सस्तो स्मार्टफोनसहित बजारमा ओलिर्यो नोकिया, मूल्य सय डलरको हाराहारीमा

बिजमाण्डू
२०६९ असोज १० गते ००:०० | Sep 26, 2012
सस्तो स्मार्टफोनसहित बजारमा ओलिर्यो नोकिया, मूल्य सय डलरको हाराहारीमा

नयाँदिल्ली । सामसङ र एप्पलसँग पछाडि परेको नोकियाले मंगलवार बजारमा सस्तो मोडलका दुई नयाँस्मार्टफोन ल्याएको छ । कम्पनीले आशा सिरिजको आशा ३०८ र नोकिया ३०९ बजारमा ल्याएको हो । यी दुई मोवाइलमध्ये आशा ३०८ डबल सिम लाग्ने मोवाइल हो भने ३०९ मा एउटा मात्रै सिम लाग्छ । यो मोवाइलबाट उपभोक्तालाइ कम मूल्यमा इन्टरनेट सुविधा पाउने कम्पनीको दावी छ ।
कम्पनीले नोकियाको यो मोडल सबैभन्दा सस्तो स्मार्टफोन भन्दै दावी गरे पनि यसको मूल्यका वारेमा भने विस्तृत विवरण दिएको छैन । तर भारतमा यसको मूल्य साढे पाँच हजार आसपास हुने बताइएको छ । अन्तराष्ट्रिय बजारमा यो मोवाइल करबाहेक एक सय डलरको हाराहारी पर्ने सम्भावना छ ।
नोकिया ३०८ र ३०९ मा तीन इन्चको क्यापासिटिव टचस्क्रिन छ भने यो मोवाइलको रिजोलुसन पनि राम्रो छ । मोवाइलमा २ मेगापिक्सेलको एउटा क्यामरा छ भने फोनमा ६४ एमबीको इन्टरनल मेमोरी छ, यसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
कम्पनीले यो मोबाइललाई इन्टरनेट फ्रेण्डली बनाउन नोकियाको नयाँ एक्सप्रेस ब्राउजर हालेको छ । अरु ब्राउजरको तुलनामा यो ब्राउजरबाट ९० प्रतिशतसम्म छिटो र प्रभावकारी ढंगले इन्टरनेट एक्सेस गर्न सकिन्छ । यो ब्राउजर क्लाउड बेस्ड ब्राउजर हो ।
नोकियाको यी दुवै मोवाइल टुजी सुविधाका लागि बनाइएको हो, यसमा मल्टिपल होमस्क्रिन, रेडियो, लाउडस्पिकर जस्ता सुविधा राखिएको छ ।

Tata
GBIME
Nepal Life