ठेक्कापट्टाको काम दुई सातादेखि विद्युतीय माध्यमबाट, पाइलट प्रोजेक्ट डोलिडार र सिंचाइ विभागबाट

बिजमाण्डू
२०७१ फागुन १० गते ००:०० | Feb 22, 2015
विज्ञान अधिकारी/बिजमाण्डू 
काठमाडौं । सार्वजनिक खरीद प्रणाली दुई साताभित्रै विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सार्वजनिक खरीद अनुगमन कार्यालयले दश दिनभित्रै ‘पाइलट प्रोजेक्ट’को रुपमा डोलिडार र सिचाई विभागमा सार्वजनिक खरीदको प्रक्रिया विद्युतीय माध्यमबाट हुनेछ । 

 
‘हामीले दश दिनभित्रै अनलाईनमार्फत सार्वजनिक खरीदको प्रक्रिया दुई निकायमा कार्यान्वयनमा ल्याउनेछौ,’ कार्यालयका सहसचिव नरेशकुमार चापागाईँले बिजमान्डूसँग भने, ‘यो निकायको प्रतिक्रिया आएपछि थप सुधारेर लाइभ गर्नेछौ ।’ सार्वजनिक खरीद वोलपत्र आह्वान, ठेक्का आवेदन, ठेक्का खोल्ने, ठेक्काको मूल्यांकन, ठेक्का दिने, ई–पेमेन्टको काम अनलाईनमार्फत गर्न सकिने कार्यालयले जनाएको छ ।  
 
ठेक्कापट्टामा हुने गुन्डागर्दी र मिलेमतो रोक्न कार्यालयले अनलाईनमार्फत सबै सार्वजनिक खरीदलाई कार्यान्वयनमा ल्याउन लागेको हो । ई–जीपी प्रणाली मार्फत www.bolpatra.gov.np मा सार्वजनिक खरीदका लागि राखिएका र प्रक्रिया पूरा गरेका सबै सूचना सर्वसाधरणले समेत हेर्न सक्नेछन् ।
 
 यसअघि सरकारले ई–विडिङ प्रभावकारी बनेको छैन । ई–विडिङमा गुन्डागर्दी कम भएपनि मिलेमतोमा ठेक्का हाल्ने प्रवृति कायमै छ । ई–विडिङ गरेपनि सूचनामा कार्यालय प्रमुख र ठेकेदारको मिलेमतो हुने गरेको थियो । अब भने कुनैपनि खरीदको प्रक्रियालाई अनलाईनमार्फत गर्नुपर्नेछ । 
 
कुनैपनि कार्यालयको कर्मचारीले ठेक्काको टिप्पणी अनलाईनमार्फत गर्नुपर्नेछ । त्यो टिप्पणीलाई कार्यालय प्रमुखले समेत अनलाईनमार्फत सदर गर्नुपर्नेछ । सार्वजनिक खरीद, सदर लगायतका सबै सूचना अनलाईनमा सर्वसाधरणले समेत हेर्न सक्नेछन् । चापागाईँका अनुसार सार्वजनिक खरीद गर्न चाहने कम्पनीले घरमै बसेर ठेक्कामा सहभागी हुन सक्नेछ । 
 
‘कुनैपनि सार्वजनिक खरीद प्रक्रियामा सामेल हुने कम्पनीले घरमै अनलाईनमार्फत भर्न सक्नेछ । ठेक्काका लागि आवश्यक पर्ने दस्तुर बैंकमा बुझाएको रसिद स्क्यान गरेर पठाउन सक्छ,’ उनले भने, ‘ठेक्कामा सहभागी हुने कम्पनीको समेत भौतिक उपस्थिती आवश्यक पर्दैन् । अब सार्वजनिक खरीदमा कुनैपनि हार्डकपी सवमिशन हुँदैन ।’  

Tata
GBIME
Nepal Life

यसका लागि सरकारी कार्यालयको खरीदमा बस्ने व्यक्ति सबैले अनलाईन जानेको हुनुपर्छ । कार्यालयले राजस्व तिर्ने लगायतका प्रक्रिया सहजीकरणको लागि बैकर्स एसोसिएसनसँग समेत छलफल गरिसकेको छ । 
 

‘हामीले थालेको सुधार प्रक्रियालाई बैंकर्सहरुले समेत सहयोग गर्ने प्रतिवद्वता जनाइसकेका छन्,’ उनले भने, ‘तीसवटै बैंकसँग यो सेवाका लागि सम्झौंता हुनेछ ।’
 
यो सेवालाई सहजीकरण गर्ने विषयमा गर्भनर डा. युवराज खतिवडासँग समेत छलफल भइसकेको छ । गर्भनरले खतिवडाले  केही दिनमै यो कारोबार सहजीकरणका लागि आवश्यक पर्ने निर्देशन जारी गर्ने प्रतिवद्वता जनाएको चापागाईँले बताए । कार्यालयमार्फत डेढ खर्ब बराबरको सार्वजनिक खरीद हुने गर्छ । 
 
कार्यालयले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अनलाईनमार्फत खरीद प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको थियो । नौ करोडको लागतमा अन्तर्राष्ट्रिय कम्पनी प्राइस वाटर हाउस कुपर इन्डिया(पीडब्लुसी)लाई परामर्शदाता नियुक्त गरेर पूर्ण रुपमा ई–जीपी सिस्टम कार्यान्वयनमा ल्याउन लागेको हो ।

यो कार्यान्वयनमा आएपछि ई–विडिङका सम्पूर्ण कार्य सिंगल पोर्टल अनलाइनबाट संचालन हुनेछ र यसको सर्वसाधरणले सजिलै जानकारी पाउनेछन् ।  अनलाइनमार्फत खरीद प्रक्रिया कार्यान्वयनमा ल्याउन नेटवर्किङका काम भइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न कार्यालयमा गएर कर्मचारीलाई समेत तालिम दिइसकिएको छ । यो वाहेक ७६ वटा सार्वजनिक निकायहरुलाई युजरनेम र पासवर्ड उपलब्ध गराइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सार्वजनिक निकायले संचालनमा ल्याएका छुट्छुट्टै पोर्टलहरुलाई विस्थापित गरेर एकीकृत रुपमा संचालनमा ल्याउन सबैलाई सूचना गरिसकिएको छ । कार्यालयका अनुसार अहिलेसम्म ३२ वटा अन्य पोर्टल प्रतिस्थापन भइसकेको छ ।