राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु, मन्त्री भन्छन्, ‘युवा आकर्षित गर्ने कार्यक्रम ल्याइएको छ’

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु, मन्त्री भन्छन्, ‘युवा आकर्षित गर्ने कार्यक्रम ल्याइएको छ’

काठमाडौं । पोखरामा आठौं राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको छ । इलामदेखि कर्णालीसम्मका किसान सहभागी भएको महोत्सवको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले उदघाटन गरे ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा मन्त्री पराजुलीले दीगो आर्थिक विकासका लागि प्रांगारिक खेती नै उत्तम विकल्प भएकाले अहिले उपभोक्ता पनि सचेत हुँदै गएकाले यसको भविष्य उज्ज्वल रहेको बताए । युवालाई आकर्षित गर्न सरकारले विभिन्न कार्यक्रम ल्याएको भन्दै यसले विदेशिने क्रम रोकिने उनले विश्वास व्यक्त गरे ।

क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि व्यावसाय प्रवद्र्धन कार्यक्रमको संयुक्त आयोजित मेलामा एकसय २० वटा स्टल छन् । महोत्सव विहीबारदेखि आइतबारसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने छ ।
 
कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले नेपालमा मात्रै नभएर विश्वमै अहिले प्रांगारिक लहर छाएको बताए । प्रांगारिक कृषि प्रणाली अपनाउन किसानलाई जागरुक बनाउने, उपभोक्तामासमेत प्रांगारिक उत्पादनबारे सचेत गराउन महोत्सव गरिएको उनले बताए ।

मेलामा प्रांगारिक कृषि गीत प्रतियोगिता, प्राविधिक सूचना एव प्रस्तुतीकरण, विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, जेटिए र बुढी आमाको प्रहसनलगायतको कार्यक्रम रहेको क्षेत्रीय कृषि निर्देशनालयका प्रसार अधिकृत खेमनारायण चापागाईंले बताए ।

मेलामा कृषक, कृषि सहकारीकर्मी तथा कृषि प्रविधिसँग सम्बन्धित उद्योगी, व्यवसायी, विद्यालय, क्याम्पस  तथा विश्वविद्यालयका विधार्थी एवं सोधकर्ताहरु, सरकारी एवं गैरसरकारी संघसस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

मेलामा प्रांगारिक  कृषि बस्तुहरुको खरिद विक्री, बाली उपचार शिविर, घुम्ती माटो परीक्षण शिविर, प्रांगारिक  कृषि सूचना केन्द्र, ख्यातिप्राप्त राष्ट्रिय कलाकारबाट प्रांगारिक  कृषि सम्बन्धि सास्कृतिक कार्यक्रम संचालन गरिएको छ ।