चेक गणतन्त्रका वाणिज्य मन्त्री म्लाडेक काठमाडौंमा, द्विपक्षीय व्यापार वृद्धि गर्न सकारात्मक

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
चेक गणतन्त्रका वाणिज्य मन्त्री म्लाडेक काठमाडौंमा, द्विपक्षीय व्यापार वृद्धि गर्न सकारात्मक

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
चेक गणतन्त्रका उद्योग तथा वाणिज्य मन्त्री जान म्लाडेकको नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलको स्वागत कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा मन्त्री थापाले चेक उद्योग तथा व्यापार मन्त्रीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलको भ्रमणले दुई देशबीचको आर्थिक र जनस्तरको सम्वन्धको विकासमा थप योगदान पुर्‍याउने बताए । थापाले नेपालमा कृषि, पयर्टन, पूर्वाधार, प्राविधिक शिक्षामा गणतन्त्र चेकको लगानीको अपेक्षा गरिएको पनि बताए । नेपालबाट उत्पादित सामानहरुको बजार विस्तारमा सहयोग गर्न चेक सरकार र उद्यमी व्यवसायीहरुलाई उनले आग्रह गरे ।

कार्यक्रममा चेक गणतन्त्रका उद्योग तथा व्यापार मन्त्री जान म्लाडेकले आफ्नो नेपाल भ्रमणले नेपाल–चेक दुई देशबीचको आर्थिक सम्वन्ध विस्तार फलदायी हुने भन्दै दुई पक्षीय लगानी तथा आर्थिक विस्तारका लागि नेपाल सरकारसँगको छलफल तथा सम्झौता प्रभावकारी हुने बताए । दुई देशबीचको आर्थिक तथा जनस्तरको सम्बन्ध विकासका लागि दुई देशका निजी क्षेत्रले भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भ्रमण प्रतिनिधिमण्डललाई स्वागत गर्दै भूपरिवेष्ठित दुई मुलुकहरुले आर्थिक क्षेत्रका साझा सवालहरुमा मिलेर काम गर्नु पर्ने बताए । श्रेष्ठले चेक गणतन्त्रले गरेको आर्थिक तथा भौतिक उपलब्धीलाई नेपालको ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, खनिज तथा खनिजजन्य उद्योगमा लगानी गरी फाइदा लिन अनुरोध गरे ।

श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र चेक चेम्बर अफ कमर्सबीच विहीबार सम्पन्न समझदारीपत्रमा भएको हस्ताक्षरले दुई मुलुकबीचको निजी क्षेत्र एवं जनस्तरको सम्बन्ध विकास गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले व्यापार मेलाहरुको आयोजना, भ्रमण प्रतिनिधिमण्डलहरुको आदान प्रदानले दुई देशको सम्बन्ध अझै प्रगाढ हुने बताए ।

कार्यक्रममा नेपालका लाािग गणतन्त्र चेकका राजदूत मिलोस्लाभ स्टासेकले नेपाल–चेकबीचको आर्थिक विकासमा आफूले अधिकतम प्रयासरत रहने बताए ।

कार्यक्रममा चेक चेम्वर अफ कमर्सका उपाध्यक्ष बोरी बोझले दुई देशका आर्थिक सम्बन्ध विस्तारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुमा जोड दिए । उनले चेकका लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्स र चेक चेम्वर अफ कमर्सबीच दुई देशको आर्थिक तथा निजी क्षेत्रको विकासमा सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर हुनुका साथै गणतन्त्र चेकको विभिन्न २३ क्षेत्रका उद्यमी व्यवसायी र नेपालका उद्यमी व्यवसायीहरु विच बिजनेश टु बिजनेश ‘वि टु वि’ मिटिङ आयोजना गरी आर्थिक तथा लगानी क्षेत्र पहिचानका सम्बन्धमा छलफल भएको थियो ।