चेक स्टल हवाईजहाजको नेपालमा एजेन्सी नियुक्त, छोटो धावनमार्गमा नै उडान तथा अवतरण गर्न मिल्ने

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
काठमाडौं । छोटो धावनमार्गमा नै उडान तथा अवतरण  (सर्ट टेक अफ एण्ड ल्यान्डिङ्ग) गर्न मिल्ने स्टल हवाईजहाजहरु अब नेपालमा आउने भएको छ ।

Tata
GBIME
Nepal Life

लेट एयरक्राफ्ट इन्डस्ट्रिज अफ चेक रिपब्लिकको उत्पादन यी स्टल जहाजहरुको औपचारिक एजेन्सी नेपाल स्थित भिआर होल्डिङ्गसले लिएको छ । बिहीबार भएको एजेन्सी हस्ताक्षर कार्यक्रममा चेक गणतन्त्रका उद्योग तथा व्यापार मन्त्री यान म्लाँडेकको उपस्थिति थियो ।

लेट एयरक्राफ्ट ईन्डस्ट्रिज अफ चेक रिपब्लिक, चेक गणतन्त्रको एक मात्र स्टल जहाज बनाउने कम्पनी हो । जसले विभिन्न प्रकारका जहाज उत्पादनमा ८० वर्ष भन्दा लामो इतिहास बोकेको छ । यो कम्पनीले हाल सम्म एघारसय भन्दा धेरै स्टल एयर क्राफ्टहरु निर्माण गरिसकेको छ ।

यी उत्कृष्ट जहाजहरु उच्चतम प्रविधिमा आधारित, अत्याधिक सुरक्षित र बलियो हुने कम्पनीको दाबी छ । लेट एयरक्राफ्ट इन्डस्ट्रिज अफ चेक रिपब्लिकले नेपालमा एलफोवानजेरो मोडेलको स्टल जहाजको लागि एजेन्सी नियुक्त गरेको हो ।

एलफोवानजेरो लेट जहाजहरु छोटो रनवे बाट टेक अफ गर्न र ल्यान्डिङ्ग गर्न बढी उपयोगी जहाज हो । नेपाल जस्तो भौगोलिक विविधता र डरलाग्दा पहाड, भिरालो र असहज परिस्थितिमा पनि सहजताका साथ यो जहाजले कार्य दक्षता देखाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।

यो मोडलको जहाजमा सामान्य भन्दा बढी उचाईमा पनि समस्या नआउने प्रविधि जडान गरिएको छ । नेपालको उड्ययन क्षेत्रमा यो मोडलको स्टल जहाजले नयाँ आयामा थप्ने विश्वास गरिएको छ । छोटो र आन्तरिक उडानका लागि उपयोगी यो जहाजमा १९ सिट क्षमता रहेको छ ।

चेक गणतन्त्रका म्लाँडेक नेपालमा ३० जनाको प्रतिनिधि टोली सहित औपचारिक भ्रमणमा छन् ।