टेलिफोनमा भारतीय प्रधानमन्त्री मोदीको ‘वादा’ले काम गर्यो, नेपाल फोन गर्दा शुल्क आधा सस्तियो

बिजमाण्डू
२०७१ माघ १७ गते ००:०० | Jan 31, 2015
टेलिफोनमा भारतीय प्रधानमन्त्री मोदीको ‘वादा’ले काम गर्यो, नेपाल फोन गर्दा शुल्क आधा सस्तियो


कञ्चन अधिकारी/बिजमान्डू
काठमाडौ । भारतबाट नेपालमा हुने टेलिफोन कल आधा सस्तो भएको छ । चार महिनाको लामो प्रयासपछि भारतबाट नेपाल कलको ट्यारिफ(शुल्क) आधा सस्तो भएको छ । भारतबाट नेपाल कल गर्दा अब नौ रुपैयाँ ६० पैसा लाग्छ । भारतका केही कम्पनीले ८ रुपैयाँसम्म शुल्क झारेका छन् ।

Tata
GBIME
Nepal Life

यसअघि भारतबाट नेपालको टेलिफोन शुल्क १९ रुपैयाँ २० पैसा थियो । नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा संबोधन गर्दै नेपाल–भारतवीचको टेलिफोन शुल्क महँगो भएको भन्दै घटाउन आग्रह गरेका थिए । नेपालबाट भारत कल गर्दा तीन रुपैयाँ मात्रै लाग्छ ।

‘भारतबाट नेपाल कल गर्दा आधा सस्तो भएको छ,’ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बिजमान्डूसँग भने, ‘लामो प्रयासपछि टेलिफोन शुल्क घटेको छ । यसले भारतमा रहेका नेपालीलाई सहयोग पुग्नेछ ।’ यो निर्णयले भारतमा रहेका तीस लाख नेपालीलाई राहत हुनेछ ।

उनले आफू आउनेवितिकै दुई देशवीचको टेलिफोन शुल्क घटाउन लागेको बताउँदै केही प्राविधिक कारणले धेरै समय लागेको जानकारी दिए ।

‘नेपालका कम्पनीलाई लिएको टर्मिनेसन चार्ज घटाउन आग्रह ग¥र्यौ’ झाले भने, ‘नेपाली कम्पनी राजी भएपछि भारतीय कम्पनीलाई समेत शुल्क घटाउन आग्रह भयो । यसले भारतबाट कल सस्तिएको हो ।’

नेपालबाट हुने कललाई भारतले टर्मिनेसन चार्ज कम राखेकोले सस्तो भएको हो । भारतीय कम्पनीले नेपालबाट जाने कलमा एक रुपैयाँ मात्रै टर्मिनेसन चार्ज लिएका छन् जबकी नेपाली कम्पनीले कलको ६ रुपैयाँसम्म टर्मिनेशन चार्ज लिएका थिए । उनका अनुसार टर्मिनेसन चार्ज केही घटेको छ ।

यो वाहेक भारतीय कम्पनीले कल चार्ज(शुल्क) पनि नेपाली कम्पनीले भन्दा बढी लिएका छन् । भारतीय कम्पनीले कल चार्ज १२ रुपैयाँ भारु लिएका थिए । जबकीनेपाली कम्पनीले दुई रुपैयाँ मात्रै लिएका छन् । झाका अनुसार भारतीय कम्पनीले पनि आफनो शुल्क घटाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सार्क भ्रमणको क्रममा टेलिफोन शुल्क घटाउन नेपाली पक्षले सहयोग नगरेको भन्दै आलोचना गरेका थिए । तर झा भने प्राविधिक कारणले तत्कालै शुल्क घट्न नसकेको बताउँदै दुवै पक्षका कारणले शुल्क घटाउन ढिलाई भएको बताए ।
 
‘भारतबाट आउने कललाई नेपालका दूरसञ्चार कम्पनीले बढी टर्मिनेसन चार्ज राखेका छन्,’ उनले भने, ‘यो टर्मिनेसन चार्ज घटाउने बारेमा कम्पनीलाई कन्भिन्स गर्न समय लागेको हो । यो वाहेक भारतीय कम्पनीले शुल्क घटाउन केही समय लगाएकोले समय लागेको हो ।’ भारतीय कम्पनीले शुल्क घटाए पनि केही शर्त राखेका छन् ।

‘भारतीय कम्पनीले कल गर्दा विभिन्न शर्त राखेका छन् । ती शर्तहरुमा हामीले असन्तोष जनाएका छौ,’ उनले भने, ‘हामीले सबै कम्पनीलाई एउटै दर गर्न समेत भनेका छौ ।’