काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजग पाण्डे पक्राउ परेपछि पनि सस्थाभित्रको गुटवन्दीका कारण निकास निकाल्ने पहल भएको छैन । महासंघका अध्यक्ष ३० वर्ष पुरानो मुद्दामा पक्राउ परेका हुन् ।
अध्यक्ष पक्राउ परेपछि पनि पाण्डे पक्ष र भास्करराज राजकर्णिकार पक्ष महासंघको छवि सुधार्ने भन्दा कसरी आफ्नो समूह शक्तिशाली बनाउने भन्ने अभियानमा छन् । दुबै पक्ष एकले अर्कोलाई कमजोर पार्ने खेलमै छन् ।
आवरणमा पाण्डे र भास्कर देखिएपनि आन्तरिक लडाइँ पुर्वअध्यक्ष रविभक्त श्रेष्ठ र सुरज वैद्यको हो । निवर्तमान अध्यक्ष वैद्यले आफ्नो कार्यकालमा पुर्वअध्यक्षहरुलाई अपमानित गरेको भन्दै महासंघका अधिकांस पुर्वअध्यक्षहरु उनको विरोधमा थिए । यही ‘इगो’को कारण चेपुवामा पाण्डे परे ।
फैसला कार्यान्वयन नभएका हजारौं मुद्दा अहिले पनि छन् । तर अदालतले अन्तरिम आदेश खारेज गरेको साढे दुई घण्टामै पाण्डे पक्राउ परे । किन यति छिटो पाण्डे पक्राउ परे भन्ने विषयमा थप चर्चा गर्न सकिएला । यसमा पक्ष विपक्षको शक्ति प्रयोग भएको हुनसक्छ । तर अध्यक्ष नै पक्राउ परेपछि पनि महासंघ किन अनिर्णयको बन्दी भयो भन्ने विषय झन् जटिल बनेको छ ।
अध्यक्षलाई पक्राउ गरेपछि वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिने र नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया सुुरु गर्ने समयमा दुबै पक्ष कसरी आफू हावी हुने भन्ने अभियानमा छन् । ‘इगो’ कै कारण महासंघ अनिर्णयको बन्दी जस्तो देखाइएको छ, जसले महासंघको गरिमा कमजोर बनाउँदै छ ।
पाण्डे पक्राउ परेपछि महासंघले सामान्य रेन्स्पोन्स गर्ने काम समेत गरेन । विवादकैबीच बुधबार विहान पदाधिकारी बैठक बस्यो तर ठोस निकास निकाल्न सकेन । अध्यक्षको अनुमतिविना कुन आधारमा वैठक बस्यो भन्ने कुरा महासंघकै पदाधिकारीले उठाए ।
महासंघकै अध्यक्ष पक्राउ पर्नु पक्का पनि एक सामान्य घटना मात्रै होइन । तर, महासंघले अध्यक्ष पक्राउ परेपछि जस्तो सतर्कता अपनाउनु पर्ने थियो त्यो देखाउन सकेन । यसले महासंघको छबी कमजोर बनाउने पक्का छ । प्रक्रियागत रुपमा गर्नुपर्ने काम समेत महासंघले गर्न सकेन । घट्ना भएको दुई दिन वितिसक्दासम्म महासंघको स्थायी समितिको बैठक र कार्यकारिणी समितिको बैठक समेत बस्न सकेको छैन । विहीबार मध्यान्नसम्म पनि स्थायी समिति र कार्यकारिणी समितिको बैठक डाकिएको छैन ।
आगामी कदमका विषयमा कानुनी राय लिने जस्ता कुरामा महासंघ अल्झेको छ । वकिलको राय लिने कामका लागि दिनभर लाग्दैन, महासंघकै कानुनी सल्लाहकार समेत छन्, उनीहरुले महासंघको बैठकमै राय दिन सक्छन् । वकिलको राय लिने कुरा समस्या लम्ब्याउने वा आफ्नो अनुकुलको समय हेर्ने काम मात्र हो ।
बुधाबार बसेको पुर्वअध्यक्षहरुको बैठकमा राजधानीमै रहका पद्म ज्योति, महेशलाल प्रधान, सुरज वैद्य सहभागि भएनन् । अर्का पुर्वअध्यक्ष चण्डीराज ढकाल राजधानी बाहिर थिए । पाँच जना पुर्वअध्यक्ष सहभागि भएको बैठकले आगामी योजनाका बारेमा ठोस निर्णय निकाल्न सकेन ।
‘अहिलेको संकट व्यक्तिमाथि केन्द्रित छ, यही संकटका कारण महासंघलाई नै बन्दी बनाउनु हुँदैन, महासंघका एक सदस्यले बिजमाण्डूसँग भने, संकटको बेलामा को हावी हुने भन्ने सवाल होइन, सस्थालाई कसरी अगाडि लैजाने भन्ने हो ।’ तर उनले व्यक्तिगत घट्नालाई सस्थासँग जोड्न नहुने भनेपनि गुटगत स्वार्थबाट महासंघ टाढा जान सकेन ।
महासंघको विधानमा फौजदारी अभियोग प्रमाणित भए अध्यक्षको पद स्वतः खालि हुने प्रावधान छ । त्यस्तै अध्यक्षको पद खाली भएमा वरिष्ठ उपाध्यक्षले कार्यवाहक पाउने र ६ महिनाभित्रै अध्यक्षको निर्वाचन गर्नुपर्ने प्रावधान पनि छ । यही चैत २७ र २८ गते महासंघको ४९औं वार्षिक साधारण सभा बस्ने घोषणा पनि गरिएको छ । यो वार्षिक क्यालेन्डर हो । यही साधारण सभालाई केही पछि सार्ने र त्यहीँ अध्यक्षको निर्वाचन गर्न सक्ने धारणा महासंघका सदस्यहरुको छ ।
पुर्वअध्यक्ष आनन्दराज मुल्मी सल्लाहकार समितिको संयोजक छन् । अर्का पुर्वअध्यक्ष रविभक्त अनुशासन समितिका सभापति छन् । त्यस्तै पुर्वअध्यक्ष कुश कुमार जोशी विशिष्ट सदस्य छन् । महासंघ अनिर्णयको बन्दी हुँदा संयमता अपनाएर कार्यसमितिलाई सल्लाह दिनु पुर्वअध्यक्षहरुको दायित्व हो । अर्को अध्यक्ष चयन गर्दा आफ्नो पक्षको व्यक्तिलाई सहयोग गर्न पुर्वअध्यक्षहरुलाई कसैले रोक्न सक्दैन । तर महासंघको गरिमा खस्किएपछि पुर्वअध्यक्ष वा सदस्य कसैको पनि इज्ज्यत बढ्दैन ।