उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे निवासबाटै पक्राउ, ३० वर्षअघिको भ्रष्टाचार मुद्दा

बिजमाण्डू
२०७१ चैत्र ३ गते ००:०० | Mar 17, 2015

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिटको अन्तरिम आदेश सर्वोच्च अदालतले आजै खारेज गरेपछि ब्युरोले उनलाई पक्रेको हो।

Tata
GBIME
Nepal Life

बालुवाटारस्थित आफ्नै निवासबाट प्रहरीले उनलाई पक्रेको हो। उनलाई अहिले ब्युरोको महाराजगञ्जस्थित कार्यालयमा राखिएको ब्युरो प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए। 

व्युरोले अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउने अभियानकै क्रममा पाण्डेलाई पनि पक्राउ गरिएको उनको भनाइ थियो।

अध्यक्ष पाण्डे खानेपानी संस्थानको सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । 
 
३० वर्षअघिको भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्ष कैद, साढे नौ लाख बिगो र जरिवाना तोकिएको थियो। राजासमक्ष श्रीमती उर्मिला पाण्डेले बिन्तिपत्र दिएपछि हुकुम प्रमाङ्गीबाट जरिवाना मिनाहा र ४२ सालमै राजाबाट सम्पूर्ण कैदसमेत मिनाहा भएको दावी उनले गर्दै आएका थिए।

तर सर्वोच्चको फैसलामा भनिएको छ- '०४९/५० सालमा काठमाडौँ जिल्ला अदालतमा लगतमा २०४२/८/५को मिति राखेर कैफियत प्रमाणित गर्न सर्वथा असम्भव देखिन्छ। २०४२/८/५ मा नै हुकुम प्रमाङ्गी भई माफी मिनाहा भई लगत कट्टा गरिएको भए ०४९/५० सालसम्मको लगतमा बाँकी जनाई सारिरहनु पर्ने अवस्था पनि पर्दैन।'

गत वर्ष भएको महासंघको निर्वाचनमा पाण्डे अध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि महासंघकै दुई कार्यकालमा उनी उपाध्यक्ष थिए। 

उनी लोमस फर्मास्युटिकल्स, कसमस सिमेन्ट उद्योग र सिटिजन्स बैँक इन्टरन्यासनलका अध्यक्षसमेत हुन्। 

महासंघको अध्यक्ष पद रिक्त
फौजदारी अभियोगमा प्रहरीले पाण्डेलाई हिरासतमा राखेपछि महासंघको विधान अनुसार अध्यक्ष पद रिक्त हुन पुगेको छ। विधानमा फौजदारी अभियोग लागेका व्यक्ति अध्यक्ष हुन नपाउने उल्लेख छ। 

विधानतः अब छ महिनाभित्र नयाँ निर्वाचन गरी महासंघले नयाँ अध्यक्ष चुन्नुपर्नेछ। 

सर्वोच्चले आज के गरेको थियो फैसला ? पढ्नुस् पूर्ण विवरण-