सात अंकले बढेको सेयर बजार ओरालो लागेर बन्द, इन्भेष्टमेन्ट बैंकको मात्रै २९ करोडको कारोबार

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
सात अंकले बढेको सेयर बजार ओरालो लागेर बन्द, इन्भेष्टमेन्ट बैंकको मात्रै २९ करोडको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक विहीबार उतारचढाव पूर्ण रह्यो। कारोबार भएको समयमा झण्डै सात अंकले बढेको नेप्से एक अंकले घटेर बन्द भयो। विहीबार नेप्से एक दशमलव ४१ अंकले घटेर नौसय ८६ अंकमा आइपुगेको छ।

Tata
GBIME
Nepal Life

अन्य समूहको सूचकमा कुनै परिवर्तन नभएको दिन बैंकिङ, विकास बैंक, बीमा र उत्पादन समूहका लगानीकर्ताले गुमाएका छन् भने होटेल, जलविद्युत र फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन्।

विहीबार एकसय ४३ कम्पनीका १८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएका छन्। कूल तीनहजार २७ कारोबारबाट ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

विहीबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर किनबेच भएको छ। राष्ट्रिय वाणिज्य बैंकले केही समय अगाडि बेचेको इन्भेष्टमेन्ट बैंकको २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गर्ने चर्चासँगै दुवै बैंकको सेयर कारोबार पनि धेरै भएका छन्। विहीबार प्रभु र ग्राण्ड दुवैको तीन/तीन करोड रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भएको छ।

यस्तै नेपाल बंगलादेश बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, सेन्चुरी कमर्सियल बैंक पनि धेरै कारोबार हुनेको सूचीमा अगाडि रहे। यस्तै सोल्टी होटल चिलिमे हाइड्रोपावर र ग्लोवल आइएमई बैंक पनि धेरै कारोबार हुने कम्पनीको सूचीको अगाडि रहेका छन्।

विहीबार हामा मर्चेन्ट एन्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस्तै राष्ट्रिय बीमा संस्थानका संस्थापक सेयर धनीले पनि धेरै कमाएका छन्। जेबिल्स फाइनान्स, पश्चिमाञ्चल विकास बैंक, सिन्धु विकास बैंक तथा सिभिक डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि धेरै कमाएका छन्।

विहीबार माउन्ट मकालु विकास बैंक, कन्काई विकास विकास बैंक, सहारा विकास बैंक, मुक्तिनाथ विकास बैंकका लगानीकर्ताहरु धेरै गुमाउनेको सूचीमा अगाडि रहे।

विहीबार वाणिज्य बैंकको सूचक एक दशमलव २६ अंकले घटेको छ। यस्तै सबैभन्दा धेरै बीमाको सूचक घटेको छ। बीमाको सूचक २२ अंकले घटेको छ। होटेल समूहको सूचक तीन अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।