शुक्रबार विहान १० बजेसम्म अन्तर्राष्ट्रय विमानस्थल नखुल्ने, तीन दिन २४सै घण्टा खुल्ने

बिजमाण्डू
२०७१ फागुन २१ गते ००:०० | Mar 5, 2015
शुक्रबार विहान १० बजेसम्म अन्तर्राष्ट्रय विमानस्थल नखुल्ने, तीन दिन २४सै घण्टा खुल्ने


कञ्चन अधिकारी /बिजमाण्डू

Tata
GBIME
Nepal Life

अपडेट
काठमाडौं। भारतीय एयरफोर्सको एयरक्राफ्ट रिमुभल किटसहितको टोली आइसकेको भए पनि भोलि बिहान १० बजेसम्मका लागि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण नहुने भएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले पत्रकार सम्मेलन आयोजना गर्दै भोलि बिहानसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसक्ने जानकारी दिएका हुन्।

प्राविधिक सहितको भारतीय टोलीले काम सुरु गरेपनि विमानलाई सतहमा ल्याउन समय लाग्ने भएको हो। 'विमानलाई लेभलमा ल्याएपछि मात्र रनवे खुला हुन सक्छ,' सुमनले भने।

भारतीय एयरफोर्सको प्राविधिक सहितको टोलीले काम सुरु गरेको तर केही समय लाग्ने देखिएकाले शुक्रबार बिहान १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडानका लागि रनवे खुला हुन नसक्ने उनले जानकारी दिए।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि यात्रुहरु अलपत्र रहेका छन्। अलपत्र परेका यात्रुहरु विमानस्थलमा भौँतारिरहेका छन्।

यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थलको खुल्ला गर्ने जनाएको छ। अहिले त्रिभवुन विमानस्थल राति १२ बजे देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।

काठमाडौँ । टर्किस एयरलाइन्सको बुधबार क्र्यास ल्यान्ड गरेको एयरबस हटाउन भारतीय एयरफोर्सको एयरक्राफ्ट रिमुभल किटसहितको विमान अहिले दिउँसो १ बजेर १ मिनेटमा अवतरण भएको छ।

विमानस्थलको ०२० रनवे (बौद्धतर्फको) बाट यो विमान ल्यान्ड गरिएको हो। यो सि १३० हर्कुलस विमानमा प्राविधिकहरु पनि रहेका छन्। 

नागरिक उड्डयन प्राधिकरणले बुधबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा  महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले भारतीय वायुसेनाको एयरक्राफ्ट रिमुभल किट ल्याउन प्राधिकरणको पहलमा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, भारतीय दूतावास हुँदै भारतीय वायुसेनालाई अनुरोध गरिसकिएको जानकारी दिएका थिए। 

बिहानै अवतरण गराउने भनिए पनि विमान आउन ढिला भएको हो। 
 
किन चाहियो भारतीय सहयोग
नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनका अनुसार टर्किस एयरलाइन्सको एयरबस ३२०-३०३ ठूलो जहाज र वजन धेरै भएकोले हटाउन समस्या भएको हो। 'हामीले १७ टन इन्धन हटाउँदा पनि अझै १५० टन वजन छ। हामीसँग टोइङ मेसिन जम्मा ७० टनको छ। क्रेनको क्षमता पनि जम्मा ७० टन तान्न सक्ने मात्रै छ', सुमनले भने, 'जहाजको ल्यान्डिङ गियर क्षतिग्रस्त भएकोले टोइङ (गुडाएर डोर्‍याउन सक्ने) स्थितिमा छैन।'

उनले भने, 'यो एरियामा रिमुभल किट जम्मा एउटा मात्रै छ- मुम्बई विमानस्थलमा इन्डियन एयरफोर्सको। जहाज रनवेको झण्डै बीच भागमा छ। जसले गर्दा ठूलो जहाज हामी रनवेमा ल्यान्ड गराउन सक्दैनौँ। हामी यस्तो विमानको खोजीमा छौँ, जो ५ हजार मिटर रनवेमा बौद्ध साइडबाट ल्यान्ड गरोस्। जहाज खोजिसकेका छौँ। यो जहाजलाई हामी राति ल्यान्ड गराउन सक्ने अवस्थामा छैनौँ। त्यसैले भोलि बिहान हामी ल्यान्ड गराउने छौँ।'
 
'यस्ता घटना विरलै मात्र हुन्छ, हामीसँग साधन कम छ। छिमेकी मुलुक भारत र थाइल्यान्डमा पनि यस्ता क्षमतावान एयर क्राफ्ट एक–एक वटा मात्र छन्। आगामी दिनमा पाठ सिकेर तयारी अवस्थामा रहनुपर्छ', उनले भने।
 
विमान हटाउनका लागि स्वदेशी एवम् आवश्यकता परेमा विदेशी जनशक्तिसमेत परिचालन गरिने उनले बताए। 
विमानस्थलमा अवतरण गराउन नसकेको भए
विमान हटाउन आवश्यक रिमुभल किट यो क्षेत्र मै भारत र थाइल्यान्ड गरी दुई स्थानमा रहेको जानकारी दिँदै सुमनले भने, 'हाम्रो रनवेको साइजका कारण पनि त्यस्ता विमान अवतरण गराउन सकिँदैन।'

उनका अनुसार काठमाडौँमा विमान अवतरण गराउन नसकेको भए नजिकैको विमानस्थल भारतको बागडोरामा अवतरण गराएर त्यहाँबाट सडकमार्ग हुँदै काठमाडौँ ल्याउनु परेको भए २० घण्टासम्म लाग्न सक्थ्यो। 
 
अनिश्चित कालका लागि विमानस्थल बन्द
टर्किस एयरलाइन्सको विमान नहटाएसम्म विमानस्थल बन्द हुने निश्चित छ। औपचारिक रुपमा भने विमानस्थल प्रशासनले भोलि बिहीबार अपराह्न ४ बजेसम्मका लागि विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द हुने जनाउ एयरलाइन्सहरुलाई दिइसकेको छ। 

तर भारतीय विमानै आउन ढिला भएकोले आज विमानस्थल नखुल्ने लगभग निश्चित छ।