सेयर बजार सबै अंग चल्नेहरुको मात्रै हो? रविन्द्र भट्टराईकाे विश्लेषण

बिजमाण्डू
२०७१ फागुन १५ गते ००:०० | Feb 27, 2015
सेयर बजार सबै अंग चल्नेहरुको मात्रै हो? रविन्द्र भट्टराईकाे विश्लेषण

लामो समयपछि माघ २४ गते को मिति निश्चित भयो । कुरा माघ ८ अघिनै चलेको थियो । मैले वहाँहरुलाई वचन दिईसकेको थिए । तर ८ गते नजिकिदै जाँदाका बन्द र हड्तालले समय सर्दै गयो । तर, मैले मेरो बाचा तोडिन । जसरी भएपनि समय निकालेर पढाउँछु भनेर निधो गरि सकेको थिए । किनभने सेयर बजार सबैका लागि हो । के सवलांग, के अपांग । पैसा त जो सँगपनि हुन सक्छ । अहिले नहुनेसँग भविश्यमा हुन सक्छ । धेरै नभए थोरै हुन सक्छ । तर सिकाउनै पर्छ । के बृद्धा, के जवान । के युवा, के युवती आखिर सवैले जान्नु पर्छ । सेयर बजार सवैको हो ।

Tata
GBIME
Nepal Life

वहाँहरुले सोध्नु भयो ‘पैसा कति लिनु हुन्छ ?’ मैले भने ‘निशुल्कः’ । यहाँ पैसाको कुरा भएन । धन आर्जन गर्ने र थुपार्नेसँग मात्र पनि सम्बन्धित भएन । यो मानवीयताको कुरा पनि हो । व्यक्तिगत र सामाजिक उत्तर दायित्वको पनि कुरा आउने भयो ।

मैले भनेँ, कतिजना हुनु हुन्छ । १०/१२ जना । सम्भव भए अलि बढि सहभागि जम्मा गर्न अनुरोध गरेँ । सवैलाई सुचित गर्न केही दिनको समय दिएँ । पुनः सम्पर्क भयो । उहाँहरुले ४०/५०  जना जति हुने जानकारी दिनु भयो ।

उहाँहरुले भन्नुभयो, अपांग संघ जोरपाटीमै आएर कक्षा लिइदिनु पर्‍यो । मैले हुन्छ भनेँ । माघ २४ गते तय गरिएको समय बिहान ११ बजे भन्दा केही अघि नै म पुँगे । कोही ह्विल चेयरमा आइ सक्नु भएको थियो । कोही चक्का थपिएका स्कुटरमा हुनु हुन्थ्यो । कोही आउदै हुनु हुन्थ्यो । समयवित्दै गयोे । जमघट बाक्लिदै थियो ।

११ बज्यो । तर, लोडसेडिङले हलमा विजुली थिएन । त्यसैले प्रोजेक्टर चल्ने अवस्था भएन । करिव १२ बजि सक्दा पनि बिजुलीको खोजीमा क्लास सुरु हुन सकेन । विजुली खोज्दै उहाँहरु ह्विल चेयरमा यता र उता दौडिरहनु भएको थियो । नजिकैको अर्थोपेडिक अस्पतालबाट विजुली ल्याउने प्रयास सम्भब भएन । जेनेरेटर पनि तत्काल जुटेन । तालिम नहोला जस्तो भइसकेको थियो । यतिकैमा स्थान परिवर्तनको कुरा आयो । नजिकैको पाटिप्यालेसमा उहाँहरुले सम्पर्क गर्नुभयो । कुरा मिल्यो । हामी सवै पाटि प्यालेसतर्फ लाग्यौ । त्यहाँको हल केहीहदसम्म अपांग मैत्री नै रहेछ । कोही ह्विल चेयरमा, कोही चक्का थपिएका स्कुटरमा, कोही बैसाखीमा, कोही सेतो छडीमा गरि करिव ५० जना हुनुहुन्थ्यो उहाँहरु ।

पाटिप्यालेसका साहुले जेनेरेटर चलाई दिए । इन्टरनेटका लागि पासवर्ड उपलव्ध गराए । हलमा बेहुला बेहुली राख्न अलिक उठाइएको मञ्च थियो । म पढाउन त्यही चढेँ । प्रोजेक्टर चलि सकेको थियो । मलाई यो परिवेशले अलि भावुक बनायो । म यस्तो माहोलमा पहिलो पटक उपस्थित हुदै थिएँ त्यसबेला । मैले उहाँहरुको लगानीको अवस्था बुझ्ने कोशिस गरेँ । कोही सेयरमा लगानीगरि रहेका हुनुहुन्थ्यो । कोही विल्कुलै नयाँ । कसैले भर्खरै सुरु गरेको बताउनु भयो ।

तर सवैमा एकै खाले जिज्ञासा थिए, यो बजार कस्तो हो ? कसरी घट्छ÷बढ्छ ? कस्तो बेला बढ्छ ? कस्तो बेला घट्छ ? प्राथमिक बजार के हो ? सेयर भर्ने कसरी हो ? बाँडछन् कसरी ? दोस्रो बजार के हो ? कहाँ जाने ? कारोबार कसरी हुन्छ ? कमिशन ? कर ? पैसा तिर्ने÷लिने ? के हेर्ने ? सुचना कसरी र कहाँबाट लिने ? नेप्से परिसुचक के हो ? आदिइत्यादि । यी प्रश्नको थुप्रोमा थिएँ म । हुनत यी प्रश्न मेरा लागि नयाँ थिएनन् । यी प्रश्नको जवाफ रेकर्ड गरेको भए अहिलेसम्म धेरै जिवीका पेन ड्राइभ भरि सकिन्थे होला । तर, उक्त क्षण र परिवेश मेरा लागि नयाँ थियो । हरेक प्रश्नको जवाफमा म बढि भावुक र असहज महसुश गरि रहेको थिएँ । जब जब कहाँ जाने भन्ने प्रश्न आउथेँ मेरो बोली रोकिन पुग्थ्यो । म अक्मकाउथँे । उत्तर थाहा नभएको शिक्षकका अगाडि तेर्सिएका प्रश्नझै हुन्थेँ।  

मलाई यी प्रश्नको उत्तरै थाहा नभएको होइन । मलाई उहाँहरुलाई दिने जवाफमा लज्जाबोध भएको हो । म जाने ठाँउ बताउन सक्थेँ तर उहाँहरुको पहुँच कसरी त्यहाँ पुग्छ भनेर बाटो देखाउन सक्दिन थिएँ । किनभने नेपालमा सेयर बजारमा कुनै पनि गतिविधि हुने ठाउँ अपाङ्गता भएका व्यक्तिका लागि अनुकुल छैनन् । सेयरको फारम भरेर कहाँ बुझाउने ? नपरेको पैसा फिर्ता कहाँबाट लिने? प्रमाण पत्र कहाँबाट लिने ? पाएको प्रमाण पत्र बिक्री गर्न कहाँ जाने ? यी सबैको उत्तर सजिलो थियो । तर उहाँहरुलाई उत्तर दिन मैले मेरो तालिम केन्द्रमा तीन तला माथि चढेर पढ्न आउनेलाई दिएजस्तो सहज भने थिएन । किनभने उहाँहरुका लागि सेयर बजारका सबै गतिविधी हुने ठाउँमा बेग्लै संरचना, प्रविधि र सुविधाको आवश्यकता थियो/छ । जुन हामीले उपलब्ध गराउन नसकेको मात्र होइन पहल समेत गरेका छैनौँ ।

सेयरका फारम लिने, बुझाउने, बिक्रीगर्न जाने स्थान र संरचनाको वास्तविकता मैले देखेको थिएँ । उहाँहरुले पनि महशुस गर्नु भएको थियो । ती अपांगता मैत्री छैनन् । ती मानवीय संरचना छैनन् ।  मानवीय त ती हुन्, जसले सबै मानवलाई समान व्यवहार र पहुँच प्रदान गर्छन् । तर यो वास्तविकता न सरकारले देख्न सकेको छ न त सेयर बजार नियमनको ठेक्का लिएका ठेकेदारले नै । यिनले कानुन रुपी अक्षरमा ‘अपांग मैत्री’ भनेर दुई शब्द किन अटाउन सक्दैनन् ? त्यो लेख्ने हिम्मत किन गर्दैनन् ?

यी हरफ लेख्दै गर्दा म आफैँ पनि लज्जित छु, मैले यो क्षेत्रमा कलम चलाएको दशौँ बर्ष विति सकेछन् । तर, माघ २४ गते उठेका प्रश्नको सरल जवाफ खोज्न अहिलेसम्म मेरा कलम चलेनछन् । मेरा मुखबाट आवाज निस्केनछन् । जब मैले त्यो मञ्चमा उभिएर अपाँगता भएका सवै सहभागिलाई एकै पटक हेरेँ र सोचेँ– मैले पनि अहिले सम्म राम्रैसँग चलेका मेरा शरीरका सवै अंगमात्र हेरेँछु र संसार म जस्तै सपांग भन्ने दिवा स्वप्नमा रमाएँछु ।  यस्तै संसार देखेर कलम चलाएँछु । रेडियो र टेलिभिजिनमा बोलेछु । अति गम्भिर र संवेदनशील अर्को संसारलाई देख्न सकेको रहेनछु । मैले त्यहिँबाट बुझेँ, संसार मेरो जस्तो शरीर भएकाको मात्र होइन रहेछ । तर, अहिलेसम्म सेयर बजार र यसमा गरिने लगानी मेरो जस्तो शरीर भएका मात्रैको भएछ ।
अहिले मेरो आँखा खुलेको छ । त्यसैले अब समान पहुँचका लागि मेरो कलम चल्नुुपर्छ । शिक्षा, आवश्यकता र पहुँच सवैका लागि हो÷हुनुपर्छ । लगानी सबैले गर्न पाउनुपर्छ । के सपांग के अपांग हामी सबै सक्षम छौ । केवल अवसरको खाँचो छ । सबैको पहुँच संरचना चाहिएको छ, कसैको दया होइन ।
तर खोइ संरचना ? बैक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले स्थापनाको करिव ६० बर्ष पुग्दा बल्ल अपांग मैत्री शव्दको प्रयोग गर्यो । र, बैंक तथा वित्तीय संस्थालाई भन्यो– बैकिंग सेवा समावेशी बनाउ, शारीरिक अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरुलाई विशेष प्राथमिकता देउ । अपांगमैत्री भौतिक संरचनाको आवश्यकताका बारे आवाज उठिरहेको अवस्थामा आएको यो निर्देशनले बैकिंग सेवाग्राहीलाई केही राहत मिल्ला तर सेयर बजारका लगानीकर्तालाई यसले फाइदा पुग्ने छैन । यसका लागि धितोपत्रबोर्ड नै अघि सर्नु पर्छ ।

तर सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड बोलेको छैन । उमेरले यो सस्था पनि जवान भै सकेको छ तर किन अपांगमैत्री कारोबारको पक्षमा बोल्न सक्दैन ? धितोपत्र बोर्डको पहिलो उद्देश्य नै लगानीकर्ताको हित संरक्षण गर्नु हो । तर बोर्डले अपांगता भएका लगानीकर्ताको हितको संरक्षण गरिरहेको छैन । कम्पनीलाई धितोपत्र निश्कासनको अनुमति दिनु मात्र बोर्डको दायित्वभित्र पर्दैन । सबै नागरिकलाई समान अवसर र पहुँचको कानुनी संरचना निर्माण एवं कार्यान्वयन पनि उसको जिम्मेवारी हो ।

आवेदन फारम अपांगमैत्री छैनन् । आवेदन फारम बुझाउने ठाँउ अपांगमैत्री छैनन् । एउटा व्हिल चेयर गुडाउने व्यक्ति कसरी तीन तला माथि गएर फारम बुझाउन सक्छ ? लिफ्ट छ, लाइन छैन  । लाइन छ, लिफ्ट छैन । दुबै छ लिफ्ट सम्मपुग्ने बाटो छैन । हरेक प्राथमिक निश्कासनमा उपत्यकामा कम्तीमा एक ठाँउ र उपत्यका बाहिर हरेक ठाँउ अपाँगमैत्री संकलन केन्द्र हुनुपर्छ । यसको सुनिश्चितता स्वीकृती लिनु अघि विक्रि प्रबन्धकले गरे पछि मात्र निश्कासन स्वीकृती दिने व्यवस्था नियामकले गर्नुपर्छ । ब्रोकरका कार्यालयसम्म पुग्न अपांगमैत्री संरचना अनिवार्य गरिनुपर्छ । धितोपत्र बोर्डले अहिले धितोपत्र दर्ता तथा निश्कासन नियमावली संसोधन गर्दैछ । त्यसैले अहिले कम्तिमा प्राथमिक बजारलाई अपांगमैत्री बनाउन कानुनी व्यवस्था गर्न सक्ने अवसर बोर्डसँग रहेको छ ।

आशा गरौ आगामी निश्कासनमा अपांगमैत्री संकलन केन्द्र सहितका सूचना आउने छन् ।