यी कारणले राेक्नु पर्‍यो सुमार्गीले ल्याएको साढे तीन अर्ब रुपैयाँ

बिजमाण्डू
२०७१ फागुन ३ गते ००:०० | Feb 15, 2015
यी कारणले राेक्नु पर्‍यो सुमार्गीले ल्याएको साढे तीन अर्ब रुपैयाँ

काठमाडौं ।  नेता र शक्तिकेन्द्रसँग नजिकिएका कारण विवादमा आउने अजयराज पराजुली (सुमार्गी) को मुक्तिश्री समूहका नाममा आएको साढे तीन अर्ब रुपैयाँ भुक्तानी नदिएको बारे पछिल्लो समयमा निकै चर्चा भइरहेको छ।
 
ब्रिटिस भर्जिन आइल्यान्ड नामको बेलायती नियन्त्रणमा रहेको टापु राष्ट्रबाट उनले ल्याएको रकम किन भुक्तान भएन त?  
 
गभर्नर युवराज खतिवडाले आइतबार अर्थ समितिमा यसबारे प्रष्ट पारे। ‘म नाम लिन चाहन्न’ भन्दै उनले सुमार्गी उच्चारण पनि नगरी भने, ‘विदेशबाट पैसा ल्याउने विषयमा कुनै व्यक्ति वा कम्पनीले औपचारिक/अनौपचारिक रुपमा फास्ट ट्रयाक अपनाइरहेको भन्ने सुनियो।’
 
उनले रकम रोकेर लगानी भित्रिन नदिनुका पाँच कारण यस्तो बताए –
१) कानुनभन्दा माथि कोही छैन
लगानी भन्ने बित्तिकै रातो कार्पेट ओछ्याएर स्वीकार गर्नै पर्छ र त्यो आइसकेपछि पनि हामीले स्वीकार गरिदिनुपर्छ भन्ने मान्यता राखेर व्यवसाय गर्नेहरुलाई मेरो अनुरोध के हो भने हामी कानुनी राज्यमा कानुनको पालना गरौँ  र कानुनभन्दा माथि कोही पनि छैनौँ।
 
२) प्रक्रिया पूरा भएको छैन
हामीले लगानी प्रवर्द्धन गर्ने हो तर प्रवर्दधन गर्ने भनेको कानुनविहीन रुपमा होइन। त्यसैले सुरुमा उद्योग विभागबाट कम्पनी दर्ता गर्नुपर्‍यो। सीमाभन्दा बढीको पूँजी रहेछ भने औद्योगिक प्रवर्दधन बोर्डबाट स्वीकृत गराउने र राष्ट्रबैँकको स्वीकृति लिने र लगानीलाई अगाडि बढाउने गर्नुपर्‍यो। यो प्रक्रिया पालना गर्नुपर्नेमा केही संस्था र केही कम्पनी र केही व्यक्तिले त्यो पालना गर्नुभएको छैन।
 
३) केका लागि लगानी, उद्योग दर्ता छैन
प्रक्रिया नपुर्‍याएको हुनाले हामीले के भनेका छौँ भने तपाईँले पैसा लगानी त लिएर आउनु भयो तर त्यो कुन उद्योगको लागि भन्ने स्पष्ट छैन। र, तपाईँको उद्योग दर्ता भएको पनि देखिएको छैन। त्यो उद्योगलाई नेपाल सरकारको कुनै पनि निकायबाट स्वीकृति दिएको देखिएको छैन। त्यसैले वैध राख्नुपर्‍यो, व्यवस्थित राख्नुपर्‍यो। राष्ट्र बैँकले मौखिक कुरा गर्दैन। राष्ट्र बैँकले उद्योग विभागमा कम्पनी नै दर्ता नभई लगानी स्वीकार गर्न सकिन्न भनेर भनेको छ। कानुनी राजका लागि यस्ता काम गर्नु सहज हुन्न। राष्ट्र बैँकले मोलाहिज गर्दैन।

Tata
GBIME
Nepal Life

४) दर्ता नभएको कम्पनीलाई ऋण पत्याउने कस्तो संस्था
दर्ता नभएको कम्पनीलाई ऋण पत्याएको देखियो। यस्तो कुन संस्था होला विदेशी ? खुल्दै नखुलेको कम्पनीलाई ऋण पत्याउने विदेशी संस्था के हो, कस्तो हो भन्नेबारे हामीले छलफल गर्नुपर्छ। सरकारले विदेशी ऋणमा आएको रकम केमा लगानी भइरहेको छ, कहाँ खर्च हुन्छ, हेर्नुपर्छ।  यस्तो रकम रकम शेयर वा घरजग्गामा लगानी भएको भए कस्तो स्थिति होला भन्ने डर छ। 
५) प्रत्यक्ष लगानीभन्दा ऋणमा कडाइ 
प्रत्यक्ष विदेशी लगानी हो भने पैसा आयो, लगानी भयो, उद्योग चल्यो त्यसलाई मुलुकले स्वभाविक रुपमा लिँदा पनि हुन्छ। त्यसलाई कानुनतः मिलाइदिने कुरा पनि हुन सक्दो हो। पछि सहमति दिँदा पनि हुने कुरा हो। तर ऋण भनेर ल्याइन्छ भने भोलि फिर्ता गर्नुपर्छ। त्यसैले त्यो कुन प्रयोजनका लागि खर्च गर्ने हो भन्ने जान्ने अधिकार राज्यको हुन्छ। ब्याज तिर्ने नाममा कर पनि नतिरी पूँजी पलायन हुने डर हुनसक्छ। लगानी भनेर ऋणको रकम ल्याएकोमा राष्ट्र बैँक अलि चनाखो हुन्छ। यसै सन्दर्भमा प्रत्यक्ष लगानीको रकम भन्दा ऋणको रुपमा ल्याएको रकममा अलि कडाइ गर्ने गरेका छौँ।