथा शुल्कको आम्दानीमा पनि बृद्धि भएको छ ।
 
बैंकसँग सर्वसाधारणको २८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप छ भने २३ अर्ब ३१ करोड कर्जा लगानी गरेको छ । बैंकको पुँजी कोष अनुपात ११.३६ प्रतिशतबाट खुम्चिएर १०.३७ प्रतिशतमा झरेको छ । बैंकको खराब कर्जा अनुपात ०.६ प्रतिशतमा झरेको छ ।
 
बैंकको आधार दर ७.४४ प्रतिशत र स्प्रेड दर ४.२१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी सढो २२ रुपैयाँ छ । 

Tata
GBIME
Nepal Life