अबदेखि चेक क्लियरिङमा पैसा लाग्ने, चेक फिर्ता भएमा पनि जरिवाना, पाँचदेखि सय रुपैयाँसम्म शुल्क

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015
काठमाडौं । अबदेखि चेक राफसाफ (क्लियरिङ) गर्दा पनि शुल्क लाग्ने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) लाई बुझाउनु पर्ने शुल्क ग्राहकबाटै उठाउन पाइने व्यवस्था राष्ट्र बैंकले गरेको भन्दै नेपाल बैंकर्स संघले चेक राफसाफ बापत शुल्क लिने व्यवस्था गरेको हो ।


 
संघका अनुसार, पाँच सय रुपैयाँसम्मको चेकका लागि शुल्क लाग्दैन । पाँच सय देखि पाँच हजार रुपैयाँसम्मको चेकका लागि पाँच रुपैयाँ, पाँच हजारभन्दा माथिका चेकमा १० रुपैयाँ शुल्क लाग्ने छ ।

यसैगरी विदेशी मुद्राको चेकमा १५ रुपैयाँ, स्पेशल क्लियरिङ चेकमा एक सय रुपैयाँ र चेक फिर्ता भएमा एक सय रुपैयाँ लाग्ने संघले जनाएको छ । संघले राष्ट्र बैंकको पुस ११ गतेको परिपत्रलाई हवाला दिँदै शुल्क लाग्ने व्यवस्था गरेको हो ।
 
क्लियरिङ हाउस स्थापनका बेला विवाद हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्राहकसँग पैसा नलिनु भनेर निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार अहिलेसम्म पनि बैंकहरुले चेक राफसाफमा अतिरिक्त शुल्क लिन छाडेका थिए । राष्ट्र बैंकले एक महिनाअघि निर्देशन जारी गर्दै खर्च हुनेभन्दा वढी शुल्क लिन नपाउने व्यवस्था गरेपछि बैंकहरुलाई चेक राफसाफमा पैसा लिन सजिलो भएको हो ।


 
‘क्लियरिङ हाउसले जति पैसा लिन्छ त्योभन्दा वढी बैंकले नलिउन् भनेर निर्देशन दिएका हौं,’ राष्ट्र बैंकको प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, ‘यसबाट शुल्कमा एकरुपता पनि आउने छ ।’ 

Tata
GBIME
Nepal Life