काठमाडौँ विमानस्थलमा टर्किस एयरलाइन्स दुर्घटना, दुई सय २३ यात्रु सकुशल, विमानस्थल बन्द

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
कञ्चन अधिकारी/बिजमाण्डू 
काठमाडौँ : २ सय २३ यात्रुसहित टर्कीको अंकाराबाट काठमाडौँ आएको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भए पनि ठूलो क्षति हुनबाट टरेको छ। 



विमान रनवेबाट करिब २५ मिटर टाढा गएर अगाडिको भाग जोतिन पुगेको थियो। घटनास्थलमा रहेका नेपाल वायुसेवा निगमका कर्मचारी प्रकाश घिमिरेका अनुसार विमानको देब्रे इन्जिनमा क्षति पुगेको देखिएको छ। 

त्यसैगरी विमानस्थलको पनि रनवेमा क्षति पुगेको छ। रनवेमा रहेका केही लाइटहरु फुटेका छन्। 



विमान दुर्घटना हुँदा आगो समेत बलेको भए पनि तत्काल अग्नि नियन्त्रकहरुले निभाएका थिए। 

विमानमा रहेका एक मुटु रोगी र अर्का एक यात्रु गरी दुई जना उद्दारका क्रममा घाइते भेटिएका छन्। उनीहरुलाई उपचारका लागि लगिएको छ। 

Tata
GBIME
Nepal Life

किन भयो दुर्घटना ?

केही दिनदेखिको वर्षाका कारण बुधबार पनि बिहानैदेखि मौसम खुलेको थिएन। भिजिबिलिटी कमै थियो। अवतरण गर्नुअघि टर्किस एयरलाइन्सको यो विमानले आकाशमा केही फन्का लगाइसकेको थियो। प्राविधिक भाषामा यसलाई होल्ड गर्नु भनिन्छ। 

एयर ट्राफिक कन्ट्रोलरको अनुमति पछि विमानस्थलमा अवतरण गर्ने क्रममा रनवे छाडेर जोतिन पुगेको हो। यसका लागि प्रारम्भिक रुपमा मौसम जिम्मेवार रहेको अनुमान गरिए पनि विस्तृत अनुसन्धान हुन बाँकी छ। 

विमानस्थल बन्द

टर्किस एयरलाइन्सको उद्दार कार्य पूर्ण रुपमा नसकुन्जेल काठमाडौँ विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ। अहिले यहाँबाट आन्तरिक र अन्तर्राष्ट्रिय कुनै पनि विमान उड्ने र अवतरण गर्ने कार्य हुने छैनन्। सुरुमा मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको भनिए पनि त्यो समय अझै बढ्न सक्ने सम्भावना रहेको विमानस्थल स्रोत बताउँछ।





तस्बीरहरु : सुर्य नेपालको फेसबुकबाट