ग्यालेक्सी नोट २ भारतमा विक्री सुरु, मूल्य ६४ हजार, नेपालमा ७० हजारको हाराहारीमा उपलब्ध हुँदै

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012
ग्यालेक्सी नोट २ भारतमा विक्री सुरु, मूल्य ६४ हजार, नेपालमा ७० हजारको हाराहारीमा उपलब्ध हुँदै

काठमाडौं । एप्पलसँग कानूनी झमेला भोगेको सामसङले ग्यालेक्सी नोटको नयाँ भर्सन भारतमा विहिवार सार्वजनिक गरेको छ । अफबिट साइज भएको यो स्मार्टफोनको भारतमा ३९ हजार ९९० भारतीय रुपैयाँ (नेपाली ६४ हजार रुपैयाँ ) मूल्य राखिएको छ । नेपालमा पनि यो स्मार्टफोन ६५ हजारदेखि ७० हजार रुपैयाँको बीचमा विक्री हुने अनुमान गरिएको छ ।

भारतमा सुरुमा यो स्मार्टफोन सामसङ स्टोरबाट मात्र उपलब्ध हुनेछ । यो मोवाइल अक्टोबरबाट विक्री सुरु गरिने कम्पनीले जानकारी दिएको छ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङले ग्यालेक्सी नोट २ गत महिना बर्लिन ट्रेड फेयरमा सार्वजनिक गरेको थियो । यो विश्वका १२८ मुलुकबाट छिट्टै विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
ग्यालेक्सी नोट २ अघिल्लो साताबाट मात्रै उपभोक्ताको हातमा पर्न थालेको एप्पल आइफोन ५ सँग प्रतिश्पर्धा गर्नेछ । सामसङको यो स्मार्टफोनमा गुगलको एन्ड्रोइड सफ्टवेयर प्रयोग गरिएको छ भने १.६ गिगाहर्जको क्याड कोर प्रोसेसर प्रयोग गरिएको छ । ग्यालेक्सी नोटको दोस्रो भर्सन १५.१ सेन्टिमिटर लामो र आठ सेन्टिमिटर चौढाइको छ । ९.४ मिलिमिटर मोटाइ भएको यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रिन छ । यो स्मार्टफोनको स्क्रिनलाई दुई भागमा विभाजित गरेर एकैपटकमा दुईवटा प्रोग्राम चलाउन सकिन्छ ।

ग्यालेक्सी एस सिरिजभन्दा केही ठूलो यो स्मार्टफोनमा एस पेनमा उपलब्ध छ, जसले स्क्रिनमा नोट लेख्न र चित्र ड्र गर्न सकिन्छ । कम्पनीले ग्यालेक्सी नोटको पहिलो भर्सन सार्वजनिक गरेपछि एक करोड सेट विक्री गरेको थियो । कम्पनीले मेमा लञ्च गरिएको ग्यालेक्सी एस थ्रीका दुई करोड सेट विक्री गरेको छ । सामसङले अमेरिका र जर्मनीसहित दश देशमा एप्पलको प्याटेन्ट चोरी गरेको ओरोपमा मुद्धा झेलिरहेको छ । केही देशमा सामसङले पनि एप्पलविरुद्ध प्याटेन्ट चोरीको आरोपमा मुद्धा दायर गरेको छ । गत महिना कोरियाली कम्पनी सामसङलाई अमेरिकी अदालतले एप्पललाई एक अर्ब पाँच करोड डलरको जरिवाना तिर्न आदेश दिएको थियो । इकोनोमिक टाइम्सको सहयोगमा

Tata
GBIME
Nepal Life