काठमाडौं । चार महिनादेखिको लगातारको ग्यास अभाव कहिले अन्त्य होला ? सरकारी अधिकारी र व्यवसायी दुईथरी उत्तर दिन्छन् ।
‘ग्यास अभाव अब केही दिनमा अन्त्य हुनेछ । हामीले जनवरीमा २६ हजार एक सय ५७ टन ल्यायौ, फेब्रुअरी २४ सम्ममा २२ हजार टन आइसकेको छ,’ आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बिजमान्डूसँग भने, ‘अबको केही दिनमै अभाव हट्नेछ ।’ घिमिरेले दिएको तथ्यांकले सहजै अभाव हट्ने देखिदैन ।
अहिले पनि ग्यास डिपोमा आएको केही घन्टामै ग्यास सकिन्छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे २८ हजारकै हाराहारीमा ग्यास आए मार्च महिना मात्रै अभाव हट्ने दावी गरे ।
‘केही दिनमा ग्यासको अभाव हट्न असम्भव छ । अहिलेपनि उपभोक्ताले सहज रुपमा ग्यास पाउन सकेका छैनन्,’ उनले भने, ‘सबै बोटलिङ प्लान्टले ग्यास भरेर पठाइरहेका छन् । डिपोमा केही घन्टामै सकिन्छ ।’ उनका अनुसार अहिलेपनि उपभोक्ताले केही दिन कुरेर मात्रै ग्यास पाइरहेका छन् । उपत्यका बाहिर भने ग्यास सहज भइसकेको छ ।
'ग्यास अभाव अब केही दिनमा अन्त्य हुनेछ । हामीले जनवरीमा २६ हजार एक सय ५७ टन ल्यायौ, फेब्रुअरी २४ सम्ममा २२ हजार टन आइसकेको छ । अबको केही दिनमै अभाव हट्नेछ ।’
मुकुन्द घिमिरेले
प्रवक्ता,
नेपाल आयल निगम
‘उपत्यका बाहिर ग्यासको अभाव छैन । विराटनगर लगायतका क्षेत्रमा सहजै ग्यास पाइएको छ,’ ग्यास बिक्रेता महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, ‘उपत्यकामा अहिलेपनि २० प्रतिशत ग्यास अपुग छ ।’ जाडो महिनामा ग्यासको माग अत्याधिक हुने गर्छ । कोठा तताउन, ग्यास गिजर लगायतका कारणले ग्यासको माग बढ्ने गर्छ ।
शिवप्रसाद घिमिरे
अध्यक्ष,
नेपाल एलपी ग्यास उद्योग संघ
यही बेला बरौनी रिफाइनरी मर्मतका लागि बन्द भएपछि कम ग्यास आएको थियो । नोभेम्बरमा १८ हजार टन ग्यास आएपछि सुरु भएको अभाव अहिलेसम्म अन्त्य भएको छैन । तर एलपी ग्यास उद्योग संघका अध्यक्ष घिमिरे एक वर्षदेखि माग अनुसार कोटा नबढाएकोले समस्याले विकराल रुप लिएको बताउँछन् ।
‘यो जाडो महिनाको मात्रै समस्याले भएको होइन । माग अनुसार कोटा नबढाउँदा समस्या भएको हो,’ उनले भने, ‘त्यसैले अभाव हट्न असहज भएको हो ।’ अहिले गरीब जनताले ग्यास नपाएर समस्या भएको छ ।
‘अहिले जोसँग एउटा सिलिन्डर भएका कम आयका उपभोक्ताले अभाव खेप्नुपरेको छ,’ घिमिरेले भने, ‘उनीहरुले ग्यास नपाएर समस्या भएको छ । हुनेखानेले चार÷पाँच वटा सिलिन्डर भरेर राखेका छन् ।’