बैंकमा सुन जम्मा गर्दा ब्याज पाइन्छ ? भारतीय बजेटमा आयो स्किम, हाम्रा अर्थमन्त्रीले सुरु गर्लान ?

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
न्युदिल्ली । सुनको वढ्दो मागबाट चिन्तित भएका वित्तीय मन्त्री अरुण जेट्लीले घरमा निस्क्रिय अवस्थामा रहेका मूल्यवान धातु सुन बजारमा ल्याउनका लागि नयाँ स्किम सुरु गर्ने भएका छन् ।
 
भारतीय संसदमा सन् २०१५/१६ का लागि बजेट प्रस्तुत गर्दै जेट्लीले बैंकमा विशेष खाता सुरु गरेर सुन बजारमा ल्याउने योजनाको घोषणा गरेका हुन् । यो खातामा सुन जम्मा गर्नेले ब्याज पनि पाउने छन् । भारतमा यस्तो खालको स्किम पहिलो पटक आएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
भारतमा अहिलेसम्म २० हजार टन सुन घरघरमा निस्क्रिय अवस्थामा रहेको वित्तीय मन्त्रीको अनुमान छ । सुनको सबैभन्दा ठूलो उपभोक्ता भारतमा बार्षिक आठ सयदेखि एक हजार टनसम्म सुन आयात हुने गरेको छ ।

Tata
GBIME
Nepal Life

निस्क्रिय अवस्थामा रहने सुनको माग बर्षेनी बढ्न थालेपछि चिन्तित बनेका भारतीय वित्तीय मन्त्रीले पहिलो पटक ब्याज भुक्तानी गर्ने गरी सुन बैंकमा राख्ने योजना सार्वजनिक गरेका हुन् ।

 
उनले बैंकमा आएको सुनलाई कसरी व्यवस्थापन गर्ने बारेमा योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख गरेका छन् । भारतमा औपचारिक माध्यमबाहेक चोरी डकैती भएर पनि ठूलो मात्रामा सुन आयात हुने गरेको छ ।
 
भारतकै जस्तो समस्या नेपालमा पनि छ । नेपालमा अत्याधिक सुन आयात भएकै कारण चार बर्षअघि देशको शोधनान्तर घाटा भएको थियो । त्यो घाटा कम गर्न सरकारले केही महिना सुन आयातमा प्रतिवन्धै लगाएको थियो । पछि यसलाई खुला गरेर कोटा प्रणाली लागू गरिएको थियो ।
 
अहिले नेपालमा दैनिक १५ किलो सुन कानुनी बाटोबाट बैंकहरुले भित्राएर बिक्री गर्न पाउने व्यवस्था छ । दैनिक माग भने ३५ किलो हुने गरेको व्यवसायीहरु बताउँछन् । सुन दैनिक १५ किलो आउने तर माग ३५ किलो हुँदा पनि बजारमा सुनको अभाव छैन ।

अभाव नहुनुको मूख्य कारण रोजगारीमा गएकाहरुले निश्चित ग्रामसम्म झिटिगुन्टाबाट भित्राएर हो भने बाँकी माग अवैध मार्गबाट आएको सुनले धान्ने गरेको छ ।

 
नेपालमा बैंकहरुले सुन धितोमा राखेर ऋण दिने गरेका छन् । भारतमा पनि धितोमा ऋण दिने व्यवस्था छ । तर वित्तीय मन्त्री जेट्लीको घोषणापछि विशेष खाता खोलेर बैंकमा सुन जम्मा गर्नेले ब्याज पनि पाउने छन् ।