गभर्नर छान्ने समिति बन्यो, अर्थमन्त्रीसहित राणा र तिमिल्सिना समितिमा, अर्को साता नियुक्ति

बिजमाण्डू
२०७१ फागुन १२ गते ००:०० | Feb 24, 2015
काठमाडौं । सरकारले आगामी गर्भर नियुक्तिका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्ति प्रकृया अगाडि बढाएको हो । 

Tata
GBIME
Nepal Life

मन्त्रीपरीषद्ले अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा  अर्का एक पूर्व गभर्नर र आर्थिक, मौद्रिक, बैंकिङ तथा वाणिज्य कानुनको क्षेत्रमा एक विशिष्ठ व्यक्तिसहितको तीन सदस्यीय समिति गठन गरेको हो ।

गभर्नर छनौटका लागि समिति बनेको छ,’ उद्योगमन्त्री महेश बस्नेतले बिजमाण्डूसँग भने, ‘समितिले सिफारिस गरेको नामका आधारमा चाँडै नयाँ गनर्भर नियुक्त हुने छ ।’

 
संयोजक महतका साथै सदस्यहरुमा पूर्व गभर्नर हिमालयन शम्शेर राणा र राष्ट्र बैंकका पूर्व सञ्चालक समिति सदस्य पार्थिवेश्वर तिमिल्सिना नियुक्त भएका हुन् ।

राणा राष्ट्र बैंकका पहिलो गभर्नर हुन् । तिमिल्सिना प्राध्यापन पेशासँग आवद्ध छन् । यसअघि उनी राष्ट्र बैंकको सञ्चालक समितिमा पाँच बर्षसम्म सदस्य थिए ।

 
समितिलाई सम्भावित गभर्नरका लागि तीन जनाको नाम मन्त्रीपरीषद्मा सिफारिस गर्न अधिकार दिइएको छ ।

सिफारिसभित्र एक जना वहालवाला डेपुटी गभर्नरलाई अनिवार्य रुपमा समावेश गर्नु पर्ने हुन्छ । अहिले गोपाल काफ्ले र महाप्रसाद अधिकारी डेपुटी गभर्नर छन् । काफ्ले नेपाल कांग्रेस निकट मानिन्छन् भने अधिकारी नेकपा एमाले निकट हुन् ।

 
बाँकी दुई जनामा आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट छन्नु पर्छ ।

सिफारिस भएका नाममध्येबाट सरकारले पाँच बर्षका लागि एक जनालाई गभर्नरमा नियुक्त गर्ने छ । 

 
गभर्नरले राष्ट्र बैंकको सञ्चालक समितिको पनि अध्यक्षता गर्ने छन् ।  अहिलेका गभर्नर डा. युवराज खतिवडाको पाँच वर्षे कार्यकाल चैत ५ गते सकिँदैछ । 
 
नयाँ गभर्नरका लागि प्रधानमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. चिरिन्जवी नेपाल, पूर्वअर्थ सचिव तथा चुरे तराई– मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा, पूर्व अर्थसचिव युवराज भुसाल संभावित सुचीमा छन् ।  
 

नयाँ गभर्नर को होलान् ?