कसरी बन्दैछ ‘मेगा परियोजना’ माथिल्लो तामाकोशी

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
कसरी बन्दैछ ‘मेगा परियोजना’ माथिल्लो तामाकोशी

सरोज काफ्ले/प्रभात भट्टरार्इ
लामाबगर । काठमाडौँको राजनीतिक कचिङ्गल र बादविवादबाट आजित हुनुहुन्छ थोरै बाहिर निस्किने जमर्को गर्नुहोस् । टाढा जानु पर्दैन, काठमाडौँबाट दुई सय किलोमिटर टाढा दोलखाको लामावगर पुग्ने वित्तिकै तपाइँले लाग्नेछ 'ओहो कहिँ कतै मेरो देश बन्दै पनि रहेछ ।'

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर निर्माणको रफ्तारले त्यहाँ पुग्ने जो कसैलाई पुलकित बनाउँछ । लामावगरमा अन्तिम चरणको काम भइ रहेको ड्याम साइड होस् या त्यो भन्दा  ११ किलोमिटर दक्षिण गोँगर स्थित विद्युत गृह निर्माण स्थल होस् दुबै ठाउँको दृष्य साँच्चिकै फरक छ ।

Tata
GBIME
Nepal Life

७२ प्रतिशत काम पूरा
आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार फागुन दोस्रो सातासम्ममा चार सय ५६ मेगावाट क्षमताको आयोजना निर्माण ७२ प्रतिशत पुरा भइ सकेको छ । त्यहाँ पनि हेड वर्कस्थित बाँधको काम ९२ प्रतिशत पुरा भइ सकेको डेपुटी कन्ष्ट्रक्सन म्यानेजरको रुपमा खटिएका इन्जिनियर राजाभाइ शिल्पकारले जानकारी दिए ।
२२ मिटर उचाइको कुल ६० मिटर लामो बाँध मध्ये आधा ३० मिटर निर्माण पुरा भइ सकेको छ । बाँकी काम समेत सुरु भैसकेको छ ।

बाँधले १२ लाख घन मिटर पानी अटाउने दुई किलोमिटर लामो ड्याम निर्माण गर्नेछ । हिउँदमा समेत ड्यममा १८ घण्टा पानी जम्मा गरे पछि चार घण्टा चार सय ५६ मेगावाट नै बिजुली उत्पादन गर्न सकिन्छ ।

बर्षा याममा भने बगेको पानीबाट नै पुरा क्षमता विद्युत उत्पादन गर्न सकिन्छ । त्यस बाहेक बाँधमा रोल्वालिङ खोलाको पानी ल्याएर मिसाउन समेत आयोजनाले प्रकृया सुरु गरेको छ । सुरुङ बनाएर रोल्वालिङको पानी मिसाए पछि हिउँदमा छ घण्टा पुरा क्षमतामा विद्युत उत्पादन हुनेछ ।

 
विद्युतगृह तर्फ पानी पठाउनु अघि बालुवा थिग्य्राउन बाँधको बायाँँतर्फ दुई सय २५ मिटर लामो एवं २६ मिटर चौडाइ भएको पोखरी निर्माण समेत पुरा भइ सकेको छ ।

आयोजनाको निर्माण गति हेर्दा आउँदो आर्थिक बर्ष २०७२/७३ को अन्त्य सम्ममा तामाकोशीको बिजुली बल्ने पुरा आधार देखिन्छ । नेपालका धेरै जसो विद्युत आयोजनामा पछिल्लो समय देखिन थालेको प्रशारण लाइन निर्माण ढिलाइको रोगबाट आफूहरु बच्न सके तोकिएको मितिमा उत्पादन थाल्न कुनै कठिनाइ नहुने आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।

तीन सिफ्टमा काम
गोँगरमा निर्माणाधिन विद्युत गृहको काम पनि रफ्तारमा छ । पहरो फोरेर बनाइएको एक किलोमिटर भन्दा लामो सुरुङ यात्रा पछि पुगिने विद्युत गृहमा नेपाली तथा चिनीयाँ कामदार दिउँसो र राती गरि तीन सिफ्ट काम गर्दैछन् । एक सय ४२ मिटर लामो, १३ मिटर चौडाइ र २५ मिटर उचाइको भुमीगत विद्युत गृहमा जेनेरेटर राख्ने चरणको काम सुरु भइ सकेको छ ।


विद्युत गृहमा चार तलाको ढलान गरिएको छ । अहिले काम सबै भन्दा माथिल्लो तलामा आइ सकेको हो । ७६ मेगावाट क्षमताका छ वटा जेनेरेटर राख्ने र प्रति जेनेरेटर तीन वटाको दरले ट्रान्समिसन जडान गर्ने काम भइ रहेको छ । फागुन दोस्रो साता बिजमाण्डू टोली परियोजना निर्माणस्थल पुग्दा दर्जनौँको संख्यामा कामदारहरु ढलानका लागि रड बाँध्न व्यस्त थिए ।

पहराको बिचमा बनाइएको प्वाल जस्तोबाट निर्माण सामग्री भरिएका सवारी साधान धमाधम छिरिरहेका हुन्छन् । टर्वाइनमा पानी पुग्नु अघि नियन्त्रण गर्ने मेन सर्ट आउट भल्भ समेत नेपाल भित्रि सकेको छ ।

१६ वाइ १६ फिटको उक्त यन्त्र बोकेको ट्रक काठमाडौँ-चरिकोट सडक खन्डका पुलले थेग्न नसक्ने भएको हुँदा खोलामा बाइपास समेत बनाइएको । यत्रो ठुलो ट्रक समेत भित्र जान सक्ने गरि पावर हाउस सम्म पुग्ने सुरुङ खनिएको छ ।

त्यसैले निर्माण सम्पन्न भए पछि अपर तामाकोशी विद्युत गृह मात्र हुने छैन मुलुककै एक पर्यटकिय गन्तव्य समेत बन्ने छ ।
लामावगरबाट विद्युत गृहसम्म पानी ल्याउने सुरुङ निर्माण समेत अन्तिम चरणमा पुगेको छ । पहरा भित्र तीन सय ७३ मिटर र तीन सय १० मिटरको ठाडो सुरुङ निर्माण हुनेछन् । यसमध्ये पहिलो सुरुङ खुलि सकेको छ भने दोस्रोमा काम भैरहेको छ ।

बाँधस्थलबाट विद्युत गृह आठ सय २२ मिटर तल छ । दुईवटा ठाडो र अरु भिरालो सुरुङ मार्फत पानी पावरहाउस सम्म पुर्याइन्छ ।
कुल १६ किलो मिटर लामो सुरुङमध्ये अब एक हजार आठ सय मिटर मात्र खन्न बाँकी छ । विद्युतगृहबाट पुन तामाकोशीमा पानी पठाउने तीन किलोमिटर लामो टेलरेस सुरुङ समेत निर्माण भैसकेको छ ।

आयोजनाको रेकर्ड अनुसार पुष महिनामा बिभिन्न कन्ट्याक्टर मार्फत तामाकोशीमा एक हजार छ सय कामदारले काम गरे । त्यसमा एक सय ६० को हाराहारीमा चिनियाँ नागरिक छन् । हरेक महिना यस्तै संख्यामा कामदार निर्माणमा जुट्ने प्रवक्ता न्यौपाने बताउँछन् । त्यसबाहेक आयोजना र कन्सल्ट्यान्ट मार्फत तामाकोशीमा दुई सयभन्दा बढि जनशक्ति कार्यरत छन् ।

तामाकोशीको पावर हाउस भएको स्थान गोँगरबाट ड्याम स्थल लामावगरसम्म पुग्ने ११ किलोमिटर बाटो निर्माणबाट नै यो आयोजना प्रतिको लगाव देख्न सकिन्छ ।

नेपाली पनि सक्षम छन्
पुर्णतया स्वदेशी लगानी र व्यवस्थापनमा बनेको तामाकोशी परियोजनाले गर्न चाहे नेपाली सक्षम छन् भन्ने पुष्टि गरिदिएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो तामाकोशी डलर महङ्गिएका कारण केहि महङ्गो भने हुनेछ ।

डलरले महँगो
आयोजनाको स्टिमेट गरिँदा एक अमेरिकी डलरको मूल्य ८० रुपैयाँ रहने प्रक्षेपण गरिएको थियो । एक डलरको मूल्य ९६ रुपैयाँमा सिमित रहँदा समेत परियोजनाको लागत तीन अर्ब रुपैयाँले महङ्गो हुने प्रवक्ता न्यौपानेको भनाइ छ । आयोजनाले कुल भुक्तानीको ६५ प्रतिशत डलरमा र ३५ प्रतिशत मात्र नेपाली रुपैयाँमा दिने गरेको छ ।

त्यसैले, डलर एवं बजारको महङ्गीका कारण अधिकतम ४२ अर्ब रुपैयाँ लागतमा परियोजना सम्पन्न हुने कम्पनीको अनुमान छ । लागत बढे पनि अपर तामाकोशी मुलुकका हालसम्म निर्माण भएका जलविद्युत परियोजनामा सबै भन्दा कम खर्चिलो हुनेछ । परियोजनाको प्रतिमेगावाट लागत १० करोड रुपैयाँ पनि पर्दैन । चलनचल्तीको लागत भन्दा यो आधा सस्तो हो ।
 

प्रशारण लाइन चुनौती
तामाकोशीमा उत्पादित विद्युत ४७ किलोमिटर टाढा खिम्ती जलविद्युत आयोजना नजिकै निर्माण हुने सव स्टेसनमा जोडिनेछ । २२० केभि सव स्टेसनको सम्पूर्ण डिजाइन कार्य पुरा भैकेको छ । कुल एक सय २७ वटा टावर मार्फत तामाकोशीको विजुली सव स्टेसनसम्म पुर्याइनेछ ।

प्रशारण लाइनको काम आयोजनाले अघि बढाइ सकेको भए पनि ठाउँ ठाउँमा मुआव्जाको बिवाद निस्किएको छ । कुनै ठाउँमा प्रशारण लाइन बन्ने सुचना पाएपछि हतार हतार गोठ निर्माण गरि घरको मुआब्जा माग्ने क्रम समेत सुरु भएको आयोजना स्रोतले जानकारी दियो ।


चालु आर्थिक वर्षमा ७० वटा टावर बनाउने लक्ष्य राखिएको छ । तर त्यसमध्ये अहिले सम्ममा ५ वटा मात्र पुरा भएका छन् । तीन वटाको काम हुँदैछ भने २६ वटाको जग निर्माण भएको छ ।
त्यस बाहेक आयोजना समयमै बन्ने र लागत पनि खासै नबढ्ने देखिए पछि यसमा राजनीतिक दलहरुको कर्के आँखा समेत लागेको छ । आयोजना सुरु भएको तीन बर्षमा पहिलो पटक माघ दोस्रो साता सेयरको निहुँमा चार दिन निर्माण स्थल जाने बाटो बन्द गराइयो ।
आयोजनास्थल लामावगर र गौरिशंकर गाविसलाई अति प्रभावित एवं दोलखाका अरु गाविस र नगरपालिकालाई प्रभावित गरि दुई समुहमा सेयर दिने मोडालिटी तयार गरिएको थियो । अति प्रभावित गाविसबासीले प्रति व्यक्ति तीन सय कित्ता र अरुले औषत ७० कित्ताको दरले सेयर पाउने अग्रिम निर्णय दोलखाका सबै सरोकारवालाले गरेका थिए ।

पहिलोपटक चार दिन अवरोध

तर, चरिकोटबाट लामावगर जाने सडकले छुने गाविसलाई पनि प्रभावितको सूचीमा पार्नु पर्ने भन्दै चार दिन सडक अवरुद्ध गरियो । वातावरण प्रभाव मुल्याङ्कन रिपोर्टमा आफुहरु प्रभावित सूचीमा रहेको भन्दै धेरै सेयर दिन माग गरिएको थियो ।
अन्त्यमा सबै दल सम्मिलित छलफलले चरिकोटबाट लामावगर जाने सडकले छुने र प्रशारणलाइनका टावर रहने गाविसलाई दोस्रो दर्जाको प्रभावित सूचीमा राख्ने निर्णय गर्यो । उनीहरुले सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयरलाई एक सय प्रतिशत मानि त्यसको २५ प्रतिशत थप सेयर पाउने निर्णय दलहरुले गरेका छन् ।


तर, धितोपत्र सम्बन्धि कानुन अनुसार स्थानियबासीले अधिकतम १० र सर्वसाधरणले न्युनतम १५ प्रतिशत सेयर पाउन पर्छ । त्यसैले दलहरुले गरेको निर्णय आफैंमा अपरिपक्व छ । यस्ता अपरिपक्व र स्वार्थमा आधारित प्रायोजित समस्या नआए तामाकोशी मुलुकको समग्र विकासका लागि कोशे ढुङ्गा सावित हुने प्रष्ट देखिएको छ ।