काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त विकास बैंकहरुले नाफाबाट वितरण गर्ने लाभांस कटौती गर्ने भएको छ । लघुवित्तहरुले सर्वसाधारणलाई अत्याधिक स्प्रेड दर राखेर कर्जा लगानी गरी उच्च नाफा आर्जन गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न लाभांसमा कटौती गर्न लागेको हो ।
‘हामीले ब्याज दर घटाउनुहोस् भनेर निकै लामो धार्मिक प्रवचन दिइसकेका छौं,’ मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै गभर्नर डा. युवराज खतिवडाले भने, ‘तर कसैले कान सुनेनन् । अब हामी निर्देशन नै ल्याएर लाभांसमा कटौती गर्छौं ।’
उनले बैंक तथा वित्तीय संस्थाहरुले पनि विगतमा ब्याज नघटाएका कारण स्प्रेड दर कार्यान्वयनमा ल्याउनु परेको उदाहरण प्रस्तुत गर्दै भने– अब हाम्रो नजर तपाईहरु (लघुवित्त संस्था) को लाभांसमा परेको छ । त्यसलाई हामी कटौती गर्छौ ।
गभर्नरले लघुवित्त संस्थाहरुले १५/१६ प्रतिशतको स्प्रेडमा काम गरिरहेको भन्दै त्यसलाई घटाउन आग्रहसमेत गरे । ‘बैंकहरुमा स्प्रेड दर लागू भएपछि पनि उहाँहरुको नाफामा असर परेन, नाफा वढेकै छ । स्प्रेड लागू भएपछि पनि नाफा बढाएकोमा उहाँहरुलाई बधाइ छ,’ गभर्नरले भने, ‘अब पालो लघुवित्तको आएको छ । लघुवित्तका लागि हामी केही न केही गर्छौं ।’
लगुवित्तको लाभांसकै कारण बजारमा यसको सेयर मूल्य उच्च हुने गरेको छ । लघुवित्तहरुले विगतमा नाफाबाट सय प्रतिशतसम्म लाभांस वितरण गरेका थिए । राष्ट्र बैंक स्प्रेड दर वा सोझै यतिभन्दा वढी लाभांस दिन नपाइने भन्ने निर्देशन दिएर लघुवित्तको ब्याज दर घटाउने पक्षमा छ ।











