टेलिकमले एक वर्षअघि बनाएको एपले बल्ल पूर्णता पायो, एप मार्फत टेलिकमको सबै जानकारी लिन सकिने

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
काठमाडौं । नेपाल टेलिकमले एक वर्षअघि सार्वजनिक गरेको 'नेपाल टेलिकम एप' ले बल्ल पूर्णता पाएको छ । टेलिकमले आफ्नो दशौ वार्षिकोत्सवको अवसर पारेर गत वर्ष नै सार्वजनिक गरेको एपलाई एकवर्षपछि पूर्णता दिँदै एघारौ वार्षिकोत्सवमा पुन सार्वजनिक गरेको थियो ।

Tata
GBIME
Nepal Life

सोमबार सो एपबारे जानकारी दिन आयोजित कार्यक्रममा टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले एक वर्षअघि नै एप बनेको भएपनि त्यो पूर्ण नभएको बताए । उनले भने, 'हामीले एक वर्षमा धेरै नै फिचरहरु राखेर फेरि एप सार्वजनिक गरेका छौँ । सो एप मार्फत उपभोक्ताले टेलिकमको विभिन्न सेवाबारे जानकारी लिन सक्नेछन् ।'

टेलिकमले सार्वजनिक गरेको एप अहिले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा डाउनलोड गरेर उपभोक्ताले प्रयोग गर्न सक्छन् । चाँडै नै विन्डोज र एप्पल स्टोरमा पनि यो एप उपलब्ध हुने सहप्रवक्ता अधिकारीले बताए । उनले भने, 'हामीले एक हप्ताअघि एप्पल स्टोरमा हाम्रो एप राख्नको लागि पत्र पठाइसकेका छौँ । एक हप्ताभित्रमा आइओएस अपरेटिङ सिस्टममा पनि यो एप उपलब्ध हुनेछ ।'

नेपालमा पनि स्मार्टफोन प्रयोगकर्ता दिनदिनै बढ्दै गएकोले उपभोक्ताले घरमा नै बसिबसि टेलिकमको सेवा लिन सकून् भनेर एप बनाइएको अधिकारीले बताए । उनले भने, 'अब उपभोक्ता टेलिकम कार्यालयमा गएर, लाइन बसेर सेवा लिन नपरोस् भनेर एप ल्याएका हौँ । उनीहरुले औँलाको भरमा टेलिकमको सबै सेवा लिन र सेवाबारे जानकारी राख्न सक्नेछन् ।'

उपभोक्ताले टेलिकमको महशुल दरबारे जानकारी लिन,  व्यालेन्स इन्क्वाइरी गर्न, रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न, थ्रीजी र जिपिआरएसको कन्फ्युग्रेसन तरिका जानकारी लिन, पिएसटिएन, एडिएसएल, जिएसएम पोष्टपेडको रकम भुक्तानी एप मार्फत गर्न सक्नेछन् ।
 
यसैगरी टेलिकमले दिने सेवाको जानकारी लिन, कहाँ र कुन सेवाबाट फोन गर्दा कति रुपैयाँ लग्छ भन्ने जानकारी लिन, नयाँ नयाँ अफरहरुबारे जानकारी लिन पनि एप उपयोगी हुने टेलिकमले जनाएको छ । अधिकारीले भने, 'यो एपबाट उपभोक्ताले १९७, १९८ मा समेत सोझै कल गर्न सक्छन् ।'

उनका अनुसार फ्रन्डली एन्ड फेमिली प्याकेज, वाइम्याक्सको प्याकेज र कम्पनीको प्रोफाइल समेत एप मार्फत नै जानकारी लिन सकिन्छ ।

अधिकारीका अनुसार यही एप मार्फत सिप फोन समेत प्रयोग गर्न सक्ने व्यवस्था टेलिकमले गर्दै छ ।

'निशुल्क एसएमएस सुविधा दिने र उपभोक्ताको प्रोफाइल तयार गर्दै जाने तयारी भइरहेङ्को छ,' उनले भने, 'एप्समा पुस नोटिफकेसनको चलन बढ्दै गएकोले हामीले प्रविधिसँग सम्वन्धित समाचार फिड पनि दिँदै जाने योजनामा छौँ ।'

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले उपभोक्ताको प्रतिक्रियापछि एपलाई परिमाजर्जित गर्दै लैजाने बताए । उनले भने, 'यो एपमा धेरै सुविधा छन् । तर हामी अझै यसलाई परिस्कृत गर्दै सेवालाई राम्रो बनाउँदै लैजाने छौँ ।'