कास्कीको बजेट पाँच अर्ब रुपैयाँ नाघ्यो, विकास खर्च दुई अर्ब ७७ करोड, चालु दुई अर्ब २४ करोड

बिजमाण्डू
२०७१ फागुन २१ गते ००:०० | Mar 5, 2015
कास्कीको बजेट पाँच अर्ब रुपैयाँ नाघ्यो, विकास खर्च दुई अर्ब ७७ करोड, चालु दुई अर्ब २४ करोड

पोखरा । कास्की जिल्लाको बजेट पाँच अर्ब रुपैयाँ नाघ्यो । २३ औं जिल्ला परिषदले आगामी बर्षका लागि पाँच अर्ब एक करोड ९१ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको हो ।

Tata
GBIME
Nepal Life

गत बर्ष भएको २२ औं परिषदले चार अर्ब ८० करोड ९७ लाख रुपैयाँको योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्दै आएको छ । आगामी आर्थिक वर्षको लागि गत वर्षको तुलनामा करिब २१ करोड रुपैयाँ बढाएर बजेट प्रस्तुत गरिएको हो ।
 
आगामी बर्षका लागि पूँजीगत तर्फ २ अर्ब ७७ करोड र चालूतर्फ २ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले बुधबार २३औं जिल्ला परिषदमा जानकारी दिए ।

आगामी बर्ष पनि जिल्ला विकास समितिको सबैभन्दा बढी बजेट पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने भएको छ । यसका लागि सम्पूर्ण बजेटको करिब ४७ प्रतिशत अर्थात दुई अर्ब ३५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

यस्तै सामाजिक विकासका क्षेत्रमा पनि ४६ प्रतिशत अर्थात दुई अर्ब ३२ करोड, वन तथा वातावरण विकासका लागि करिब चार प्रतिशत १८ करोड ९५ लाख र आर्थिक विकासका लागि तीन प्रतिशत १५ करोड ७८ लाख रुपैयाँ प्रश्ताव गरिएको अधिकारीले बताए ।

आगामि आर्थिक वर्षमा जिविसको आन्तरिक आय ११ करोड ५७ लाख अनुमान गरिएको छ भने केन्द्रीय अनुदानबाट ६६ करोड ७२ लाख अनुमान गरिएको छ । जिविसको आफ्नै बजेट भने ७८ करोड रुपैयाँ अनुमान गरिएको छ । यसमा चालु तर्फ पाँच करोड ७६ लाख र पूँजीगततर्फ ७२ करोड ५३ लाख रुपैयाँ छ ।

गैर सरकारी संस्थाहरुको सहभागिता बढ्यो
२३ औं जिल्ला परिषदबाट गैर सरकारी संस्थाहरुको सक्रियता पनि बढेको छ । यसअघिका परिषद्हरुमा अधिकांश गैससहरुको बजेट तथा कार्यक्रमहरु समाबेश नभएपनि यो बर्ष ६१ वटा गैससहरुले आफ्नो बजेट र कार्यक्रम पेश गरेका हुन् । जसमध्ये सामाजिक विकास समितितर्फ ४८ वटा, आर्थिक विकास समितिमा नौं वटा र वन तथा वातावरणमा चार वटा गैससहरुले बजेट र कार्यक्रम पेश गरेका छन् ।

ती गैससहरुले आगामी बर्ष ४८ करोड ८८ लाख रुपैयाँ खर्च गर्ने तयारी गरेका छन् । यसमा पनि सबैभन्दा धेरै सामाजिक क्षेत्रमा काम गर्ने गैससहरु धेरै छन् । सामाजिक क्षेत्रमा काम गर्ने गैससहरुको ४० करोड ५९ लाख रुपैयाँ बजेट छ ।

यस्तै आर्थिक विकासका क्षेत्रमा पाँच करोड ४५ लाख र वन तथा वातावरणका क्षेत्रमा दुई करोड ८२ लाख रुपैयाँ बजेट समाबेश गरिएको छ ।

सडक तर्फ नै खनियो बजेट
आगामी बर्ष पनि जिल्लाको अधिकांश बजेट सडक निर्माण र स्तरोन्नतिको काममा खर्च हुने भएको छ । आगामी बर्ष सडक निर्माण र स्तरोन्नतिका लागि १७ करोड सात लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

यसमा स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमतर्फ एक करोड ५३ लाख, एसएनआरटिपीतर्फ नौं करोड ८० लाख, सडक बोर्डतर्फ ५० लाख, आर्थिक सामाजिक एवं भौतिक पूर्वाधार विकास तर्फ दुई करोड पाँच लाख र प्रर्बद्धनात्मक क्षेत्र अन्तर्गत ६२ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजनामार्फत सात वटा पुल निर्माणका लागि दुई करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी बर्ष एक सय वटा सडक र मोटरेवल पुल निर्माण हुने जिल्ला विकास समिति कास्कीले जनाएको छ ।