टर्किस एयरलाइन्स दुर्घटनापछि पाँच विमानको उडान रद्ध, पाँच वटा डिले, विमानस्थलमा यात्रुको बेहाल

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015

Tata
GBIME
Nepal Life

कञ्चन अधिकारी/बिजमाण्डू
त्रिभुवन विमानस्थल, काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज दुर्घटना भए पछि बुधबारका अधिकांश उडान प्रभावित भएका छन् ।

अहिले सम्म पाँच हवाइ सेवाका उडान रद्ध गरिएको छ भने पाँच वटा डिले भएका छन् ।



भुटानबाट काठमाण्डौँ आउने ड्रुक एयर, मुम्वइबाट काठमाडौँ आउने जेट एयरवेज, बैंककबाट नेपाल आउने थाइ एयरवेज, एयर चाइना र स्पाइस जेटले उडान रद्ध गरेका हुन् ।



त्यस्तै एयर अरेविया, नेपाल एयरलाइन्स, कतार एयर, मलेसियन एयरलाइन्स र बिमान बंगलादेशको उडान डिले भएको छ । सबै आन्तरिक उडान पनि डिले भएका छन् ।



भिजिविलिटी कम भए पछि बिहान पौने आठ बजे टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुर्घटना भएको थियो । बिहान तीन घन्टाका लागि बन्द गरिएको बिमानस्थलमा पाँच बजे सम्मका सबै उडान स्थगित गरिएको छ ।



टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि आपतकालीन व्यवस्थापनका लागि विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय विमान अवतरण र उडानमा रोक लगाएपछि यात्रुहरुको बिजोग भएको छ। 



विमानस्थलमा यात्रुहरु लगेज बोेकेर यता र उता भौँतारिरहेको देख्न पाइन्छ। कति यात्रुलाई उडान रद्द भएको र विमानस्थल बन्द भएको जानकारी छैन। यात्रुहरुलाई सही सूचना प्रवाह गर्न सकेको देखिएको छैन। विशेष गरी कनेक्टिङ फ्लाइट भएका यात्रुहरुलाई यसले अप्ठेरो पर्ने देखिएको छ। 



विमानस्थल प्रशासनले सुरुमा मध्याह्न १२ बजेसम्मका लागि कुनै पनि विमान उड्न र अवतरण नहुने गरी बन्द गरेको जनाए पनि त्यसलाई बढाएर अपराह्न ५ बजेसम्म बनाइएको छ। विमानस्थलस्थित प्रहरी हेल्प डेस्कमा रहेका प्रहरी नायब निरीक्षक मीनबहादुर देउवाका अनुसार अपराह्न ५ बजेसम्म अन्तर्राष्ट्रिय तर्फको उडान र अवतरण बन्द हुनेछ। आन्तरिक विमान उडान भने मध्याह्न १२ बजेदेखि सुचारु भएको छ।



योसँगै विदेशबाट काठमाडौँमा अवतरण हुने सेड्युल रहेको विमान अन्यत्रै डाइभर्ट गरी पठाइएको छ। 

२ सय २३ यात्रुसहित टर्कीको अंकाराबाट काठमाडौँ आएको एयरबस ३२०-३०३ विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भए पनि ठूलो क्षति हुनबाट टरेको थियो।  



दुर्घटनाले विमानस्थलको रनवेमा क्षति पुगेको छ। रनवेमा रहेका केही लाइटहरु फुटेका छन्। अन्य क्षतिको लेखाजोखा भइरहेको छ।