त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘अनिश्चित काल’का लागि बन्द, विमान ननिकाली उडान नहुने

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘अनिश्चित काल’का लागि बन्द, विमान ननिकाली उडान नहुने

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौँ । टर्किस एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द रहेको काठमाडौँ विमानस्थल अनिश्चित कालका लागि बन्द भएको प्राविधिक स्रोतले जनाएको छ। औपचारिक रुपमा भने विमानस्थल प्रशासनले भोलि बिहीबार अपराह्न ४ बजेसम्मका लागि विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द हुने जनाउ एयरलाइन्सहरुलाई दिइसकेको छ। 

Tata
GBIME
Nepal Life

यसअघि बुधबार बिहान दुर्घटना भएपछि सुरुमा मध्याह्न १२ बजेसम्म र त्यसपछि साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गर्ने सूचना दिइएको थियो। 

'भोलि अपराह्न ४ बजेपछि पनि एयरपोर्ट खुल्ने संभावना छैन', विमानस्थलस्थित प्राविधिक स्रोतले पहिलोपोस्टलाई बतायो, 'दुर्घटनाग्रस्त विमानलाई रनवेबाट नहटाएसम्म उडान र अवतरण संभव छैन।'

यात्रु अलपत्र
विमानस्थल बन्द भएपछि बुधबारका ४० उडान रद्द भएका छन्। दिनभर विमानस्थलमा यात्रुहरु अलपत्र परेका थिए। काठमाडौँ आउन तयार भएका विमानहरु अन्यत्रै डाइभर्ट गरिएका थिए। भोलि पनि तीन दर्जन उडान रद्द हुने निश्चित छ।  

रद्द भएपछि नियम अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यात्रुहरुलाई होटलमा राख्नुपर्ने हुन्छ। 

किन भयो बन्द विमानस्थल?
विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि उपयोग हुने रनवेमै दुर्घटनाग्रस्त विमान रहेको छ। अहिले विमान उडाउन खोज्दा पखेटाले रोक्ने स्थिति छ। 

विमानलाई सो स्थानबाट हटाउन आवश्यक क्रेन नेपालमा नै छैन। स्रोत भन्छ, 'यस्तो क्रेन एउटा मुम्बईमा छ, भारतीय एयरफोर्सको।'

त्यसलाई ल्याउने विमान अवतरण गराउन कम्तिमा ५ हजार मिटरको रनवे भएको विमानस्थल आवश्यक पर्छ। तर काठमाडौँ विमानस्थलको रनवे ३ हजार मिटरको हाराहारीमा मात्रै छ। 

अब पाइलटले ३ हजार मिटर रनवे भए पनि जोखिम मोलेर अवतरण गर्न राजी भएमात्रै क्रेनसहितको विमान अवतरण हुनसक्छ। 

'फ्युल अटोमेटिक लक'
यसैगरी क्र्यास ल्यान्ड गरेको विमानको फ्युल अटोमेटिक लक भएको स्थितिमा रहेको प्राविधिक स्रोत बताउँछ। फ्युल ननिकाली सार्न नमिलेका कारण पनि अहिले गाह्रो भइरहेको हो। 

ठूलो दुर्घटना टर्‍यो
टर्किस एयरलाइन्सका चालकले विमानलाई खाल्डोमा जानाजानी लगेका कारण ठूलो दुर्घटना टरेको प्राविधिक स्रोतको जिकिर छ। यदि विमान रनवेमा नै केही समय कुदेको भए आगो लाग्ने र झन् ठूलो क्षति हुनसक्ने स्थिति थियो। 

अलि अगाडि बढेको भए विमान नेपाल आयल निगमको हवाई इन्धन डिपो रहेको ठाउँमा पुग्न सक्थ्यो। त्यहाँ विमान पुगेको भए अकल्पनीय क्षति हुन सक्थ्यो।
 

काठमाडौँ विमानस्थल 'अनिश्चित काल'का लागि बन्द, विमान ननिकाली उडान नहुने – See more at: http://www.pahilopost.com/content/-2668.html#sthash.mNRJRw22.dpuf