बाराही होटल स्तरोन्नती हुँदै, २५ करोड ६० लाख रुपैयाँ कूल पुँजी लगानी

बिजमाण्डू
२०७१ फागुन १३ गते ००:०० | Feb 25, 2015
बाराही होटल स्तरोन्नती हुँदै,  २५ करोड ६० लाख रुपैयाँ कूल पुँजी लगानी

सविन मिश्र/ कञ्चन अधिकारी /बिजमाण्डू
काठमाडौं। पोखराको होटल बाराहीले आफूलाई ठूला उद्योगको रुपमा स्तरोन्नती गर्ने गृहकार्य अगाडि बढाएको छ। अहिलेसम्म घरेलु उद्योगको रुपमा सञ्चालन भइरहेको होटल अब भने ठूला उद्योगका रुपमा सञ्चालन हुनेछ।







पोखरामा बाराही होटल र चितवनको बाराही जंगल लज सञ्चालन गरिरहेको बाराही होटल अब भने बाराही कम्पनी प्रालीको नाममा सञ्चालन हुने कम्पनीका निर्देशक विप्लव पौडेलले बिजमाण्डूलाई बताए।



'अहिलेसम्म यो होटल घरेलु विभागमा दर्ता थियो र जग्गाहरु पनि व्यक्तिको नाममा थिए,' पौडेलले भने, 'अब हामीले प्रालीका रुपमा अगाडि बढाउँदै छौं र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ।'



व्यापार बढ्दै गएपछि कम्पनीले साना उद्योगबाट आफूलाई स्तरोन्नती गर्न उद्योग विभागमा दर्ता प्रक्रिया अगाडि बढाएको छ। यस क्रममा उसले २५ करोड ६० लाख रुपैयाँ कूल पुँजी लगानीको प्रस्ताव गरेको छ।







व्यक्तिका नाममा रहेका जग्गा संस्थाको नाममा ल्याउन तथा होटलमा चाहिने अन्य सामग्रीको खरीदमा यो रकम खर्च हुने उनले बताए। 'हामीले यताको प्रक्रिया अगाडि बढाएका छौं,' उनले भने, 'केही पैसा खर्च पनि गरेका छौं र उद्योग विभागमा पनि दर्ता प्रक्रिया अगाडि बढाएका छौं।'







पौडेलले अहिलेसम्म कम्पनीका प्रबन्ध निर्देशक हरि पौडेललगायतका नाममा रहेको जग्गा पनि अब कम्पनीकै नाममा आउनेछ। 'अहिले बुबा ममीलगायतको नाममा जग्गा लगायतका सम्पत्ती थिए,' उनले भने, 'अब फ्यामिली बिजनेशबाट ग्रुपका रुपमा अगाडि बढ्दैछौं, यसका लागि नै यो पैसा खर्च हुन्छ।'



सन् १९९३ मा खुलेको यो होटल तीन तारे होटल हो। पोखराबाट चितवनको सौराहमा यही कम्पनीले बाराही जंगल लज सञ्चालन गरिरहेको छ। यो होटल पोखरा लेकसाइडकै ठूलो गार्डेन भएको होटल हो।



२२ वर्षपछि परिवारबाट कम्पनी
२२ वर्षे इतिहासमा बाराही होटलको सञ्चालन पौडेल परिवारबाट बाराही ग्रुपमा सर्दैछ। यद्यपी होटलको सेयर भने यही परिवारका सदस्यकै नाममा हुनेछ।







अहिले २५ करोड लगानीको प्रस्ताव पेश गरेको कम्पनीले अहिलेसम्म चितवन र पोखरामा गरी ७७ करोड रुपैयाँ भन्दा धेरै लगानी गरिसकेको छ। 'हामीले अहिलेसम्म पोखरामा ४७ करोड र चितवनमा ३० करोड रुपैयाँ लगानी गरिसकेका छौं,' निर्देशक पौडेलले भने, 'बैंक लोनसमेत गरेर ठूलो लगानी गरेको भएपनि अधिकांश लोन क्लिएर हुने अवस्थामा छ।'



बाराही पोखरामा ८५ वटा कोठा छन्। यसमा दुईवटा रेष्टुरेन्ट छन्। यी मध्ये एउटामा ७० वटा र अर्कोमा एकसय ५० जना अट्ने क्षमता छ। होटलका अनुसार बुधबारको अकुपेन्सी रेट ७० प्रतिशत रहेको छ।







यस्तै बाराही जंगल लज चितवनमा ५० वटा कोठा रहेका छन्। होटलका अधिकांश कोठामा एक वा दुई जना बस्न मिल्ने व्यवस्था छ। होटल तीन सिफ्टमा सञ्चालन भइरहेको छ। यो होटलमा हरेक साँझ नेपाली सांस्कृतिक कार्यक्रम गरी पाहुनालाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको छ।



यात्रा सम्बन्धि अनलाइन ट्रिप एडभाइजरले बाराही होटललाई 'एक्सिलेन्ट एन्ड वन्डरफूल स्टे होटल'को रुपमा उल्लेख गरेको छ। उसले होटललाई चार ताराको 'रेटिङ' दिएको छ।

Tata
GBIME
Nepal Life