कच्चा तेलको मूल्य घटेपछि आयल निगम निरन्तर नाफामा, नागरिक लगानी कोषको तीन अर्ब तिर्दै

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
कच्चा तेलको मूल्य घटेपछि आयल निगम निरन्तर नाफामा, नागरिक लगानी कोषको तीन अर्ब तिर्दै
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमले ९ अर्ब ६५ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले असोज १३ गते स्वचालित मूल्य कार्यान्वयनपछि भएको नाफाले ऋण तिर्न सकेको हो ।  पछिल्लो केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिव्यारल ४७ डलरसम्म पुगेको थियो । 
 
‘स्वचालित मूल्य कार्यान्वयनमा ल्याएपछि हामीले विस्तारै ऋण तिर्न सफल भएका छौ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले बिजमान्डूसँग भने, ‘यसले निगमलाई केही भएपनि राहत भएको छ ।’ 
 
निगमको सोमबार बसेको संचालक समिति बैठकले नागरिक लगानी कोषको ३ अर्ब रुपैयाँ ऋण तिर्ने निर्णय गरेको छ । निर्णयमा माइन्युटिङ मात्रै हुन बाँकी छ । निगमले कोषबाट ८ अर्ब ६६ करोड रुपैयाँ ऋण लिएको छ । 
 
 निगमले नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको साढे १० प्रतिशत ब्याज तिर्दै आएको छ । तात्कालिन अर्थमन्त्री शंकरप्रसाद कोइरालाको पालामा सरकारी संस्थानलाई महँगो ब्याज लिएको भन्दै घटाउन पहल गरेका थिए । उनकै पालामा साढे १२ प्रतिशतको ब्याज घटेर साढे १० प्रतिशतमा झारेको हो । 
 
निगमले नाफा हुनेवितिकै इन्डियन आयल कर्पोरेशन(आइओसी)को ५ अर्ब १५ करोड(३ अर्ब २२ करोड भारु) तिरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा तिर्न नसकेर निगमले आइओसीले उधारोमा तेल ल्याउने गरेको थियो । उधारोमा तेल ल्याउँदा निगमले आइओसीले महँगो ब्याज बुझाउने गरेको थियो । निगमले तीन महिना अघि सञ्चय कोषको डेढ अर्ब रुपैयाँ ऋण तिरिसकेको छ । निगमले मासिक नाफाबाट ऋण मात्रै घटाएको छैन । 
 
सरकारले चालु आर्थिक वर्षको बजेटबाट ल्याएको मूल्य स्थिरीकरण कोषमा समेत २ अर्ब २५ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । सरकारले चालु बजेटमार्फत ल्याएको कोषमा ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेलामा जम्मा भएको रकम प्रयोग गरेर उपभोक्तालाई कम भार पार्न यो कोषको स्थापना गरिएको हो । विभिन्न तेल आयात गर्ने मुलुकहरुले यही अवधारणामा कोष स्थापना गरेका छन् । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगम निरन्तर नाफामा छ । फेब्रुअरी महिनामा निगमले ५४ करोड रुपैयाँ नाफा कमाएको थियो । निगमका प्रवक्ता घिमिरेका अनुसार तेलको मौज्दातका लागि रकम लगानी भएको छ । 
 
‘हामीले पाँच महिनाको अवधिमा मौज्दात ४० हजार किलोलिटर पु¥याएका छौ,’ उनले भने, ‘असोजमा नौ हजार किलोलिटर मात्रै थियो ।’

Tata
GBIME
Nepal Life