भारतमा प्रमुख कार्यकारीको तलवमा १० प्रतिशत बृद्धि, साना कर्मचारीको तलव पनि ६०% सम्म बढ्दै

बिजमाण्डू
२०७१ माघ २२ गते ००:०० | Feb 5, 2015
भारतमा प्रमुख कार्यकारीको तलवमा १० प्रतिशत बृद्धि, साना कर्मचारीको तलव पनि ६०% सम्म बढ्दै
न्युदिल्ली । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को तलवमा २०१५ मा १० प्रतिशतको बृद्धि हुने भएको छ । भारतीय सञ्चार माध्यमहरुले उदृत गरेको एक रिपोर्टका अनुसार, सिइओ तथा प्रबन्ध निर्देशकको तलव १०.२ प्रतिशत र प्रबन्धकहरुको तलव १०.५ प्रतिशतले बढ्ने छ ।
 
वैश्विक प्रबन्ध परामर्श समूहले जारी गरेको रिपोर्ट अनुसार, अघिल्लो बर्षको तुलनामा यसपाली बढ्न लागेको तलव सुविधा झिनो हो । प्रबन्धकहरुको तलव भने अघिल्लो बर्षको तुलनामा ठूलो आकारमा वढ्न लागेको हो ।
 
रिपोर्टका अनुसार, पछिल्ला दिनहरुमा तलवभन्दा अन्य सुविधाहरु कम हुँदै गएको छ । कम्पनीले सुविधालाई रकममै उपलब्ध गराउन थालेकाले अन्य सुविधाको मात्राहरु कम हुन थालेको हो । ‘आर्थिक सुचकांकहरु सकारात्मक छन्, स्थिर सरकार भएका कारण लगानी बृद्धिले प्रतिफलमा पनि सुधार आउने छ,’ रिपोर्टमा छ, ‘त्यही भएर बरिष्ठ कर्मचारीहरुको तलव सुविधा यो बर्ष पनि फेरि बढ्ने छ ।’
 
अर्कोतर्फ आम कर्मचारीहरुको तलव पनि ६० प्रतिशतसम्म बढ्ने देखिएको छ । एक्जुकेटिभ सर्च फोरमले जारी गरेको प्रतिवेदनका अनुसार, प्रतिभाशाली कर्मचारीहरुको तलव सुविधामा उच्चस्तरको वढोत्तरी हुन लागेको हो । 
 
स्थिर सरकारसँगै आर्थिक सुधार हुन थालेकाले कम्पनीहरुको कारोबार र नाफा बढ्न थालेको छ । कर्मचारीलाई खुसी नपारीकन कम्पनीले थप बृद्धि गर्न नसक्ने भन्दै कम्पनीहरुले आफ्नो प्रतिभाशाली कर्मचारीको तलव ६० प्रतिशतसम्म बढाउँदैछन्, रिपोर्टमा छ । 

Tata
GBIME
Nepal Life