प्रभुको नाफा ५४ करोड रुपैयाँ पुग्यो, स्प्रेडका कारण एनआइसी एसियाको नाफा अढाइ करोडले घट्यो

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनमा प्रभु बैंकले नाफा बढाएको छ भने एनआइसि एसिया बैंकको नाफा घटेको छ । प्रभु बैंकले नाफा ५४ करोड रुपैयाँ पुर्याएको छ ।
 
अघिल्लो बर्षको पुसमा १९ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको प्रभु बैंकको नाफा एक बर्षमै ५४ करोड रुपैयाँ पुगेको हो । डुबेका ऋणहरु उठ्न थालेका कारण बैंकको नाफामा बृद्धि भएको हो ।
 
बैंकले डुबेका ऋणमध्ये ८१ करोड ९८ रुपैयाँ राइट ब्याक गरेको छ । यद्यपी साढे ५० करोड रुपैयाँ नोक्शानी व्यवस्था पनि बैंकले गरेको छ । बैंकको खुद ब्याज आम्दानी पनि ३५ करोड ५४ लाख रुपैयाँबाट बढेर  ६९ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
 
पुससम्म बैंकको खराव कर्जा अनुपात १७.५४ प्रतिशतबाट झरेर १०.८६ प्रतिशतमा आएको छ । साथै पुँजी कोष अनुपात केही बढेर ११.१४ प्रतिशत पुगेको छ । बैंकसँग सर्वसाधारणको ३३ अर्ब १६ करोड रुपैयाँ निक्षेप र २७ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी छ ।
 
बैंकको आधार दर ७.७९ प्रतिशत छ भने स्प्रेड दर ६.०५ प्रतिशत छ । स्प्रेड दर राष्ट्र बैंकले तोकेको पाँच प्रतिशतभन्दा वढी हो । 
 
यसैगरी एनआइसी एसिया बैंकको नाफा दुई करोड ४७ लाख रुपैयाँले घटेको छ । बैंकले पुसम्म ३६ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
 
बैंकको खुद ब्याज आम्दानी घटेको र नोक्शानी व्यवस्थामा रकम राख्नु परेकाले नाफा घटेको हो ।

Tata
GBIME
Nepal Life

बैंकको खुद ब्याज आम्दानी चार करोड १६ लाख रुपैयाँले घटेर  ८१ करोड ५० लाखमा सीमित भएको छ । बैंकले यो अवधिमा नोक्शानी व्यवस्था वापत १७ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ ।

 
बैंकसँग सर्वसाधारणको  ४८ अर्ब निक्षेप र ३९ अर्ब ४० करोड कर्जा लगानी छ । बैंकको स्प्रेड दर ५.७९ प्रतिशतबाट ३.६३ प्रतिशतमा झरेका कारण नाफा घटेको हो । बैंकको आधार दर ७.७८ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँभन्दा वढी छ ।