तीन ठूला घराना मिलेर अन्तर्राष्ट्रिय ब्रान्डको वियर नेपालमै उत्पादन, चार बैंकसँग ऋण सम्झौता

बिजमाण्डू
२०७१ फागुन ८ गते ००:०० | Feb 20, 2015
तीन ठूला घराना मिलेर अन्तर्राष्ट्रिय ब्रान्डको वियर नेपालमै उत्पादन, चार बैंकसँग ऋण सम्झौता
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । तीन वटा ठूला व्यवसायिक घरानाहरु मिलेर अन्तर्राष्ट्रिय ब्रान्डको वियर नेपालमै उत्पादन गर्ने भएका छन् । गोल्छा, विशाल र एभरेष्ट समूह मिलेर यति ब्रुअरी प्रालि सञ्चालनमा ल्याउन लागेका हुन् ।


 
चितवनमा कारखाना रहने कम्पनीले स्वदेशी र विदेशी ब्रान्डका वियरहरु उत्पादन गर्नेछ । कम्पनी सञ्चालनका लागि चार वटा बैंकसँग ऋण सम्झौता भइसकेको छ । कम्पनीले चितवनमा आवश्यक पुर्वाधार निर्माणको काम सुरु गरिसकेको छ ।
 
कम्पनीमा गोल्छा समूहबाट हितेश गोल्छा, विशाल समूहबाट विशाल अग्रवाल र एभरेष्ट समूहबाट सञ्जिव सर्राफ सञ्चालक छन् । कम्पनीको व्यवस्थापन सर्राफले हेरिरहेका छन् । 
 
एक अर्ब २१ करोड रुपैयाँ लगानीमा सञ्चालन हुन लागेको वियर कम्पनीका लागि बैंकहरुले ८० प्रतिशत लगानी गरेका छन् । नेपाल बंगलादेश (एनबी) बैंकको नेतृत्वमा प्रभु बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् । 
 
आयोजनामा कुल ऋणमध्ये एनबीले ३६.०८ प्रतिशत, प्रभु बैंकले २०.६२ प्रतिशत, क्लिन इनर्जीले १७.५३ प्रतिशत र एनआइडिसीले २५.७७ प्रतिशत ऋण लगानी गर्ने छन् । ठूला घरानाका युवाहरु मिलेर एउटै निजी उद्योग सञ्चालन गरेको यो पहिलो पटक हो ।


 
कम्पनीले तीन चरणमा उत्पादन थाल्ने छ । पहिलो चरणमा थाइल्यान्डको टाइगर वियर र भारतको किङफिसर वियर उत्पादन गर्ने छन् । दोस्रो चरणमा स्थानीय ब्रान्डको यति वियर उत्पादन हुने छ । तेस्रो चरणमा हेनेकन, एमस्टेन र किङफिसर ब्लु वियर उत्पादन हुने छ । दुई बर्षभित्रै वियरहरु उत्पादन गरेर बजारमा ल्याउने कम्पनीको तयारी छ । 
 
कम्पनीको प्रारम्भिक क्षमता प्रति बर्ष एक लाख एचएल हुने छ । यसलाई बढाएर तीन लाख ६० हजार एचएल पुर्याउन सकिन्छ । 
 
केही समयअघि मात्रै तेजेन्द्र खड्का समूहले टेन्सवर्ग वियर उत्पादन थालिसकेको छ । कम्पनीले यसमा ७० करोड रुपैयाँ लगानी गरेको छ । 
 
यसवाहेक ब्लेन्डर प्राइड र रोयल स्ट्याग ह्विस्की उत्पादन गरिरहेको हिमालयन डिस्ट्रिलरीले जर्मन बियर उत्पादन गर्ने तयारी गरिरहेको छ । वारस्टेइनर वियर नेपाल भित्राउन हिमालयन डिस्ट्रिलरीले जर्मन कम्पनीसँग औपचारिक सम्झौतासमेत गरिसकेको छ । यसको अनुमानित लागत डेढ अर्ब रुपैयाँ छ । 
 
नेपालमा अहिले ४२ वटा उद्योगले वैधानिक रुपमा मदिरा उत्पादन गरिरहेका छन् । यसमध्ये २७ उद्योग घरेलु तथा साना उद्योग विभागबाट अनुमति लिएर उत्पादन गरिरहेका छन् । यि बाहेक घरेलु उद्योगहरुले बिना स्वीकृति उत्पादन तथा विक्री वितरण पनि गर्दै आएका छन् । 


 
सरकारको २०६९ असार ३ गतेको निर्देशन अनुसार उद्योग मन्त्रालयले गत बर्ष असोजमा मदीरा उद्योगका लागि लाइसेन्स खुला गरेको थियो । २०५८ सालदेखि बन्द रहेको मदिराको लाइसेन्स खुला भएपछि ४८ वटा उद्योगले उत्पादन स्वीकृति पाएका थिए । 
 
उत्पादन अनुमतिका लागि एक सय १० कम्पनीले आवेदन दिएका थिए । सरकारले उत्पादन अनुमति खुला गरेपछि अन्य कम्पनीहरुले पनि वियरको प्लान्ट लगाउन थालेका छन् ।

Tata
GBIME
Nepal Life