उडान रद्द भएपछि यात्रुले राजधानीका तारे होटल खचाखच, विदेश जान लागेका चार हजार यात्रु रोकिए

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015

काठमाडौं  । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि बुधबार काठमाडौंका तारे होटल भरिएका छन् । उडान रद्द भएर वेहाल यात्रुलाई वायुसेवा कम्पनीले बिभिन्न होटलमा राखेका हुन् । दुर्घटना पछि नेपाल नागरिक उड्ड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द गरेको थियो ।

Tata
GBIME
Nepal Life

बुधबार २३ अन्तराष्ट्रिय वायुसेवा कम्पनीका ४० उडान काठमाडौँका लागि निर्धारण गरिएका थिए । ति उडानबाट चार हजार भन्दा बढि यात्रु विदेश जान लागेका थिए ।  बुधबार दिनभर उडान नहुँदा ति सबै यात्रु काठमाडौँमा अड्किएका हुन् । बजेट एयरलाइन्स बाहेक अरु वायु सेवा कम्पनीले यात्रुलाई आफैँले होटलको व्यवस्था गरेर राखेका छन् ।

नेपाल वायुसेवा निगमले बिहान आठ बजे दोहा जान एयरपोर्ट पुगेका यात्रुलाई होटल राजश्थान सुन्धारामा राखेको छ । निगमको बोइङबाट एक सय ९० जना यात्रु कतार जान लागेका थिए । भारतको नयाँ दिल्ली जान एयरपोर्ट पुगेका निगमका यात्रु भने घर फर्किएका निगमले जनाएका छ ।

यस्तै सिल्क एयरले भने आफ्ना यात्रुलाई सोल्टी लगायत बिभिन्न होटलमा राखेको छ । सबै यात्रुलाई एउटै होटलमा राख्न लागि कोठा नपाएपछि वायुसेवा कम्पनीहरुले उपत्यकाका बिभिन्न पाँचतारे एवं स्तरीय होटलमा कोठा बुक गरेको बताएका छन् ।  

‘हामीले पाँचतारे देखि अरु बिभिन्न स्तरीय होटलमा यात्रुहरुलाई राखेका छौँ’ नेपालस्थित सिल्क एयरको जनरल सेल्स एजेन्ट एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका सुधीर पाण्डेले भने ‘एउटै होटलमा राख्न नसकिने भएपछि जहाँ-जहाँ रुम खाली छन् त्यतैतिर मिलाएर राखिएको हो ।‘

सिल्क एयर नेपाल आउन नसकेपछि नेपालबाट सिंगापुर जाने यात्रु रोकिएका छन् । ‘उपत्यकामा घर भएका यात्रुलाई घरै भनेका छौँ, यहाँ घर नहुने तथा विदेशीलाई होटलमा राखेका छौँ’ उनले भने  ।

होटल एसोशिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले टर्किस एयरलाइन्स दुर्घटना भएपछि होटल बुकिङको लागि इन्क्वाइरी धेरै आएको बताए । एयरपोर्ट नजिकै रहेको शाहको एयरपोर्ट होटलमा धेरै वायुसेवा कम्पनीले होटलको रुम चाहियो भन्दै फोन गरेका थिए । ‘हाम्रो होटलमा पहिले नै ६५ प्रतिशत अकुपेन्सी थियो, बाँकी रहेका रुम वायुसेवा कम्पनीले लिएका छन्’ उनले भने ।

काठमाडौंका प्राय सबै पाँचतारे र अरु स्तरीय होटल तथा गेष्ट हाउसमा यात्रु पठाइएको उनले जानकारी दिए ।  होटल सांग्रीलामा भने पहिले नै अकुपेन्सी शतप्रतिशत पुगेको हुँदा कुनै वायुसेवाले आफ्ना यात्रु राख्न आग्रह नगरेको होटल सांग्रीलाका वरिष्ठ महाप्रबन्धक राजुविक्रम शाले बताए ।

नेपालबाट खाडी मुलुक तथा मलेसिया काममा जानको लागि आएका यात्रु भने नयाँबसपार्कका होटल तिर लागेका छन् । बजेट एयरलाइन्समा विदेश जान लागेका यात्रुलाई वायुसेवा कम्पनीले खाने वस्ने व्यवस्था नगर्ने हुँदा उनीहरुले आफ्नै खर्चमा होटल खोजि गरेका हुन् ।

बैतडीबाट कामको सिलसिलामा मलेसिया जान लागेका दानबहादुर बोहोराले बुधबार बेलुका नयाँ बसपार्कमा गएर बस्ने बताए । उनले भने, ‘ हामी काममा जान लागेका छौँ, त्यसमाथि पनि सस्तो टिकट काटेका छौँ, हामीलाई कसले पाँचतारे होटलमा लगेर राख्ने ?‘ उनीसहित ७० जना मलेसिया कामका लागि जान लागेका युवा छन् ।

केही कारणले आफ्ना यात्रुलाई भनेको समयमा जहाज उडाउन सकिएन भने यात्रुलाई पाँच तारे होटलमा राख्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । मंगलबार बिहान सवा सात बजे टर्किस एयरलाइन्स विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा सबै यात्रु सकुशल  छन् ।