दुर्घटनाग्रस्त विमानका यात्रुले यसरी सम्झिए त्यो भयावह क्षण, आठ चक्कर घुमेपछि जमिनमा बज्रियो

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015

Tata
GBIME
Nepal Life

काठमाडौँ विमानस्थलमा टर्किस एयरलाइन्स दुर्घटना
——————————————————————————————————————————————————

दीपक मल्होत्रा
बार्सिलोनाको मोवाइल वर्ल्ड क‍ङ्ग्रेसमा सहभागी भएर टर्किस एयरलाइन्सबाट हामी स्वदेश फर्कँदै थियौं। म थिएँ, दिकेश थियो। दिकेश जसले विमानबाट झर्ने बित्तिकै खिचेका फोटोहरु अहिले सामाजिक सञ्जालमार्फत् विश्वभर फैलिएको छ। त्यस्तै सामसङको रिप्रेजेन्टिटिभ कार्यालयका प्रमुख कोरियन नागरिक युविन र प्रणयराज स्थापित गरी हाम्रो चार जनाको टिम थियो।

 
सुरुमा पाइलटले अनाउन्स गरे, हाम्रो सेड्युल फ्लाइट ६.५५ मा ल्याण्ड गर्ने हो, तर हामी काठमाडौंमा ६.२५ मै ल्याण्ड गर्छौं।
 
हामी काठमाडौं नजिक आइपुगेका थियौं। फेरि पाइलटले अनाउन्स गरे – काठमाडौंमा भिजिबिलिटी छैन, हामी सात बजेको हाराहारीमा ल्याण्ड गर्छौं।
 
काठमाडौंको आकाशमा सात चक्कर लागेपछि सात बज्न थालेको थियो। मैले झ्यालबाट हरेँ। प्लेन तीनकुने माथि आइपुगेको रहेछ। हामी ल्याण्ड हुने प्रतिक्षामै थियौं, प्लेन एक्कासी ओभरसुट (तल झरिसकेको विमानले एक्कासी उचाइ लिने प्रक्रिया) गरियो।
 
पाइलटले फेरि अनाउन्स गरे, काठमाडौंमा अझै भिजिविलिटी छैन, हामी आधा एक घण्टापछि मात्रै ल्याण्ड गर्छौं।
 
हामी पनि झ्यालबाट बाहिर हेरिरहेका थियौं। अँध्यारो थियो। लामो गोलचक्करपछि फेरि प्लेन तिनकुने आयो, हामी ल्याण्ड हुने प्रतिक्षामा थियौं।
 
तर अकस्मात् प्लेन भुँईंमा पो बजारियो। भयङ्कर आवाज पनि आयो। प्लेनभित्र धुँवा पनि देखियो। अहो, प्लेनभित्र  भएका ह्याण्डव्याग त यत्रतत्र छरिएका। मान्छे के भयो भनेर कोलाहल मच्चाउँदै थिए।
 
म बिजनेस क्लासमा थिएँ, अघिको ढोका खुल्यो। सबैभन्दा पहिले म झरें।
 
हेर्छु प्लेन त दुई वटा रनवेको बीचमा खसेको रहेछ। बाहिर सेना, प्रहरी, विमानस्थलका कर्मचारी, एम्बुलेन्स, दमकल स्ट्याण्डबाई थिए। कसैले भन्यो, विमानमा आगो लाग्दैछ। हतार-हतार चारवटै इमरजेन्सी ढोका खोलिए।
 
त्यही ढोकाबाट स्लिप हुँदै यात्रु झर्न थाले। विमानस्थल कर्मचारीले एक÷एक यात्रुलाई बसमा राखेर सुरक्षित रुपमा घटनास्थलबाट बाहिर लगे।
 
विमानमा अधिकांश यात्रु विदेशी थिए। नेपाली केही मात्रै थियौं।
 
एयरलाइन्सले लगेजहरु भोलि मात्रै दिने भनेको छ। ठूलो दुर्घटनाको मुखबाट हामी बालबाल बच्यौं। विमानस्थलमा गजबसँग मिलाइएका आपतकालीन व्यवस्थाले पनि दुर्घटनालाई टार्‍यो। 

दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु दीपक मल्होत्राले पहिलोपोस्टसँग गरेको कुराकानी। उनी सामसङ नेपालको आधिकारिक विक्रेता आइएमएसका अध्यक्ष हुन्।