लघुवित्तको व्याजदर घटाउन गभर्नरको आग्रह, लेखनाथको बुढीबजारमा खुल्यो मुक्तिनाथको शाखा

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015

पोखरा । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले बैंकहरुले ठूलो लगानी र ठूला ग्राहक मात्र हेरेर कारोवार गर्न नहुने बताएका छन् । ससाना कर्जा झन्झटिलो र खर्चिलो हुने भए पनि नेपाली वित्तीय बजारमा यसको योगदान निकै सकारात्मक हुने उनले बताए ।

Tata
GBIME
Nepal Life

मुक्तिनाथ विकास बैंकको २४ औं बैंकिङ कार्यालयको आइतबार लेखनाथको बुढीबजारमा उद्घाटन गर्दै उनले एकै पटक धेरै मुनाफा खोज्ने वित्तीय संस्था भन्दा ससाना लगानी नै दीर्घकालीन हुने धारणा राखे । गभर्नर खतिवडाले भने, ‘अहिले हाम्रो मुलुकमा समावेशी वित्तीय प्रणाली आवश्यक छ, यसले वित्तीय स्थिरता समेत कायम राख्छ ।’

बैंक तथा वित्तीय संस्थाहरुले आप्mनो फाइदा मात्र नभएर ग्राहकको उद्यमशीललाई पनि ध्यान दिनुपर्नेमा जोड दिंंदै गभर्नर खतिवडाले यसका लागि ग्रामीण भेगमा समेत सेवा विस्तार गर्न आग्रह गरे ।

अहिले मुलुकभर लघुवित्तको लहरनै आएको उल्लेख गर्दै उनले यसको ब्याजदर महंगो भएको गुनासो आएकोले बैंक तथा वित्तीय संस्थाहरुले पुनरावलोकन गर्ने बेला आएको बताए । उनले भने, लघुवित्तको ब्याजदर केही तल झार्नुपर्छ, अनि वित्तीय संस्थाहरुले प्रतिस्पर्धा मात्र नगरेर व्यवसायिकता पनि देखाउनु जरुरी छ ।’

ग्रामीण बैंकिङ र लघुवित्तबाट पनि राम्रो नाफा कमाउन सकिन्छ भन्ने उदाहरण मुक्तिनाथले देखाएको भन्दै यसको अनुसरण अन्य वित्तीय संस्थाले समेत गर्नपर्ने उनले बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले संचालक समूह र कर्मचारीको लगाव र सेवाग्राहीको सहयोगका कारण यो अवस्थामा पुग्न सफल भएको बताए । तीन जिल्ला कार्यक्षेत्र सहित स्याङ्जामा स्थापना भएको बैंकको प्रधान कार्यालय हाल पोखरामा छ भने १० जिल्लामा कार्य गर्दै आएको छ । कार्यकारी अधिकृत ढकाललका अनुसार, अहिले चुक्ता पूँजी ६० करोड पुगेको छ भने छिटै नै राष्ट्रिय स्तरको विकास बैंक तयारीका साथ अघि बढिएको छ । एक जिल्ला कार्यक्षेत्र भएको बैंकलाई मर्ज गर्ने योजना रहेको उनले जानकारी दिए ।

हालसम्म छ अर्ब निक्षेप संकलन र पाँच अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकले चालु आवको पहिलो छ महिनामा १६ करोड रुपैयाँ संचालन मुनाफा कमाएको छ । हालसम्म बैंकमा एक लाख ५० हजार निक्षेपकर्ता छन् भने ६५ हजार सेवाग्राही रहेको ढकालले बताए । तीमध्ये ५२ हजार त लघुवित्तका मात्रै छन् ।

बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले बैंकले ग्राहकको हितमा अझै राम्रा योजना ल्याउने तयारी गरेको बताए । बैंकको २५ औं आधुनिक बैंकिङ शाखा यही २५ गते पाल्पाको तानसेनमा उद्घाटन गरिने तय भएको छ ।